सूचनाको शक्ति - The Power Of Information

        

महरालाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोग लागेपछि पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्रन प्रहरीलाई अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको अदालतका कर्मचारी ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

अदालतको आदेशसँगै महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानबिन गर्न प्रहरीलाई बाटो खुलेको छ । अदालतबाट पक्राउको अनुमति पाएको प्रहरीले सम्भवत आज साँझसम्म नै महरालाई पक्राउ गर्नेछ । नयाँ मुलुकी फौजदारी संहिता अनुसार कसैलाई पक्राउ गर्नुपूर्व अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्छ । बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् ।

रोशनीले दर्ता गराएको सोही उजुरीका आधारमा महरालाई पक्राउ गर्ने अनुमति लिन प्रहरी अदालतमा गएको थियो । उजुरीमा उनले आफूलाई महराले बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा दिएको उजुरीमा उल्लेख गरेकी थिइन् । शाहीको उजुरी पछि प्रहरीले आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारीमा रहेको बताएको थियो ।

असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए । त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन् । भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो । प्रहरी उच्च स्रोतका अनुसार सो घटना भएको राति प्रहरी उनको डेरामा पुगेपछि पनि उनले महराले आफूलाई बलात्कार गर्ने प्रयास गरेको र शारीरिक हिंसा गरेको बताएकी थिइन् ।

शाहीको मध्य रातको त्यो बयान पनि प्रहरीले रेकर्ड गरेर राखेको थियो । घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो । जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाइसकेको छ । त्रिवि शिक्षण अस्पतालमा शुक्रबार नै रोशनीको स्वास्थ्य परीक्षण गरिसकिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतवार १६:१७