सूचनाको शक्ति - The Power Of Information

        

दुर्गाको मूर्तिमा सामान तस्करी !

बाँके । दुर्गाको मूर्तिमा लुकाईछिपाई नेपाल ल्याउँदै गरेको लाखौं मूल्यका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालगन्ज भन्सारमा चेकजाँचका क्रममा सशस्त्र प्रहरीले दशैंका लागि भारतबाट नेपाल ल्याउँदै गरेका दुर्गाको मूर्ति बोकेको ट्रयाक्टरबाट लाखौं मूल्यका सामान बरामद गरेको हो ।

दुर्गाको मूर्तिसँगै तस्करी गरि ल्याएको सामान सशस्त्रले बरामद गर्दा तस्करको नयाँ शैली बाहिरिएको छ । दशैंको पहिलो दिन भारतको रुपैडिहा लगायतका विभिन्न स्थानबाट नेपाल ल्याइँदै गरेका दुर्गाको मूर्तिमा लुकाईछिपाई सामानको तस्करी भइरहेको थाहा पाएपछि सशस्त्र प्रहरीले आइतबार बेलुकी चेकजाँचका क्रममा सामान बरामद भएको हो ।

सशस्त्र प्रहरी भन्सार सुरक्षा पोष्टका अनुसार दशैंका लागि दुर्गाको मूर्ति बोकेको ट्रयाक्टरबाट राजश्व छलेर नेपाल भित्रिरहेको ट्रयाक्टरको ट्रली चेक बेरिङ्ग २० पीस, रोटाभेटर बेरिङ्ग १० पीस, ढोकाको ह्याण्डल सेट नौ दर्जन, चिनी २०० केजी, डाल्डा घीउ दुई पेटी, चामल पाँच बोरा, तेल तीन टिन र लड्डु दाना एक बोरा लगायत २५ वटा विभिन्न सामान सशस्त्रले बरामद गरेको हो ।

सशस्त्र प्रहरीले बरामद गरेका ती सामानको रु.९ लाख ५० हजार मूल्य बराबरको रहेको नेपालगन्ज भन्सार कार्यालयका प्रमूख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । भन्सार कार्यालय नेपालगन्जमा रहेको सशस्त्र प्रहरीले नियमित चेकचाँजका क्रममा उक्त सामान बरामद गरेको जनाएको छ । बरामद गरिएका सामानमध्ये अधिकांश ट्रयाक्टर र खाद्यान्न सामाग्री रहेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार ०७:३५