सूचनाको शक्ति - The Power Of Information

        

जमुनाहामा होटलवाला विचौलिया, यात्रुलाई सास्ती, लखेट्दै प्रहरी

भारतबाट फर्किँदै गरेका नेपाली जमुनाहा नाका प्रवेश गर्दै । तस्वीर : सत्यपाटी

भारतबाट फर्किँदै गरेका नेपाली जमुनाहा नाका प्रवेश गर्दै । तस्वीर : सत्यपाटी

बाँके । दशैं नजिकिएको छ, नेपालीहरु गाउँबस्ती, शहर बजार सबैतिर चाडपर्वको रौनक सुरु भइसकेको छ । कोही शहरबाट गाउँ फर्किरहेका छन् त कोही गाउँबाट शहरतिर झर्दैछन् । आफन्तहरु एकापसमा भेला हुन सुरु भइसकेको छ । परदेश गएकाहरु घर फर्किँदैछन् । कोही किनमेलमा ब्यस्त छन् । दशैंमा बली चढाउन र मासुका लागि खसीबोकाको जोहो हुँदैछ ।

खासगरी चाडपर्वकै बेला भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नेपालीहरु लुटिने र ठगिने सूचनाहरु बाहिरिने गर्दछन् । तर, नेपाल–भारत सीमानाका जमुनाहामा भने भारतबाट मजदुरी गरेर फर्किँदै गरेका नेपालीहरु नेपालगन्जका होटल व्यवसायीहरुबाट पीडित छन् । यतिबेला दैनिक करिब ५०० नेपालीहरु भारतबाट नेपाल फर्किने गरेका छन् । भारतबाट आउने नेपालीहरु विहान र साँझको समयमा हुल बाँधेर आउने गरेका छन् ।

यही मौका छोपेर नेपालगन्जका होटल व्यवसायीहरुले जमुनाहा नाकामा विचौलिया खटाएका छन् । एकाविहानै होटलबाट खटाइएका विचौलियाहरु जमुनाहामा पुग्ने र भारतबाट आएका नेपालीहरुलाई तानातान गर्न थालेपछि हैरानी व्यहोर्नुपरेको छ । आफ्नो होटलसम्म पु¥याउनका लागि विचौलियाहरुले भारतबाट फर्किँदै गरेका नेपालीहरुलाई तानातान गर्दै आजित बनाउने गरेका छन् ।

भारतबाट फर्किएका एक नेपालीले भने, ‘कुन होटलमा गएर बस्ने भन्ने हामीलाई थाहा हुँदाहुँदै होटलवालाहरुले तानेर सताउँछन् ।’ होटलले निश्चित कमिसन दिएर विचौलिया खटाउने गरेका छन् । भारतबाट आउने नेपालीलाई दुख दिन थालेपछि प्रहरीले सीमानाका जमुनाहामा कडाई गर्न सुरु गरेको छ । विहानै ग्राहक खोज्दै जमुनाहा पुग्ने १०÷१५ जना विचौलियालाई दैनिकजसो प्रहरीले लखेट्नुपरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायव निरीक्षक माधव रिजालले भने, ‘भारतबाट मजदुरी गर्ने नेपालीहरु फर्किरहनुभएको छ । होटलबाट खटिएका व्यक्तिहरुले जमुनाहामै पुगेर अभद्र व्यवहार गरिरहनुभएको छ ।’ भारतबाट फर्किँदै गरेका नेपालीलाई आफ्ना होटलसम्म पु¥याउन विचौलियाहरुबीच बाझाबाझ नै हुने गरेको छ । प्रहरी नायव निरीक्षक रिजालले व्यवसायीहरु ग्राहक तानातान नगर्न सचेत गराइरहेको बताए ।

उनले भने, ‘होटल सञ्चालकहरु सचेत नभए हामी कारबाही गर्छौ, अहिलेसम्म हामीले सम्झाईबुझाई गरेरै पठाएका छौं ।’ छेडागाड नगरपालिका–४ जाजरकोटका दलबहादुर पुनले कतिपय होटलवालाले बोकेका सामान नै समाएर तान्ने गरेको बताए । उनले भने, ‘रिक्सामा फर्किँदै गर्दा होटलवालाले हैरान पार्छन् ।’ यसलाई रोक्न प्रहरी प्रशासनले बेवास्ता गरेको उनको आरोप छ ।

‘जमुनाहामा पुग्नेबित्तिकै आफ्नो होटलसम्म ग्राहकलाई लैजान जबरजस्ती तानातान हुन्छ,’ भारतबाट फकिँदै गरेका पुनले भने, ‘होटल व्यवसायीहरुले अभद्र व्यवहार गर्छन् ।’ जमुनाहामा ग्राहक खोज्दै तानातान गर्नेलाई कारबाही गरिने प्रहरी उपरीक्षक ओलीले बताए । उनले भने, ‘भारतबाट फर्किँने मात्र नभई अन्य कुनै पनि यात्रुलाई तानेर अभद्र व्यवहार गर्नेलाई कारबाही गर्छौ । प्रहरीलाई खबर गरेर सहयोग गर्नुहोला ।’

प्रहरी उपरीक्षक ओलीले यात्रुहरुलाई तानातान गरेर अभद्र व्यवहार गरे मुद्दा चलाउनेसम्मको कारबाही गरिने बताए । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेलले नेपालगन्जका होटल व्यवसायीहरुलाई त्यसो नगर्न आग्रह गरिएको बताउँदै भने, ‘यात्रुलाई अभद्र व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउनुपर्छ । व्यवसायी नसुध्रिए त्यसको जिम्मेवारी संघले लिँदैन ।’

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार १६:३४