सूचनाको शक्ति - The Power Of Information

        

चाडपर्वमा ‘सरप्राइज’ चेकिङ, उच्च सुरक्षा सतर्कता

बाँके । दशैं नजिकिएको छ, नेपालीहरु गाउँबस्ती, शहर बजार सबैतिर चाडपर्वको रौनक सुरु भइसकेको छ । कोही शहरबाट गाउँ फर्किरहेका छन् त कोही गाउँबाट शहरतिर झर्दैछन् । आफन्तहरु एकापसमा भेला हुन सुरु भइसकेको छ । परदेश गएकाहरु घर फर्किँदैछन् । कोही किनमेलमा ब्यस्त छन् । दशैंमा बली चढाउन र मासुका लागि खसीबोकाको जोहो हुँदैछ । चाडपर्वको सुरुवातसँगै बाँकेमा सुरक्षा चुनौति पनि उत्तिकै थपिने गर्छ ।

खासगरी चाडपर्वकै बेला भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नेपालीहरु लुटिने र ठगिने सूचनाहरु बाहिरिने गर्दछन् । तर, नेपाल–भारत सीमानाका जमुनाहामा भने भारतबाट मजदुरी गरेर फर्किँदै गरेका नेपालीहरु नेपालगन्जका होटल व्यवसायीहरुबाट पीडित छन् । यतिबेला दैनिक करिब ५०० नेपालीहरु भारतबाट नेपाल फर्किने गरेका छन् । भारतबाट आउने नेपालीहरु विहान र साँझको समयमा हुल बाँधेर आउने गरेका छन् ।

दशैं सुरु भइसक्यो । तिहार, छठजस्ता ठूला पर्व नजिकिँदै छन् । जति चाडबाड नजिकिन्छन्, सीमा नाकामा यात्रुको आवागमन र भीडभाड बढ्ने गर्छ । आवागमन बढेसँगै सिमानामा लुटपाट र ठगीका घटना वृद्धि हुन्छन् । बाँके प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ पर्वमा कोही पीडित हुन नपरोस् भन्ने उद्देश्यले सबैतिर प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्थालाई चुस्त बनाएको दावी गरेको छ ।

प्रहरीले अत्याधिक भीडभाड हुने बैंक तथा वित्तीय संस्था, व्यवसायीक मल, मनोरञ्जन स्थल, बसपार्क आदिमा चोरीलगायत अपराधिक घटना हुनसक्ने भएकाले त्यस्ता ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरेको जनाएको छ । प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनामा मदिरा खाएर होहल्ला, जुवातास, अतिशबाजी, गुण्डागर्दी नियन्त्रण गर्नेदेखि राजमार्ग सुरक्षासम्म रहेको छ । प्रहरी उपरीक्षक बीरबहादुर ओलीले ६५ किलोमिटरमा फैलिएको नाकादेखि बजार, राजमार्गमा अपराधिक घटना हुन नदिन सतर्कता अपनाइएको बताए ।

भारतमा काम गरेर चाडबाड मान्न घर फर्किने नेपालीलाई नाकामा दुख, सास्तीदेखि लुटपाट नहोस् भनेर भारतीय प्रहरीसँग समन्वय गरेर सादा पोशाकका प्रहरी परिचालन गरिएको छ । प्रहरी उपरीक्षक ओलीले नाका, बजार, बसपार्कदेखि राजमार्गसम्म सुरक्षा निगरानी बढाएको बताए । चाडबाडमा विशेष गरेर बैंक तथा बित्तीय संस्था आसपास, भारतबाट मजदुरी गरेर फर्किने नेपाली लुटिने गर्दछन् । शहर या जिल्ला बाहिर टीका लगाउन जादा घर खाली हुने भएकाले त्यस्ता घरमा चोरी हुने खतरा बढ्छ ।

प्रत्येक वर्ष दशैं र तिहार आसपासमा साना ठूला दुई दर्जनबढी चोरीका घटना हुँदै आएका छन् । प्रहरीले यसपटक त्यस्तो हुन नदिन विशेष सतर्कता अपनाएको जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि नियमितदेखि ‘सरप्राइज’ चेकिङको व्यवस्था गरेको प्रहरी उपरीक्षक ओलीले बताए । चाडबाडका बेलामा बजारमा कालाबजारीदेखि कमसल खाद्य पदार्थ बिक्री हुन सक्नेतर्फ पनि प्रहरीले ध्यान दिएको छ ।

प्रहरी उपरीक्षक ओलीले चाडबाडमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभिन्न सुरक्षा पोष्टका प्रमुखहरुलाई बिदा नछोडेको बताए । ‘सरकारी अड्डाहरुमा आलोपालो भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ, गस्तीको प्रबन्ध गरिएको छ,’ प्रहरी उपरीक्षक ओलीले भने, ‘दशैंमा अपराध नहोस् भनेर हामी लागिपरेका छौं ।’ उनका अनुसार घटना घटेको सूचना पाएको ५ मिनेटमा प्रहरी टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

चाडपर्व मनाउन भारतलगायतका मुलुकबाट परिवारसहित घर फर्किने, विदेशमा अध्ययन, भ्रमण तथा उपचार गरेर फर्किन नेपाली, चाडपर्वका लागि सरसामान खरिद गर्न भारतीय बजार पुग्ने नेपाली उपभोक्ताको भीडले बाटो छिचोल्न मुस्किल हुनेगर्छ । चाडपर्वका बेला पश्चिम नेपालका धेरै यात्रुको भीड यही नाकामा लाग्ने गर्छ । इलाका प्रहरी कार्यालयका अनुसार सामान्य अवस्थामा पनि दैनिक २ हजार ५०० बढी यात्रुको आवागमन हुनेगर्छ ।

दशैंतिहारका बेला यो संख्यामा धेरै वृद्धि हुने गरेको छ । चाडपर्वको समयमा ४ हजार बढी यात्रुहरुको आवागमन हुने गरेको प्रहरी नायव निरीक्षक रिजालले बताए । सीमा नाकामा कुनै पनि यात्रु नठगिने वातावरण बनाउन प्रहरीले हरसम्भव प्रयास गरिरहेको प्रहरी नायव निरीक्षक रिजालको भनाई छ । चाडपर्वमा मालवाहक ढुवानीका गाडी र अन्य सवारी साधनको आवागमनको चाप पनि उत्तिकै हुन्छ । यही मौकाको फाइदा उठाउँदै सिमामा पाकेटमार, लागूपदार्थ प्रयोगकर्ता, होटल तथा गाडीवाला यात्रुलाई ठग्छन् ।

नशालु पदार्थको प्रयोग गरी यात्रुलाई लठ्याएर लुट्ने, रिक्सा र गाडीवालाले अत्यधिक बढी भाडा लिने, यात्रु मिलाएबापत कमिसन खाने, यात्रु तानातान गर्ने र बसको टिकट मिलाइदिने भन्दै पैसा असुलेर अलपत्र पार्ने, एउटा सिटको बसको टिकट धेरै जनालाई दिने, यात्रुको चापअनुसारका गाडी उपलब्ध नहुनेजस्ता समस्या यात्रुले भोग्ने गरेका छन् । ‘यस्ता अपराध र ठगी नियन्त्रण गर्न सबैतिर प्रहरी परिचालन गरिएको छ,’ प्रहरी उपरीक्षक ओलीले भने ।

कोही लुटिएर बेखर्ची भएमा गन्तव्यसम्म पुग्ने व्यवस्था, नशालु पदार्थको सेवन गराएर लुटिएका पीडित फेला परेमा उनीहरूको उपचार, उनीहरूलाई घरसम्म पुर्‍याउने व्यवस्था, हराएका बालबालिका तथा अलपत्रमा परेका यात्रुलाई संरक्षण तथा उद्धार, यात्रुको चाप अनुसारका सवारी साधनको अभाव भएमा तत्काल थप गर्ने, ठग तथा दलालको खोजी र कारबाही गर्नकै लागि प्रहरीले जिल्लाका विभिन्न ११ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको प्रहरी उपरीक्षक ओलीको भनाई छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलवार १९:२०