सूचनाको शक्ति - The Power Of Information

        

चाडपर्व सुरक्षा : पाँच मिनेटमै प्रहरी परिचालन, जमुनाहामा ‘सहायता कक्ष’

बाँके । दशैं सुरु भइसक्यो । तिहार, छठजस्ता ठूला पर्व नजिकिँदै छन् । जति चाडबाड नजिकिन्छन्, सीमा नाकामा यात्रुको आवागमन र भीडभाड बढ्ने गर्छ । आवागमन बढेसँगै सिमानामा लुटपाट र ठगीका घटना वृद्धि हुन्छन् । चाडपर्वका बेला सीमा नाकामा हुने विभिन्न अपराध तथा ठगी नियन्त्रण र पीडितलाई तत्काल सहयोग गर्न जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

त्यस्ता आपराधिक घटनालाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका जमुनाहामा सावधानी अपनाइएको छ । यस्ता घटना नियन्त्रण गर्न सीमित संख्यामा परिचालित प्रहरीको प्रयास मात्र सम्भव देखिएको छैन । सर्वाधिक आवागमन हुने जमुनाहा नाकामा यस्ता घटना रोक्न प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । घटना हुन नदिने र केही गरी भइहालेमा पीडितको सहयोग र उद्धारका लागि प्रहरी तयारी अवस्थामा रहेको बताइएको छ ।

घटना घटेको सूचना पाएको पाँच मिनेटमा प्रहरी टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ । नाकामा ‘यात्रु सहायता कक्ष’ स्थापना भइसकेको छ । ‘चाडपर्व सुरु हुन थालेपछि नाकामा थामिनसक्नु यात्रु र सवारी साधनको भीड लाग्न थाल्छ,’ इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमूख एवं प्रहरी नायव निरीक्षक माधव रिजालले भने, ‘सीमा क्षेत्रमा भीडभाडका बेला हुने विभिन्न ठगी र अपराधबाट सर्वसाधारणलाई सुरक्षित बनाउन कक्षको स्थापना गरिएको हो ।’

प्रहरीको अगुवाइमा थालिएको यस कदममा स्थानीय सहयोगी पनि एकजुट भएको उनले बताए । नेपाल–भारत सीमानाकाको मुख्य प्रवेशद्वारमै सहायता कक्षको स्थापना गरिएको छ । कक्षमा प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, विभिन्न यातायात व्यवसायी, स्थानीय नागरिक समाज लगायतका प्रतिनिधिहरु रहनेछन् । कोही समस्यामा परेको जानकारी आउनासाथ उसलाई कुन खालको सहयोगको आवश्यकता परेको छ ? त्यो तत्काल उपलब्ध गराइने प्रहरी नायव निरीक्षक रिजालले बताए ।

चाडपर्व मनाउन भारत लगायतका मुलुकबाट परिवारसहित घर फर्किने, विदेशमा अध्ययन, भ्रमण तथा उपचार गरेर फर्किन नेपालीे, चाडपर्वका लागि सरसामान खरिद गर्न भारतीय बजार पुग्ने नेपाली उपभोक्ताको भीडले बाटो छिचोल्न मुस्किल हुनेगर्छ । चाडपर्वका बेला पश्चिम नेपालका धेरै यात्रुको भीड यही नाकामा लाग्र्छ । इलाका प्रहरी कार्यालयका अनुसार सामान्य अवस्थामा पनि दैनिक दुई हजार ५०० बढी यात्रुको आवागमन हुनेगर्छ । दशैंतिहारका बेला यो संख्यामा धेरै वृद्धि हुने गरेको छ ।

चाडपर्वको समयमा चार हजार बढी यात्रुहरुको आवागमन हुने गरेको प्रहरी नायव निरीक्षक रिजालले बताए । सीमा नाकामा कुनै पनि यात्रु नठगिने वातावरण बनाउन प्रहरीले हरसम्भव प्रयास गरिरहेको प्रहरी नायव निरीक्षक रिजालको भनाई छ । चाडपर्वमा मालवाहक ढुवानीका गाडी र अन्य सवारी साधनको आवागमनको चाप पनि उत्तिकै हुन्छ । यही मौकाको फाइदा उठाउँदै सिमामा पाकेटमार, लागूपदार्थ प्रयोगकर्ता, होटल तथा गाडीवाला यात्रुलाई ठग्छन् ।

नशालु पदार्थको प्रयोग गरी यात्रुलाई लठ्याएर लुट्ने, रिक्सा र गाडीवालाले अत्यधिक बढी भाडा लिने, यात्रु मिलाएबापत कमिसन खाने, यात्रु तानातान गर्ने र बसको टिकट मिलाइदिने भन्दै पैसा असुलेर अलपत्र पार्ने, एउटा सिटको बसको टिकट धेरै जनालाई दिने, यात्रुको चापअनुसारका गाडी उपलब्ध नहुनेजस्ता समस्या यात्रुले भोग्ने गरेका छन् । ‘यस्ता अपराध र ठगी नियन्त्रण गर्न सबैतिर प्रहरी परिचालन गरिएको छ,’ बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीले भने ।

कोही लुटिएर बेखर्ची भएमा गन्तव्यसम्म पुग्ने व्यवस्था, नशालु पदार्थको सेवन गराएर लुटिएका पीडित फेला परेमा उनीहरूको उपचार, उनीहरूलाई घरसम्म पुर्याउने व्यवस्था, हराएका बालबालिका तथा अलपत्रमा परेका यात्रुलाई संरक्षण तथा उद्धार, यात्रुको चाप अनुसारका सवारी साधनको अभाव भएमा तत्काल थप गर्ने, ठग तथा दलालको खोजी र कारबाही गर्नकै लागि प्रहरीले सहायता कक्ष सञ्चालनमा ल्याएको प्रहरी उपरीक्षक ओलीको भनाई छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार १७:१०