बाँके । भारतबाट फर्किँदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई इलाका प्रहरी कार्यालय जमुनाहाले सीमा नाका जमुनाहाबाट एकाविहानै नियन्त्रणमा लिएको छ । नेपालगन्जका होटल व्यवयासीका विचौलियाले भारतबाट फर्किँदै गरेका नेपालीहरुलाई तानातान गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
आफ्नो होटलमा ग्राहक ल्याउन भन्दै यहाँका होटल व्यवसायीले कमिसनमा एजेन्ट राखेर सीमा नाकामा भारतबाट फर्किँने नेपालीलाई दुख दिँदै आएका छन् । बसको टिकट मिलाइदिने र होटलमा लाग्ने खर्चमा छुट दिने भन्दै विचौलियाहरुले जमुनाहामा भारतबाट फर्किएका नेपालीहरुलाई दुख दिन थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायव निरीक्षक माधव रिजालले भने, ‘यसअघि धेरै पटक सम्झाईबुझाई गर्दा अटेरी गरेपछि नियन्त्रणमै लिनुपरेको छ । होटल व्यवसायीले एजेन्ट राखेर दशैं मनाउन भारतबाट फर्किएका नेपालीहरुलाई दुख दिन थालेपछि आज विहानै ६ बजे १० जनालाई नियन्त्रणमा लिएका छौं ।’
उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन । उनका अनुसार चाडपर्वका बेला नेपालगन्जका होटल व्यवसायीहरुले एजेन्ट राखेरै सीमामा नेपालीहरुलाई दुख दिने गरेका छन् । होटलहरुले कमिसनमा त्यस्ता एजेन्ट राखेर चाडपर्वका बेला नेपालीहरुलाई दुख दिने गरेका छन् । यस्ता अपराध र ठगी नियन्त्रण गर्न सबैतिर प्रहरी परिचालन गरिएको छ ।
एकाविहानै होटलबाट खटाइएका विचौलियाहरु जमुनाहामा पुग्ने र भारतबाट आएका नेपालीहरुलाई तानातान गर्न थालेपछि हैरानी व्यहोर्नुपरेको छ । आफ्नो होटलसम्म पुर्याउनका लागि विचौलियाहरुले भारतबाट फर्किँदै गरेका नेपालीहरुलाई तानातान गर्दै आजित बनाउने गरेका छन् । भारतबाट फर्किएका एक नेपालीले भने, ‘कुन होटलमा गएर बस्ने भन्ने हामीलाई थाहा हुँदाहुँदै होटलवालाहरुले तानेर सताउँछन् ।’
प्रहरी नायव निरीक्षक रिजालले भने, ‘भारतबाट मजदुरी गर्ने नेपालीहरु फर्किरहनुभएको छ । होटलबाट खटिएका व्यक्तिहरुले जमुनाहामै पुगेर अभद्र व्यवहार गरिरहनुभएको छ ।’ भारतबाट फर्किँदै गरेका नेपालीलाई आफ्ना होटलसम्म पुर्याउन विचौलियाहरुबीच बाझाबाझ नै हुने गरेको छ । ‘हामीले पटक पटक सम्झाउँदा पनि अटेरी गरेपछि नियन्त्रणमै लिएर काबाही गर्नुपरेको छ,’ प्रहरी नायव निरीक्षक रिजालले भने ।
चाडपर्वकै बेला भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नेपालीहरुलाई लुटिने र ठगिने समस्याबाट पीडित भइरहेकै बेला नेपाली भूमीमै यहाँका होटलवालाले थप दुख दिने गरेको भारतबाट फर्किँदै गरेका गुर्भाकोट नगरपालिका–३ सुर्खेतका धनबहादुर पुनले बताए । उनले भने, ‘नेपाल–भारत सीमानाका जमुनाहामा भने भारतबाट मजदुरी गरेर फर्किँदै गरेका नेपालीहरु यहाँका होटल व्यवसायीहरुबाट पीडित छन् ।’
यतिबेला दैनिक करिब ५०० नेपालीहरु भारतबाट दशैं मनाउन नेपाल फर्किरहेका छन् । भारतबाट आउने नेपालीहरु विहान र साँझको समयमा हुल बाँधेर आउने गरेका छन् । यही मौका छोपेर होटलका विचौलियाहरु एकाविहानै सीमा नाका जमुनाहामा पुगेर ग्राहक तानातान गर्ने गर्छन् । यस विषयमा होटल व्यवसायी संघ बाँकेले भने मौनता देखाउँदै यसलाई रोक्न कुनै सक्रियता देखाएको छैन ।
यहाँका होलटबाट ग्राहक तान्नकै लागि जमुनाहा पुग्ने विचौलियालाई प्रहरीले यसअघि लखेट्दै आएको थियो । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेलले नेपालगन्जका होटल व्यवसायीहरुलाई त्यसो नगर्न आग्रह गरिएको बताए । उनले यस विषयमा संघ गम्भीर रहेको बताउँदै भने, ‘यात्रुलाई अभद्र व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउनुपर्छ । व्यवसायी नसुध्रिए त्यसको जिम्मेवारी संघले लिँदैन ।’
जमुनाहाबाट नियन्त्रणमा लिइएका १० जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । नियन्त्रणमा लिएकाहरुलाई सचेत गराएर साँझ मात्रै छाडिने बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीले बताए । ‘नियन्त्रणमा लिएकाहरुलाई सम्झाईबुझाई गर्ने र आगामी दिनमा भन्सार र सीमा क्षेत्रमा यस्ता गतिविधि नगर्ने प्रतिवद्धता गर्न लगाएर साँझ मात्रै छाड्छौं,’ उनले भने ।
चाडपर्वका समयमा आवागमन बढेसँगै सिमानामा लुटपाट र ठगीका घटना वृद्धि हुँदै आएका छन् । ‘यसलाई रोक्न हामीले सुरक्षा व्यवस्थालाई चुस्त बनाएका छौं । चाडपर्वका बेला कोही पीडित हुन नपरोस् भन्नेमा हामी सचेत र संवेदनशील छौं,’ प्रहरी उपरीक्षक वलीले भने । भारतमा काम गरेर चाडपर्व मनाउन घर फर्किने नेपालीलाई नाकामा समस्या नहोस् भनेर भारतीय प्रहरीसँग समन्वय गरेर सादा पोशाकका प्रहरी परिचालन गरिएको छ ।
नाका, बजार, बसपार्कदेखि राजमार्गसम्म सुरक्षा निगरानी बढाएको बताउँदै प्रहरी उपरीक्षक ओलीले चाडबाडमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभिन्न सुरक्षा पोष्टका प्रमुखहरुलाई बिदा नदिएको पनि बताए । चाडबाडमा विशेष गरेर बैंक तथा बित्तीय संस्था आसपास, भारतबाट मजदुरी गरेर फर्किने नेपाली लुटिने गर्दछन् । शहर या जिल्ला बाहिर टीका लगाउन जाँदा घर खाली हुने भएकाले त्यस्ता घरमा चोरी हुने खतरा बढ्छ ।
सत्यपाटी - ।