सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज सेक्टरमा जहाज नराख्ने विमान कम्पनीलाई सिमकोट उडान प्रतिबन्ध

बाँके । हिन्दु नेपालीहरुको महान पर्व दसैँ र तिहारको अबधिमा नेपालगन्ज सेक्टरमा जहाज नराख्ने विमान कम्पनीलाई पर्यटकीय सिजनमा सिमकोट उडान प्रतिबन्ध लगाइने भएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा उडान भर्दै आएका एयरलाइन्सले नेपालगन्ज सेक्टरमा जहाज नराखे पर्यटकीय सिजनमा उडान गर्न नपाउने गरी प्रतिबन्ध लगाइने भएको छ ।

दसैं र तिहारमा नपालगन्जमा जहाज नराख्ने विमान कम्पनीले आगामी वर्षको मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने पर्यटकीय सिजनमा उडान भर्न नपाउने भएका छन् । जहाज कम्पनीहरु सेवा भन्दा पनि बढी कमाउधन्दामा लागेपछि हुम्लालगायत कर्णालीबासीलाई दसैँ तिहारजस्तो महान चाडपर्वमा महंगो हवाई भाडा तिरेर पनि घर जान नपाउने अवस्था छ ।

चाडपर्वका बेला सेवा नदिने एयरलाइन्सलाई पर्यटकीय सिजनमा उडान भर्न नदिने निर्णय भएको जिल्ला समन्वय समिति हुम्लाले जनाएको छ । पर्यटकीय सिजनमा एउटा एयरलाईन्सले सिमकोट विमानस्थलमा दैनिक कम्तिमा दश वटासम्म उडान भर्ने गरेका छन् । तर, दसैँ तिहारजस्तो चाड सुरु भएपछि मुस्किलले एक फ्लाइट उडान भर्दा जिल्लामा आउने हुम्लावासीलाई सास्ती भएको छ ।

अहिले नेपालगन्ज वा सुर्खेत क्षेत्रलाई बेश बनाएर एउटा जहाज नराख्ने एयरलाइन्सलाई आगामी २०७७ सालको मानसरोवर कैलाशको पर्यटकीय सिजनमा उडान भर्न नदिने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका समन्वय अधिकारी देवी ऐडीका अनुसार अहिले नेपालगन्जबाट सिमकोटका लागि तारा एयरले मात्र दैनिक उडान भर्दै आएको छ ।

यही क्षेत्रमा सञ्चालन हुँदै आएका सीता र समिट एयरले आफूखुसी व्यापारिक प्रयोजनलाई महत्व दिँदै काठामाडौं फर्कन थालेपछि हुम्लाबासीले यस्तो निर्णय लिनुपरेको समन्वय अधिकारी ऐडीले बताए । हालसम्म देशकै एकमात्र सडक यातायात नजोडिएको जिल्लाका रुपमा रहेको हुम्ला जिल्लालाई हवाई यातायातलाई सहज बनाएर दसैँ तिहारमा हुम्लीलाई घर आउने बातावरण तयार गर्न सरोकारवाला पक्षलाई बैठकले आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलवार १३:००