बाँके । नेपालगन्जका उपमहानगरपालिकाले बाँकेका बिभिन्न ‘रुट’मा सञ्चालनमा ल्याएको छ । स्थानीय तह आफैले बस सञ्चालन गर्न लागेको सम्भवत नयाँ हो । त्यसमा पनि अझ सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ । काठमाडौंका चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन् ।
मोफसलमा नेपालगन्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला राखेको पहिलो भएको दावी गरेको छ । मेयर डा.धवलशमसेर राणा भन्छन्, ‘हाम्रा दिदीबहिनीलाई अवसर दिने हो भने जिम्मेवारी पुरा गर्न सक्छन् । महिलाहरुले दिएको जिम्मेवारी पुरा गर्न सक्नुहुन्छ भन्ने देखाउनकै लागि यो काम शुरु गरेका हौं ।’
महिला सशक्तिकरणका उक्त काम उदाहरणीय हुने मेयर डा.राणाको बुझाई छ । उपमहानगरपालिकाले सातवटा नगर बस खरिद गरेर सञ्चालनमा ल्याएको छ । यी बसमा परिचालक मात्र होइन चालक नै महिला राख्ने योजना उपमहानगरको छ । त्यसका लागि २५ जना महिलालाई निःशुल्क तालिमसमेत दिइसकेको छ ।
तर अझै तयार बनाउन समय लाग्ने भएकाले तत्काललाई ‘कन्डक्टर’ मात्र राखिएको हो । मेयर राणाले भने, ‘अहिले ‘कन्डक्टर’ गरेर पछि चालक बनाउने हो । उहाँहरु दक्ष भएपछि बिस्तारै चालक, परिचालक नै महिला राख्ने हो ।’ नेपालगन्ज–कोहलपुर सडक खण्डमा बुधबारदेखि परीक्षणका लागि बसहरु सञ्चालनमा ल्याएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।
मुख्यमन्त्री शंकर पोख्रेलले असोज १८ गते सेवा शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी दिँदै सूचना अधिकारी पौडेलले गत असारमै बसहरु खरिद गरेर ल्याइए पनि रुट परमिट लगायतको तयारीका कारण सञ्चालनमा केही ढिलाई भएको बताए । सात वटा बस खरीदका लागि उपमहानगरपालिकाले रु.तीन करोड ४५ लाख खर्च गरेको छ ।
सत्यपाटी - ।