बाँके । जिल्ला प्रहरी कार्यालय, बाँकेले ३१ बुँदे चाडबाड सुरक्षा रणनीति सार्वजनिक गरेको छ । दशैंमा शहर वा जिल्ला बाहिर जानेहरुलाई घरको झ्याल, ढोका राम्ररी बन्द गरेर नजिकको छिमेकी र प्रहरीलाई गर्न खबर आग्रह गरिएको छ ।
प्रहरीले अत्याधिक भीडभाड हुने बैंक तथा वित्तीय संस्था, व्यवसायीक मल, मनोरञ्जन स्थल, बसपार्क आदिमा चोरीलगायत अपराधिक घटना हुनसक्ने भएकाले त्यस्ता ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरेको जनाएको छ ।
प्रहरीले चाडबाड सुरक्षा योजनामा मदिरा खाएर होहल्ला, जुवातास, अतिशबाजी, गुण्डागर्दी नियन्त्रण गर्नेदेखि राजमार्ग सुरक्षासम्म रहेको छ । प्रहरी उपरीक्षक बीरबहादुर वलीले ६५ किलोमिटरमा फैलिएको नाकादेखि बजार, राजमार्गमा अपराधिक घटना हुन नदिन सतर्कता अपनाइएको बताए ।
भारतमा काम गरेर चाडबाड मान्न घर फर्किने नेपालीलाई नाकामा दुख, सास्तीदेखि लुटपाट नहोस् भनेर भारतीय प्रहरीसँग समन्वय गरेर सादा पोशाकका प्रहरी परिचालन गरिएको छ । प्रहरी उपरीक्षक वलीले नाका, बजार, बसपार्कदेखि राजमार्गसम्म सुरक्षा निगरानी बढाएको बताए ।
चाडबाडमा विशेष गरेर बैंक तथा बित्तीय संस्था आसपास, भारतबाट मजदुरी गरेर फर्किने नेपाली लुटिने गर्दछन् । शहर या जिल्ला बाहिर टीका लगाउन जादा घर खाली हुने भएकाले त्यस्ता घरमा चोरी हुने खतरा बढ्छ । प्रत्येक वर्ष दशैं र तिहार आसपासमा साना ठूला दुई दर्जनबढी चोरीका घटना हुँदै आएका छन् ।
बाँके प्रहरीले यसपाली त्यस्तो हुन नदिन विशेष सतर्कता अपनाएको जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि नियमितदेखि ‘सरप्राइज’ चेकिङको व्यवस्था गरेको प्रहरी उपरीक्षक वलीले बताए । चाडबाडका बेलामा बजारमा कालाबजारीदेखि कमसल खाद्य पदार्थ बिक्री हुन सक्नेतर्फ पनि प्रहरीले ध्यान दिएको छ ।
प्रहरी उपरीक्षक वलीले चाडबाडमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायका प्रमुखहरुलाई बिदा नछोडेको बताए । ‘सरकारी अड्डाहरुमा आलोपालो भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ, गस्तीको प्रबन्ध गरिएको छ,’ प्रहरी उपरीक्षक वलीले भने, ‘दशैंमा अपराध नहोस् भनेर हामी लागिपरेका छौं ।’
सत्यपाटी - ।