बाँके । एक दशक लगाएर निर्माण गरिएको नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र अहिले पनि समस्यै समस्याग्रस्त बनिरहेको छ । अठार महिनामा निर्माण पुरा गर्नुपर्ने सम्झौताका साथ काम शुरु गरिएको उक्त तीनतले भवन १० बर्षमा भर्खरै मात्र पुरा भएको छ ।
केन्द्रमा खानेपानी, विजुलीका साथै चिकित्सक र औषधीको व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन् । केन्द्रमा औषधी र चिकित्सकको अभावमा गाउँलेले अझै प्रभावकारी सेवा पाउन सकेका छैनन् । स्वास्थ्य केन्द्रको भवन भव्य बनाइएको छ । भवन हेर्दा कुनै ठुलो अस्पतालभन्दा कम छैन, तर त्यहाँ उपचार भने असम्भव जस्तै छ ।
केन्द्रमा चिकित्सक र आवश्यकताअनुसारको औषधी ढुवानीका लागि गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयसमेत उदासिन रहदै आएको छ । स्वास्थ्य केन्द्रका इञ्चार्ज मोहम्मद तैराव राईले नवनिर्माण गरिएको भवनमा बिजुली–पानीको सहज पहुँचसमेत नभएको बताए । उनी भन्छन्, ‘विजुली पानीको त राम्रै व्यवस्था छैन औषधी र चिकित्सक त कुरै छोड्नुहोस् ।’
उक्त केन्द्रमा दैनिक ४०/५० जना विरामी आउँछन तर, सामान्य रोगका समेत विरामीलाई रिफर गर्नेबाहेक अरू उपाय छैन । स्वास्थ्य संस्थामा आवश्यक आधारभूत प्रविधि र जनशक्ति नहुँदा यहाँका बिरामी नेपालगन्ज अथवा भारत जान बाध्य भएका छन् । यहाँ चिकित्सकसहित १३ स्वास्थ्यकर्मीको दरबन्दी छ । अहिले १० जना कार्यरत छन् । उक्त स्वास्थ्य केन्द्रमा डाक्टर आउँदैनन् ।
डाक्टरको अभावमा अनमी र नर्सले स्वविवेक प्रयोग गरेर उपचार गर्नुको विकल्प छैन । स्टाफ नर्स मीरा रावलले चार वर्षदेखि स्वास्थ्य चौकीमा काम गरिरहेको बताए । ‘विशेषज्ञ चिकित्सक नहुँदा बिरामीलाई निको हुने आश्वासन दिएर पठाउनुबाहेक अरु विकल्प छैन,’ रावलले भने, ‘भवन बन्दैमा उपचार पाइँदैन ।’ बिरामीले समयमै प्रभावकारी उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।
गाउँमै स्वास्थ्य संस्था भए पनि औषधी र चिकित्सको अभावले आफूहरु सानो रोगको उपचारका लागि पनि महँगो रकम खर्च गरेर भारत जाने गरेको नरैनापुर–३ की रजिया खाँ बताउँछन् । आर्थिक अवस्था मजोर रहेकी उनी त्यहाँ जाने आउने भाडा, खाने खर्च र उपचार खर्च गरी एक पटकमा ३० हजार रुपैयाँ खर्च हुने गरेको खाँको भनाई छ । उनकाअनुसार उक्त स्वास्थ्य संस्थाको अत्याधुनिक भवन बनेपनि चिकित्सक र औषधी नहँदा बिरामीलाई झनै समस्या छ ।
एमबीबीएस डाक्टरको दरबन्दी पुरानै भएको गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँ बताउँछन् । उनकाअनुसार डाक्टर स्थायीरुपमा यहाँ बस्दैनन् । औसी पूर्णिमा जस्तै आउने जानेमात्र हो । डाक्टरको दरबन्दी रहेको उक्त संस्था लामो समयदेखि अहेव, अनमीको भरमा चलिरहेको छ । गम्भीर अवस्थाका बिरामीले तुरुन्त उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्टाफ नर्स रावलले बताइन् ।
‘गाउँकै अस्पतालमा सेवा पाए अन्यत्र जानु पर्दैनथ्यो,’ स्थानीय अर्जुन यादवले भने, ‘भवन बने पनि चेकजाँच नहुँदा आकस्मिक बिरामीलाई झनै समस्या छ ।’ उनले नरैनापुर क्षेत्रका स्थानीयहरु बिरामी हुँदा उपचारका लागि भारत जाने गरेको बताए । ‘यहाँबाट उपचारका लागि भारत नै जानुपर्छ ।’ त्यहाँ जाने आउने भाडा, खाने खर्च र उपचार खर्च गरी एकपटकमा २० देखि ३० हजार रुपैयाँ खर्च हुने गरेको उनको भनाई छ ।
स्थानीय सैयद मुसताक अहमद शाहले १० कट्ठा जमिन स्वास्थ्य केन्द्रलाई दान गरेका थिए । त्यही जमिनमा अहिले प्राथमिक स्वास्थ्य केन्द्रको भवन बनेको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक खाँका अनुसार ०५० सालमा नरैनापुरमा स्वास्थ्य चौकी स्थापना भएको थियो । भवन निर्माणका लागि ०६६ मा टेन्डर भएको थियो । ‘लामो समय ठेकेदार देखा परेनन्,’ उनले भने, ‘न कसैले पहल गरे ।’ रु.३ करोड ४० लाखमा भवन बनेको हो ।
सत्यपाटी - ।