काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरा प्रकरणमा निर्धक्कसँग छानबिन गर्न गृहमन्त्री रामबहादुर थापा बादललाई आग्रह गरेका छन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा निर्धक्क भएर निष्पक्ष छानबिन गर्न प्रचण्डले गृहमन्त्री थापालाई आग्रह गरेका हुन् ।
अध्यक्ष प्रचण्डले आइतबार गृहमन्त्री थापालाई आफ्नो निवास खुमलटारमा बोलाएर छानबिनमा पार्टीको तर्फबाट कुनै पनि दवाव नहुने विश्वाससमेत दिलाएका छन् । प्रचण्डले सुरक्षा निकायले गरेको छानबिनलाई पार्टीले सघाउने पनि प्रतिवद्धता व्यक्त गरे । महरामाथि निष्पक्ष अनुसन्धान गरेर दोषी देखिएमा कानुनअनुसार कारबाही गर्न गृहमन्त्रीलाई अध्यक्ष प्रचण्डले आग्रह गरेको स्रोतले जनाएको छ ।
महरालाई गत आइतबार ती महिलाको कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । महराविरुद्ध पीडितले बलात्कार प्रयास गरेको उजुरी दर्ता गरिसकेकी छन् । महिलाको उजुरीपछि प्रहरीले महरालाई पक्राउ गरेको गरेको छ । प्रहरीले यस प्रकरणमा थप अनुसन्धान तथा छानबिन गरिरहेको छ । यौन दुर्व्यवहारको आरोप लागेसँगै महराले सभामुखबाट राजीनामा दिइसकेका छन् । महरा अध्यक्ष प्रचण्डका विश्वास मात्र मानिन्थेँ ।
तर, नैतिक पतन हुने कार्य गरेको भन्दै प्रचण्ड महरासँग असन्तुष्ट रहेको स्रोतले जनाएको छ । नेकपाको सचिवालय बैठकमा समेत अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगै संयुक्तरुपमा महरालाई कारवाहीको प्रस्ताव गरेका थिए । नेकपाको निर्देशन अनुसार महाराले सभामुख पदबाट राजीनामा दिए पनि सांसद पदबाट भने अहिलेसम्म राजीनामा दिएका छैनन् । नेकपाले उनलाई दुवै पदबाट राजीनामा दिन भनेको थियो ।
सत्यपाटी - ।