बाँके । क्यास लेस पेमेन्ट त सुन्नु भएकै होला । जसलाई हामी अर्को शब्दमा डिजिटल पेमेन्ट पनि भन्छौं । सामान खरिद गर्दा जति रकम भुक्तानी गर्नुपर्ने हुन्छ त्यसलाई विभिन्न एप, डेविट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने चलन नेपालमा केही वर्षयता मात्रै बढी प्रचलनमा आएको पाइन्छ ।
यसले एकातिर खल्तीमा पैसा बोक्ने झन्झट पनि नहुने र जति पैसा भुक्तानी गर्नुपर्ने हो त्यति नै रकम खाताबाट कट्टी हुने हुँदा यो भुक्तानीको सबैभन्दा प्रभावकारी माध्यम बन्दै गएको छ । यद्यपि हामीकहाँ डिजिटल लिटरेसीको अभावका कारणले यसले अन्य विकसित देशमा जस्तो बढी प्रचलनमा आइसकेको भने छैन ।
छिमेकी मुलुक भारतमा जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वर्ष अगाडि ८ नोभेम्बर २०१६ मा नोटबन्दी गरे । जसमा तत्कालिन समयमा प्रचलित ५०० र एक हजार रुपैयाँका नोट नचल्ने र त्यसको साटो ५०० र २ हजारका नयाँ नोट बजारमा ल्याएका थिए । अकस्मात गरिएको यो निर्णयले भारतीय अर्थतन्त्रमा ठूलो हलचल मच्चायो ।
यसले आम जनजीवनमा ठूलो क्षती पुर्यायो । मानिसहरु बैंकमा पैसा जम्मा गर्न र एटीएमबाट पैसा निकाल्नका लागि घण्टौ लाइन बस्नुपर्ने अवस्था सिर्जना भयो । जसका कारण कैयनले ज्यान समेत गुमाए । हो, यही समयमा भारतमा डिजिटल भुक्तानी प्रणालीले विकास हुने मौका पायो ।
जसमा मोबाइल भुक्तानी एप ‘पेटीएम’ले यो अवसरलाई समात्यो र धेरैका लागि सहज कारोबार गर्ने सहयोगी माध्यम बन्यो । कतिसम्म भने बजारमा तरकारी किन्दा होस वा अटो, ट्याक्सीको भाडा तिर्नका लागि होस मानिसहरु पेटीएम गर्न थाले । स–सानो भूक्तानी गर्दा समेत पेटीएममार्फत् हुन थालेपछि खुद्रा पैसा खल्तीमै बोक्नुपर्ने झन्झट हट्यो ।
यसले डेमोनाटाइजेसनको समस्यालाई धेरै हदसम्म हल पनि गर्यो । यही प्रणाली सर्वसुलभ बनाउनका लागि नगदको धेरै कारोबार हुने दशैंमा दक्षिणा समेत डिजिटल प्रणालीबाट किन भुक्तानी नगर्ने भन्ने विषयले अहिले चर्चा पाएको छ । दशैंमा मान्यजनबाट टिका थाप्ने, आशीर्वाद लिने र दक्षिणा डिजिटल प्रणालीबाट लिने चलन नौलो भए पनि यसले बजारमा भुक्तानी प्रणालीमा राम्रो सुरुवात हुने धेरैको विश्वास छ ।
यसो गर्दा दक्षिणा बैंकिङ प्रणालीमार्फत् आफ्नै खातामा जम्मा हुनेछ । खल्तीमा पैसा राख्दा हराउने, चोरी हुने वा अनावश्यक खर्च हुने झन्झट पनि हुँदैन । यसले पैसा बैंकिङ प्रणालीमा रहने भएकाले तरलता अभाव पनि हुँदैन । टक्क मोबाइल निकाल्यो, जसलाई दक्षिणा दिने हो उसैको खातामा पैसा निमेषभर मै पठाइदियो । र, यो अत्यन्तै सुरक्षित माध्यम पनि भयो । यद्यपि नेपाली समाजमा दशैंमा नयाँ नोट खल्तीमा राख्ने परम्परागत बानी अझैं पनि छ ।
दशैंमा नयाँ कट्कटाउँदो नोट साट्ने र नयाँ नोटमात्रै कारोकार गर्नुपर्छ भन्ने मान्यता अझैँ पनि छ । दशैंका दिन थालभरी अक्षता र जमरासँगै नयाँ नोट राख्न पाउनुको रमाइलो पनि बेग्लै छ । यसो त दुर्गा पुजादेखि नै नयाँ नोटमा पुजा गर्ने पुरानो प्रचलन हो । दशैं र तिहारजस्ता पर्वमा समाजमा जुवा, तास बढी खेल्ने विकृति पनि छ । जहाँ नगद रुपमा करोडौं रुपैयाँ मानिसका खल्तीमै हुने अवस्था छ ।
यसले बैंकिङ प्रणालीबाट बाहिरिने ठूलो रकम पुनः बैंकिङ प्रणालीमा ल्याउन निकै गाह्रो हुन्छ । तर अधिकांश भुक्तानी बैंकिङ प्रणालीमार्फत् हुँदा यसले बैकिङ प्रणालीमा पैसा सञ्चिती पनि भइराख्छ । साथै, जुवा र तासमा समेत हुने फजुल खर्चलाई न्यूनिकरणमा सहयोगी हुन्छ । विकसित देशमा अत्यन्तै प्रचलनमा रहेको यो भुक्तानी प्रणालीलाई नेपालमा पनि सरकारले प्रोत्साहन गरेको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले कार्यभार सम्हाले लगत्तै सरकारको राजस्व प्रणालीमा डिजिटल भुक्तानी गर्ने व्यवस्थाको मिलाउने बताएका थिए । त्यतिमात्रै होइन, चालु आर्थिक वर्षको बजेट भाषणमा समेत अर्थमन्त्री डा. युवराज खतिवडाले कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत ‘क्यास ब्याक’ दिने योजना समेत सार्वजनिक गरेका थिए । यद्यपि यो प्रणालीबाट उपभोक्ताले कसरी ‘क्यास ब्याक’ पाउने भन्ने स्पष्ट कार्य्विधि आइसकेको छैन ।
यतिमात्रै कहाँ होर ? सरकारले डिजिटल नेपाल योजना समेत सार्वजनिक गरिसकेको छ । यस प्रकारको भुक्तानी प्रणालीले पैसाको कारोबार बैंकमार्फत् नै हुने भएकाले बजारमा पैसा हराउने समस्या समाधान हुने सरकारको विश्वास छ । हाम्रो मुलुकमा दशैं तथा तिहार जस्ता ठूला पर्वमा बढी नगद कारोबार हुने गर्छ । राष्ट्र बैंकले दशैं, तिहार जस्ता ठूला पर्वमा बजारमा क्यास फ्लो बढी हुने अनुमान गर्दै बजारमा नयाँ नोट समेत ल्याउँदै आएको छ ।
छिमेकी मुलुक भारतमा समेत पेटिएमलगायतका डिजिटल भुक्तानी सेवा लोकप्रिय बन्दै गएका छन् । नेपालमा पनि ईसेवा, प्रभु पे, खल्ती, आईएमई पे, सेल पेलगायतका भुक्तानी प्रणालीले तीव्र रुपमा बजार विस्तार गरिरहेका छन् । प्रत्येक दिन डिजिटल भुक्तानी प्रणालीका उपभोक्ताहरु पनि बढ्दै गएका छन् । त्यस्तै, बैंंकहरुले समेत मोबाइल बैंकिङमार्फत् डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाइदिएका छन् ।
अहिले मोबाइलमा रिचार्ज गर्न, रकम ट्रान्सफर गर्न, खानेपानी, विद्युत, इन्टरनेट तथा केवुलको शुल्क, बस तथा हवाई टिकट, स्कुल फि, होटल, चलचित्रको टिकट, बीमा समेत डिजिटल प्रणालीबाट गर्न सकिने अवस्था आइसकेको छ । यसले एकातिर समयको बचत गराएको छ भने अर्कोतर्फ सुरक्षित कारोबार गर्न सहयोगी भएको छ । अहिले दैनिक करोडौं रुपैयाँको कारोबार यिनै एप तथा बैंकको एपमार्फत् समेत हुँदै आएका छ ।
अहिले ईसेवामा मात्रै २० लाख उपभोक्ता जोडिएका छन् भने छोटो समयमा खल्तीले पनि आक्रमक बजार विस्तार गर्दै ५ लाखभन्दा बढी उपभोक्ता आफूसँग जोडिसकेको जनाएको छ । साथै अन्य सेवामा पनि लाखौं उपभोक्ताले सेवा लिइरहेका छन् । डिजिटल नेपालको सपनालाई यी र यस्तै भुक्तानी प्रणाली सहयोगी समेत हुने देखिएको छ ।
सत्यपाटी - ।