सूचनाको शक्ति - The Power Of Information

        

बङ्गुरपालनबाट गजबको आम्दानी

प्रकाश मिश्र । कैलाली । पढेलेखेको मान्छेले जागिर नै खानुपर्छ भन्ने मान्यतालाई त्यागेर बङ्गुरपालनमा लागेका कैलालीको घोडाघोडी नगरपालिका–१, पिपलडाँडाका ३३ वर्षिय युवा रमेश बस्नेतले बंगुरपालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

अर्थशास्त्रमा स्नातकोत्तर गरेका बस्नेत नेपाली भूमिमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने सोच लिएर अघि बढेको बताउँछन् । जागिर खाए आफूलाई मात्र हुने तर आफैले कुनै व्यवसाय गरे धेरैलाई हुन्छ भन्ने सोच भएका बस्नेत आफ्नो देशमा काम गर्न नमान्ने तर परदेशमा गएर जस्तोसुकै काम गर्न तयार हुने युवा पुस्ताका लागि प्रेरणाका पात्र बनेका छन् ।

घरमा एउटा भैँसी थियो घरका सबै सदस्य त्यही एउटै भैँसीको रेखदेखमा व्यस्त भएको देखेर बस्नेतलाई नयाँ केही गर्न मन लाग्यो त्यसैअनुसार २०६५ सालमा घरमा भएको भैँसी बेचेर आएको रु.१९ हजारबाट चार वटा डिउरो जातको बङ्गुर किनेर ब्यवसाय सुरु गरेका बस्नेतसँग अहिले माउ र पाठापाठी गरेर जम्मा ९० वटा बङ्गुर छन् ।

‘पहिलो पटकको बङ्गुरले १२ वटा पाठा दियो । त्यसपछि मैले खोर बनाएको हुँ,’ बस्नेतले भने । स्थानीयस्तरमै विभिन्न ठाउँबाट पाठापाठी पालनका लागि पनि लिन आउने गरेका कारण पाठापाठीको माग उच्च रहेको छ । एउटा पाठापाठी कम्तीमा रु.पाँच हजारसम्ममा बिक्री हुने गरेको र यसको अत्यधिक माग हुने हुनाले उत्पादित पाठापाठी कहाँ लैजाने भन्ने चिन्ता नभएको बस्नेतको भनाइ छ । पाठापाठीसँगै उमेर पुगेका माउ पनि बेचिने हुनाले दोहोरो फाइदा हुने उनले बताए ।

‘मैले घरका मान्छेको चाहना विपरित घरमा पालिएको भैँसी बेचेर काम सुरु गर्दा परिवारका सदस्य सबै रुष्ट थिए । तर, अहिले घरपरिवारका पाँच जनालाई राम्रो काम मिलेको छ, घरका सबै जना सन्तुष्ट छन्,’ बस्नेतले भने, ‘पेशा सुरु गर्दा मलाई अरूभन्दा पनि सुरुको लगानी रु.१९ हजारको थियो, त्यही पनि डुब्ला कि भन्ने पिर थियो । आफ्नो पेशामा इमान्दार भएर मेहनत गरियो भने सफलता पाइँदो रहेछ भन्ने मेरो अनुभव रह्यो ।’

बङ्गुरपालनबाट वार्षिक रु.१३ लाखभन्दा बढीको आम्दानी हुन्छ, त्योभन्दा बढी आत्म सन्तुष्टिसँगै आफुसँग केही सिक्न आउने युवाहरूबाट मिलेको बस्नेतले बताए । विदेश गएर मात्र राम्रो आम्दानी हुन्छ भन्ने छैन । स्वदेशमै बसेर कुनै पेशालाई निरन्तरता दिने हो भने विदेशभन्दा स्वदेशमै कमाई गर्न सकिन्छ र कुनै पनि काम सानो ठुलो हुन्न भन्ने कुरा सबैलाई बताउन पनि यो पेसाले धेरै मद्दत गरेको बस्नेतको भनाई छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार २१:४४