सूचनाको शक्ति - The Power Of Information

        

अदालतको अनुमतिपछि निवर्तमान सभामुख महरा प्रहरी ‘नियन्त्रणमा’

काठमाडौं । बलात्कार प्रयासको अभियोगमा किटानी जाहेरी परेपछि प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नियन्त्रणमा लिएको छ । काठमाडौँ जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएलगत्तै महरालाई नियन्त्रणमा लिएको प्रहरी श्रोतले बताएको छ ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले बलात्कार प्रयासको आरोपमा महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । उक्त किटानी जाहेरीको आधारमा अदालतको अनुमतिपछि महरालाई आइतबार अपरान्ह प्रहरीले नियन्त्रणमा लिएको हो । बलात्कार आरोपपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरा सरकारी निवासमै प्रहरी नियन्त्रणमा छन् ।

पक्राउ गर्न गएको प्रहरीको गाडीमा महरा बस्न नमानेपछि सभामुखको सरकारी निवासमा निजी गाडी प्रवेश गरेको स्रोतले बताएको छ । बा १६ च २९५८ नम्बरको कालो रंगको गाडी प्रहरीले नै महरा निवासमा लगेको हो । निवास बाहिर प्रहरीको तैनाथी बढाइएको छ । महरालाई पक्राउ गर्न आइतबार अपराहन्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो ।

त्यसलगत्तै प्रहरीले महरालाई उनकै निवासमा नियन्त्रणमा राखेको छ । बलात्कार आरोप लागेका महराले सभामुख पदबाट राजीनामा दिएका छन् । उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन् । तर उनी सम्बद्ध दल नेपाल कम्युनिष्ट पार्टीले भने अब उपरान्त महरालाई पार्टीले सांसदका रुपमा नचिन्ने बताइसकेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतवार १८:३६