सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पताल : थन्किए उपकरण, मर्मतमा बेवास्ता, समस्यामा विरामी

बाँके । भेरी अस्पतालमा मृगौलाका विरामी दैनिक बढेका छन् । तर, अस्पतालमा आवश्यकता अनुसारका उपकरण छैनन्, भएका उपकरण बिग्रिएका छन् । चारवटा मेशिनमध्ये दुई वटा कामै नलाग्ने भएका छन् भने अस्पतालमा विरामी र कुरुवाका लागि आवश्यक शौचालयसमेत छैनन् ।

विरामीलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजान ह्वील चियर छैन । दक्ष जनशक्ति मेडिकल र स्टाप नर्सको अभाव छ । अस्पतालको डायलासिस यूनिट समस्यै–समस्याले ग्रसित छ । तर, पनि यसको व्यवस्थापन, मेशिनको मर्मत सुधार र नयाँ मेशिन थप्ने काममा अस्पताल प्रशासनले चासो देखाएको छैन ।

भेरीमा उपचारमा आउने विरामी निमुखा र गरिव नै आउने भएकोले मेशिनको अभावमा डायलासिसको लागि पालो कुरेका बिरामीहरु मृत्यु पर्खेर बस्नुपर्ने बाध्यता छ । गरिब निमुखा विरामीलाई डायलासिस मेशिन थपेर सेवा दिनुपर्ने मृगौला पीडित विरामीहरुको माग छ । भेरी अस्पताललाई मध्य र सुदूरपश्चिम नेपालकै रेफरल सेन्टरका रुपमा लिइने गरिन्छ ।

यसैले हेमोडायलासिस युनिटमा उपचारको लागि डायलासिस मेशिन, दक्ष जनशक्ति र युनिट सञ्चालनका लागि आवश्यक कोठा थप गर्न अस्पताल प्रशासनसँग माग गरेको डा. पारस श्रेष्ठ बताउँछन् । उनकाअनुसार अहिले पनि भेरीमा २३ जना विरामी पालो कुरेरै बसेका छन् । अहिले दैनिक दुई सिफ्ट चलेको डायलासिसमा चार जनाले मात्र डायलासिस गर्न पाएका छन् ।

अरू विरामी पालो कुररै बसेका छन् । डायलासिस विभागकाअनुसार अहिले हप्तामा १२ जनाले मात्र जसोतसो डायलासिस गरिरहेका छन् । मृगौला रोगीले भेरी अस्पतालमा डायलासिस पालो नपाएर नीजि अस्पतालमा महँगो रकम तिरेर डायलासिस गर्न बाध्य छन् । सरकारी अस्पतालमा उपकरण थन्किएर बसेका छन् । दरबन्दीअनुसार विशेषज्ञ डाक्टरको अभाव छ ।

अहिले हेमोडायलासिस युनिट प्रमुख डा.श्रेष्ठले उपचारका लागि आउने विरामीको उपचार गरिरहेका छन् । उनकाअनुसार विरामीको चाप बढेको छ, मेशिनको अभाव छ । भएका चारवटा मध्ये दुईवटा मेशिन कामै नलाग्ने गरी बिग्रिएका छन् । अहिले दुईवटा चलिरहेका छन् । उनले भने, ‘चलिरहेका दुईमध्ये पनि एउटा मेशिनले डायलासिस गर्दा पटकपटक धोका दिइरहेको छ ।’

‘बिरामीका आफन्त हरेक दिनहुँजसो आउनुहुन्छ पालो आएको छैन भनेर पठाउन बाध्य भएका छौ.,’ डाक्टर श्रेष्ठ बताउँछन् । बिरामीको चापअनुसारको डायलासिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.रुपानन्द अधिकारीले डायलासिस गर्ने मेशिन मर्मत तथा खरीदका लागि पहल भइरहेको बताए ।

समयमै डायलासिस उपचार नपाएका कारण बाँकेमा पनि केही मृगौला पीडितको मृत्यु भइसकेको छ । बिग्रिएको डायलोसिस मेसिन मर्मतको प्रयास भइरहेको मेसु डा.अधिकारी बताउँछन् । मृर्गाैलाका बिरामीलाई अस्पतालले सहजरुपमा डायलासिस सेवा उपलब्ध गराउँदै आएको मेसु अधिकारीको दाबी छ ।

मेशिनको अभावमा विरामीले पालोसमेत पाउन नसकेपछि मृर्गौला रोगीका लागि भेरी अस्पतालमा दुई सिफ्ट मात्रै नभई २४ सै घण्टा डायलासिस सेवा शुरू गर्नुपर्ने मृगौला पीडितहरुको माग छ । दिउँसो र विहानमात्र दिइँदै आएको डायलासिस सेवा साँझ र रातीमा पनि दिनुपर्ने र यसका लागि अस्पतालले आवश्यकता अनुसार जशक्ति र मेशिनको व्यवस्थापन गर्नुपर्नेमा मृगौला पीडितहरूले आवाज उठाएका छन् ।

अहिले दैनिक चार जनाको डायलासिस हुँदै आएकोमा सेवा अवधि थप भएपछि डालासिस सेवा पाउने विरामीको संख्या पनि बढ्ने र डायलासिस गर्न जिल्ला बाहिर र नीजि अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य हुने छ । डायलासिस सेवा सञ्चालनमा रहे पनि पर्याप्त स्रोत र उपकरण नहुँदा आकस्मिक भर्ना भएका र नयाँ बिरामीले लामो समय कुर्दा पनि पालो नपाएर अन्यत्र जानुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार १३:३५