सूचनाको शक्ति - The Power Of Information

        

दशैंमा रित्तियो नेपालगन्ज, चहलपहल न्यून

नेपालगन्ज बसपार्कमा दशैं मनाउन घर जाँदै गरेका यात्रुहरु ।

नेपालगन्ज बसपार्कमा दशैं मनाउन घर जाँदै गरेका यात्रुहरु ।

बाँके । संधैं भरीभराउ र भीडभाड हुने नेपालगन्ज शहर अहिले सुनसान बनेको छ । शहरमा दशैं भित्रिए पनि केवल घरघरमै सीमित छ । घटस्थापना शुरु भएसँगै दशैंमा ह्वात्तै बढेको घर फर्कने नागरिकहरुको चाप फुलपातीपछि घटेको छ । नेपालगन्ज झण्डै झण्डै शून्यजस्तै बनाएर नेपालगन्जलाई कर्मथलो बनाएकाहरु मुल घर फर्किसकेका छन् ।

नेपालगन्ज शहरका अधिकांश घरका ढोकामा ताल्चा नै लगाएर दशैं मनाउन नागरिकहरु गाउँ छिरेका छन् । नेपालगन्जमा बसोबास गर्दै आएका नागरिकहरु दशैं मनाउन घर फर्केसँगै नेपालगन्ज शहर रित्तो (चाप घटेको) भएको छ । मध्य र सुदूरपश्चिमका जिल्लाहरुबाट बसाईसराईसँगै विभिन्न पेशा÷व्यवसाय गर्न नेपालगन्जमा बस्दै आएका नागरिकहरु पसल बन्द गरेर आ–आफ्नो घर फर्किएसँगै नेपालगन्ज शहर सुनसान बनेको छ ।

अधिकांश शहरका नागरिकहरु आफ्नो पुख्र्यौली थलोमा दशैं मनाउन फर्किसकेका छन् । शहरका एकथरी नागरिकहरु घरभित्रै खानपीनमा मस्त छन् । शहरमा अहिले सुरक्षाकर्मीहरुको मात्रै लर्को छ । बजार सुनसान बनेको छ । होटलहरु पनि सुनसान छन् । सवारी साधनको आवतजावत पातलिएको छ । सुरक्षाकर्मीहरुले चौकचौकमा सुरक्षा दिइरहेका छन् ।

साविकको मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकहरु घर फर्किइसकेका छन् । मुख्य बजार सुनसानजस्तै छ । अधिकांश पसल, होटल तथा अन्य व्यवसायहरु बन्द छन् । अध्ययन, पेशा र व्यवसाय गरेर नेपालगन्जमा बस्दै आएका अन्य जिल्लाका नागरिकहरू आफ्नो गाउँ फर्किएपछि शहरमा चहलपहल निकै न्यून छ । गाउँघरमा भने चहलपहल बढ्नुका साथै निकै रमझम भइरहेको छ ।

दशैँको नवौं दिनसम्म पनि घर बाहिर रहेका नागरिकहरु गाउँ फर्किइरहेका छन् । विद्यार्थी तथा सरकारी कार्यालयका कर्मचारीहरू पनि गाउँ फर्किसकेका छन् । केही दिनदेखि दशैं मनाउन घर जानेहरुको लर्को लागेसँगै शहर सुनसान बनेको छ । शहर, बजार रित्तिँदै गएको छ । मजदुरी, रोजगारी र अध्ययनका लागि यहाँ बसेकाहरु आ–आफ्नो गृह जिल्ला फर्किएका छन् ।

नागरिकहरु गाउँतिर गएपछि अधिंकास पसलहरु बन्द रहेको नेपालगन्जका व्यापारी मनोज सिंहले बताए । ‘दशैंमा शहरमा बस्नेहरु जन्मथलो फर्किन्छन् । व्यापार व्यवसाय ठप्पजस्तै हुन्छ, पसल खोलेर बस्नुको औचित्य नै हुँदैन,’ उनले भने । परिवारवाट छुट्टिएकाहरु मान्यजनको हातवाट टिका जमरा र आर्शीवाद लिन मुल घर फर्किने हुँदा शहर सुनसान बन्ने गरेको नेपालगन्ज–४ का स्थानीय श्याम गिरीले बताए ।

दशै गाँउघरबाट विभिन्न कारणले परिवार तथा साथीभाइसँग छुट्टिएकाहरुको लागि भेटघाट गर्ने सुन्दर अवसरसमेत बनेको गिरीको भनाई छ । ‘बर्षौ एकअर्कासँग छुट्टिएकाहरुलाई समेत यो दशैंले भेट गराउने गरेको छ,’ उनले भने, ‘जसले गर्दा बाहै्र महिना सुनसान र उराठलाग्दो ग्रामीण क्षेत्र धेरै चहलपहल हुन्छ, शहर सुनसान बन्छ । दशैं सकिएपछि शहरको कोलाहल फेरि उस्तै बन्न थाल्छ ।’

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार ०८:५३