सूचनाको शक्ति - The Power Of Information

        

स्तुतिगानले गुञ्जायमान ‘त्रिभुवनचोक’

बाँके । नेपालगन्जको त्रिभुवनचोक यतिबेला भगवानको स्तुतिगानले गुञ्जेको छ । चोकको बढीमा २०० मिटरको वरिपरिमा आधा दर्जन दुर्गाका मूर्ति राखिएको छ । भजन बजेका छन् । दुर्गा मूर्तिका अलावा चोकका आसपास सडकमा रहेका मन्दिरमा भजनकिर्तनको छुट्टै मौहोल छ । विशेष गरेर चाडबाड र चुनावहरुमा त्रिभुवनचोकमा रमझम हुने गर्दछ । यही त्रिभुवनचोक हो, जहाँ वर्षौदेखि विशेष चाडमा सडकमा पसल लाग्छ ।

त्रिभुवनचोकको चाट,पानीपुरी र रावडीको कथा त बाह्रैमास चल्ने गर्दछ । त्रिभुवनचोकलाई नेपालगन्जको मुटु मानिन्छ । नेपालगन्जको विकास हुँदा शुरुमा त्रिभुवनचोक आसपासमै बस्ती बसेको थियो । पसलहरु यही थियो । २००७ सालका क्रान्तिका कमाण्डर एवं रिटायर्ड एसपी श्यामकुमार तामाङले विगत सम्झिए, ‘भारतबाट पसलेलाई बोलाएर ल्याई त्रिभुवनचोकमा पसल थाप्न लगाउने गरिन्थ्यो ।’ नेपालगन्जका पहिलो डिएसपी तामाङले वि.सं. २०१५ सालमा डिएसपी भएर आउदासमेत त्यो चलन रहेको सुनाए ।

‘भारतीय पसलेहरु बर्खामा घर गएपछि छिटो फर्केर आउदैनथे, उनीहरुलाई हामीले सिपाही पठाएर बोलाएर ल्याउथ्यौ,’ नेपालगन्ज निवासी रिटायर्ड एसपी तामाङले त्रिभुवनचोकबारे भने, ‘यो पुरानो बजार हो । यसको रौनक विगतदेखि नै रहेको छ ।’ त्रिभुवनचोक नजिकै पहिला श्री ३ जुद्धशमशेरको शालिक थियो । पछि चोकमा राजा त्रिभुवनको शालिक राखियो । जनआन्दोलनले त्रिभुवनको शालिकलाई तोडफोड गर्यो । त्यसपछि चोकमा नेपाली झण्डा ठडिएको छ ।

‘ठुटे’ शालिकलाई ढाकेर राखिएको छ । मधेस आन्दोलनका बेला यो चोकको नाम कमलचोक राख्ने प्रयत्न गरियो । तर, जनजिब्रोमा झुण्डिएको त्रिभुवनचोक दिमागबाट हट्न सकेन । यहाँ पुग्ने जोकोहीले भन्ने नै त्रिभुवनचोक हो । यसो भनिरहँदा मधेस आन्दोलनका क्रममा यो चोकको अवस्था नाजुक भएको भन्न करै लाग्छ । मधेस केन्द्रित दलले आन्दोलन गर्दा सबैभन्दा बढी प्रभाव यही पथ्र्यो । बजारमा ठूलो असर पर्यो । त्यहीबेलादेखि नेपालगन्जको ‘व्यापार’ कारकादोसम्म फैलिएको भन्ने गरिन्छ ।

यद्यपि, त्रिभुवनचोकको रौनक त कहाँ घटेको छ र ! सदरलाइन फराकिलो भएपछि बजार व्यवस्थित भएको छ । एक्लैनीको विकल्प अर्को हुन सकेको छैन । जहाँ पसला, चामल, दाल, तेलदेखि श्रृंगारका सामान पाइन्छ । ओ हो, चुनाव आयो भने त त्रिभुवनचोक रातभरी नै जागा रहने गर्दछ । पत्रकारको होस् कि संसदीय चुनाव । रौनक बढ्ने भनेको त्रिभुवनचोककै हो । त्रिभुवनचोकमा जाने फेरि मतदाता कम उम्मेदवार नै बढी हुने गर्दछन् । आधा रातसम्म ‘गफ’ चुटेरा आफ्नो बखान गर्न कुन चाहि उम्मेदवारले बाँकी राख्लान् र ?

त्रिभुवनचोकमा आएर आफ्नो बखान गरेपछि उम्मेदवारले चुनावी जितिहालिन्छ कि जस्तो गर्छन् । त्यो माहोलको त कुरा गरी भनि साध्य नै हुँदैन । यतिबेला त्रिभुवनचोक आउनेले भगवानको स्तुतिको मज्जा लिन पाउँछन् । चोकको चारैतिर भजन बजेका छन् । झिलिमिलि रहेको छ । टाढा टाढासम्म झालर टाँगिएको छ । सुरक्षा सवालमा सबैभन्दा बढी ‘संवेदनशील’ मान्ने गरिएको त्रिभुवनचोक चाडबाडमा मज्जाले खुल्ने गर्दछ ।

अहिले यहाँ वल्लो लाइन र पल्लो लाइनमा बस्ने मानिसको भगवान पुकार्न प्रतिस्पर्धा नै जस्तो देखिन्छ । त्रिभुवनचोकका रैथाने अनिल श्रेष्ठ भन्छन्, ‘चाडबाडमा त त्रिभुवनचोक गुन्जिन्छ । यो एक आपसको सद्भाव पनि हो ।’ बडा मंगलबार भन्दै गणेशको मूर्ति राखेर गरिने पूजादेखि भण्डारा लगाउनेमा त्रिभुवनचोक अगाडि रहेको छ । बाटोमा हिडिरहेकालाई बोलाएर ‘प्रसाद’ खुवाइन्छ । यतिबेला दुर्गा मूर्ति अन्य पनि राखिएका छन् । तर, यहाँको माहौल बेग्लै छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलवार १३:१८