सूचनाको शक्ति - The Power Of Information

        

१५ वर्षदेखि गरिब बस्तीमा जन्मदिन मनाउँछन् बरिष्ठ गायक सिताराम

बाँके । सिताराम पोखरेल नेपाल आयल निगमबाट अवकास प्राप्त कर्मचारी हुन् । उमेर पनि उस्तै ढल्किन लागेको छ । तर, उनको लवाईखवाई, बोलीचाली र हिँड्डुल र जोस जाँगर कुनै लक्का जवानभन्दा कमी छैन । जागीरे जीवनपछि आरामको जिन्दगी सितारामले जीउन चाहेनन् । नयाँनयाँ सपनाहरुले उनलाई आराम गर्नै दिएनन् ।

आयल निगममै हुँदा कर्मचारीमात्रै नभएर ‘गायक’को उपमाले परिचत सिताराम गायन क्षेत्रमा अरु कलाकारभन्दा पनि कम छैनन् । आफ्नो जीवन, समय र परिस्थितिलाई गीतका रुपमा प्रस्तुत गर्न सक्ने खुबी भएकै कारण पनि उनी कर्मचारीको रुपमा आयल निगमको दायरामा मात्रै सिमित रहेनन् । उनी गायककारको रुपमा सबैसामू परिचित पनि भए ।

आयल निगममा रहँदा धेरैले उनलाई कर्मचारी भनेर चिन्ने मोका पनि पाएनन् । किनकी, आयल निगमको कर्मचारी भन्दा गायककारको दायरा धेरै फराकिलो बनिदियो । जसका कारण कतिपयले गायककारका रुपमा मात्रै चिने, कर्मचारी हुन भन्ने चिन्न भ्याएनन् । र उनले पनि आफूलाई गायककारका रुपमै बढी प्रस्तुत गरे ।

सिताराम अहिले आयल निगमको जागिरबाट अवकास पाएर आरामको जिन्दगीलाई गायनमा क्रियाशिल बनाइरहेका छन् । हरेक बर्ष नयाँ नयाँ एल्वमहरु सार्वजनीक गर्नु र स्रोता र दर्शकहरुको मन जितेर आफूलाई गीतसंगीतको दुनियाँमा थप उचाइँमा पुर्याउनु उनको कर्म नै बनेको छ । शुक्रबार मात्रै उनले सातौँ गीति एल्बम ‘अल्कोहोलिक लभ’ सार्वजनीक गरेका छन् ।

अक्टुबर ४ मा आफ्नो जन्मदिन मनाउन विराटनगर महानगरपलिका–१६ दरैयाको ऋषिदेवस्थित दलित बस्तीका बालबालिकाहरूसँग जन्मदिन मनाउन पुगेका आधुनिक गायक सितारामले जन्मदिनको केक काट्दै आफ्नो सातौँ गीति एल्बम ‘अल्कोहोलिक लभ’ विमोचन गरेका छन् । गायक सितारामले कलाकारहरूले पनि वर्षमा एक दिन सकेको समाजसेवा गर्नुपर्छ भन्ने उद्देश्यले १५ वर्षदेखि निरन्तर गरिब र असाहयहरूमाझ जन्मदिन मनाउने गरेको बताए ।

उनले सबै कलाकारहरूले वर्षमा एकदिन समाजसेवामा योगदान दिनसके समाजको शैक्षिक स्तरबृद्धि गर्न गरिबी निवारण गर्न थोरै भएपनि सहयोग पुग्ने बताए । दरैयास्थित ऋषिदेव बस्तीमा रहेको बालकेन्द्र भवनमा ७५ वर्षीय बलदेव ऋषिदेवलाई प्रमुख अतिथि बनाएर छोटो कार्यक्रम आयोजना गरी गायक पोखरेलले त्यही ‘वर्थडे केक’ काटे, गीति एल्बम ‘अल्कोहोलिक लभ’ विमोचन गरे ।

उनले सबै बालबालिकाहरूलाई केक, चकलेट दिँदै कापीकलम र खेलकूदका पनि बाँडे, अन्त्यमा गीति एल्बम ‘अल्कोलिक लभ’ विमोचन गरे । आफ्नो जन्म दिन मनाउनकै लागी दलित बस्तीमा पुगेका गायक सितारामले बालविकास केन्द्रमा बिजुली बत्तिका लागि वायरिङ गरिदिने घोषणा पनि गरे । बिमोचित एल्बम ‘अल्कोहोलिक लभ’मा दुई वटा छायाङ्कनसहित ६ वटा गीत समावेश गरिएका छन् ।

नेपाल–भारत सीमा क्षेत्रमा रहेको उक्त्त ऋषिदेव बस्तीमा ४० घरपरिवार भूमीहिन बसोवास गर्छन् । उनीहरू मजदूरी गरेर आफ्नो जीविका चलाउँछन् । यस बस्तीमा कक्षा ४ भन्दा धेरै पढ्ने कोही बालबालिकाहरू छैनन् । यसैले यहाँ लायन्स क्लबले निर्माण गरिदिएको बालकेन्द्रमा स्थानीय अपांङगता भएका व्यक्ति राजु क्षेत्रीले निःशुल्क पढाउँदै आएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार १६:००