सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपतिद्वारा विजयादशमीको शुभकामना, तडकभडक नगरी मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैं तथा विजयादशमी २०७६ को अवसरमा देश–विदेशका सबै नेपालीलाई शुभकामना दिएकी छिन् । राष्ट्रपतिले एक वक्तव्य जारी गर्दै दसैंका अवसरमा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी हुन् । शुभकामना सन्देशमा दसैंमा सबै नेपालीलाई सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरिएको छ ।

‘चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच मौलिकता थप सुदृढ गर्नेका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेका छन्,’ वक्तव्यमा भनिएको छ । सन्देशमा यस पर्वको उत्साह र जोशजाँगरले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्पमा सहयोग पुग्ने कामना पनि गरिएको छ । यसैबीच, दशैंको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् ।

‘चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस्’, उनले भनेका छन् । दसैं लामो समयदेखि मनाउँदै आएको एकता र पुनः मिलनको चाड भएकाले आफन्त, छिमेकीका बीचमा भेटघाट तथा शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने चाड भएकाले यसलाई सोही अनुरुप मनाउन ओलीको आग्रह छ । उनले चाड मनाइरहँदा स्वास्थ्यलाई ध्यान दिनुपर्ने, मित्रतालाई ध्यान दिनुपर्ने, सामाजिक शान्तिलाई ध्यान दिनुपर्ने, छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिनुपर्ने बताएका छन् ।

‘यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ,’ उनले भने, ‘आज हामी राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा छौँ । यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकास पनि गर्नु छ । यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ । हामी ‘समृद्ध नेपाल, सुखी नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौँ । यस अभियानमा यो दसैंले हामी सबैमा प्रेरणा पनि दिन सकोस् ।’

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलवार ०८:२५