काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको दशैं प्रहरी हिरासतमै वित्ने भएको छ । महरा दशैंको अष्टमीको दिन साँझ सभामुखको निवासबाटै पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ ।
उनलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो । तर बाँकी कारबाही भने दशैं विदापछि नियमती अदालती प्रक्रिया सुरु भएपछि मात्र अगाडि बढ्नेछ । अदालत २८ गते मात्र खुल्नेछ । २६ गतेसम्म दशैंको विदा छ भने पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते विदा दिइएको छ ।
कहिले के भयो ?
महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप छ । पीडित महिलाले सुरुमा दिएको बयानअनुसार महरा त्यो दिन साँझ उनको कोठामा आएका थिए । आफूले श्रीमान छैनन् भन्दाभन्दै आएको र बलात्कार प्रयास गरेको उनको दाबी छ ।
आफूले प्रतिवाद गर्दा कुटपिट गरेको उनको दाबी छ । घटनालगतै उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर गुहार मागेकी पनि थिइन् । उनको फोनका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली उनको कोठामा पुगेको थियो । त्यसको भोलिपल्ट यो घटना बाहिर आयो । महरा र उनको सचिवालयले भने आरोप अस्वीकार गरेको थियो ।
त्यसवेला कुरा गर्दै महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गरेका थिए । तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो । १४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो ।
लगतै महराले सभामुख पदबाट राजीनामा दिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएनन् । उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको भिडियो सार्वजनिक भयो, जसमा बोली फेर्दै उनले महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् । उनी उजुरीका लागि प्रहरी कहाँ र स्वास्थ्य परीक्षणका लागि अस्पताल पनि गइनन् ।
बरु १५ असोजमा बानेश्वर प्रहरीमा गएर ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन दिएकी थिइन् । पीडित महिला र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने निर्णय भएको १६ साउनमा सार्वजनिक भयो । तर घटनाले त्यसबेला फेरि यूटर्न लियो, जब पीडित महिलाले शुक्रबार महराविरुद्ध किटानी जाहरी दिइन् ।
सत्यपाटी - ।