काठमाडौं । सरकारले कर दाखिलाको दायित्व नभएका करदातालाई स्वतः करचुक्ता प्रदान गर्ने भएको छ । आयकर ऐनको व्यवस्थाअनुसार डेबिट विवरण भएका र कर दाखिलाको दायित्व नभएका करदातालाई स्वतः करचुक्ता प्रमाणपत्र उपलब्ध गराउन लागिएको हो । आन्तरिक राजस्व विभागका अनुसार विद्युतीयरुपमा नै यस्तो प्रमाणपत्र उपलब्ध हुनेछ ।
यस्तो प्रमाणपत्रमा कर अधिकृतको हस्ताक्षर, कार्यालयको चलानी नम्बर र कार्यालयको छाप भने हुँदैन । आन्तरिक राजस्व विभागले गत शुक्रबारबाट यो व्यवस्थाको थालनी गरेको विभागका महानिर्देशक विनोदबहादुर कुँवरले जानकारी दिए । यसअनुसार अबदेखि रु.२० लाखसम्मको कारोबार गर्ने प्रोपाइटरले अनलाइनबाटै करचुक्ताको प्रमाणपत्र लिन सक्नेछ ।
विभागका सूचना प्रविधि निर्देशक विनोद बिडारीका अनुसार करदाताले आफ्नो युजर नेम र पासवर्डमार्फत कर चुक्ता प्रमाणपत्र लिन आवेदन दिन सक्नेछ । विभागले करदाताको विवरणका आधारमा उसलाई करचुक्ता प्रमाणपत्र प्रिन्ट गर्न सुविधा दिएको हो । विभागले त्यस्तो प्रमाणपत्रमा स्वचालितरुपमा लिइएको करचुक्ता प्रमाणपत्र भन्ने वाक्यांशसहितको प्रमाणपत्र दिनेछ ।
सत्यपाटी - ।