सूचनाको शक्ति - The Power Of Information

        

बझाङ्ग कारागारका कैदीबन्दीलाई ‘बोका’

सत्यराज सिंह । बझाङ । दशैं नजिकिएसँगै घरघरमा खुसियाली छ । तर कारागारमा कैदी जीवन बिताइरहेकाहरुलाई भने न दशै न तिहार ! कहिले आफ्नो समय पार लाग्ला र जेलबाट मुक्ति मिल्ला भनी कैदीहरु दिनदिनै मन्त्र जपिरहेका हुन्छन् भन्दा फरक पर्दैन । उनीहरुका लागि घर जान पाउने चाहाना र चाडवाड मनाउन पाउने पक्कै पनि रहरकै विषय बन्ने गरेको छ ।

घरघरमा दशैको रौनक छाए पनि बन्दी जीवन बिताइरहेका बझाङ कारागारका कैदीबन्दीलाई बोका उपहार दिइएको छ । जिल्ला कारागार बझाङमा रहेका कैदी बन्दीहलाई दशैं मनाउन बोका, चिउरा र जुस उपहार दिइएको छ । हिन्दुहरुको महान चाड बडादशैको अवसरमा खुसीयालीपूर्वक दशै मनाउन उपहारस्वरुप खसी प्रदान गरिएको उघोग वाणिज्य संघ बझाङका सचिव शंकर रसाइलीले बताए ।

संघले कारागार शाखामै कार्यक्रम आयोजना गरेर कैदीबन्दीहरुलाई सामुहिक दशैंतिहार मनाउन उपहारस्वरुप बोका प्रदान गरिएको हो । सामुहिक दशै मनाउने गरी खसी प्रदान गरिएको उघोग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेली बताए । कारागार शाखा बझाङमा ५६ जना कैदीबन्दी छन् । उनीहरुले आफूहरुले पारिवारिक माहोलमा नै दशै मनाउने अवसर जुराई दिएकोमा खुसी व्यक्त गरेका छन् ।

सुधार गृहमा रहेका बन्दीहरुको सिर्जनशीलता, क्षमतालाई स्थापित गरिराख्न पनि चाडपर्व बिशेष कार्यक्रम गररिराख्न राम्रो हुने अध्यक्ष सुर्मेलीले बताए । कार्यक्रममा उघोग बाणिज्य संघ बझाङको टिम, पत्रकार, प्रहरीको सहभागी थियो । कारागारमा बन्दी जीवन विताइरहेका कैदीबन्दीहरुलाई दुई वटा बोका प्रदान गरिएको संघका अध्यक्ष दानबहादुर सुर्मेली बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतवार १९:११