सूचनाको शक्ति - The Power Of Information

        

ट्राफिक प्रहरीद्वारा चाडपर्व लक्षित यात्रु सहायताकक्ष सञ्चालनमा

बाँके । नेपालीहरुको महानचाड बडादशैं, तिहार तथा छठ लगायत पर्वलाई लक्षित गरेर नेपालगन्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक व्यवस्थापन विशेष योजना अन्तरगत यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

नेपालगन्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापनाका लागि आयोजित कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणाले यात्रु सहायता कक्षलाई स्थायीरुपमै सञ्चालनका लागि उपमहानगरपालिकाको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘पश्चिम नेपाकै ठूलो बसपार्कमा स्थायीरुपमै सहायता कक्ष आवश्यक छ, यसका लागि उपमहानगरले आवश्यक सहयोग गर्नेछ ।’

बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले चाडपर्वमा हुने ठगी र लुटपाटजस्ता घटनाहरुलाई रोक्न प्रहरीलाई संवेदनशील हुन आग्रह गर्दै नागरिक–प्रहरी सहकार्य आवश्यक रहेको बताए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले यात्रुलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउन प्रहरी, नागरिक र यातायात व्यवसायीको समन्वयमा हुनुपर्ने बताउँदै यातायात व्यवसायीलाई सुरक्षित यात्राका लागि सावधानी अपनाउन आग्रह गरे ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव डेकनाथ गौतमले यात्रुहरुको सुरक्षित याताका लागि यातायात व्यवसायीहरु पूर्ण प्रतिवद्ध रहेको बताए । उनले भने, ‘यात्रुलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनका लागि प्रतिवद्ध छौं, यसका लागि हामीलाई पनि प्रहरी र आम नागरिकको साथ चाहिन्छ । सबैको सहयोग र सहभागिताले यात्रालाई सुरक्षित बनाउन सकिन्छ ।’

कार्यक्रममा बाँकेका प्रहरी प्रमूख प्रहरी उपरीक्षक बीरबहादुर वलीले विशेषगरी चाडपर्वमा हुने अराधजन्य घटना हुन नदिन प्रहरी सक्रियरुपमा लागिरहेको बताए । उनले भने, ‘चाडपर्वमा हुने चोरी, लुटपाट, ठगी जस्ता घटनाहरु हुन नदिन हामीले सादा पोसाकमा प्रहरी परिचालन गरेका छौं । कहिँकतै यात्रुहरु ठगिएका, लुटिएका घटनाहरु भएमा प्रहरीसँग समन्वय गरेर अघि बढ्नुस्, सबैको साथ र सहयोगले अपराधजन्य घटना रोक्न सकिन्छ ।’

बाँकेमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग र रत्न राजमार्गमा मापसे चेकिङमा कडाइ गरिने पनि प्रहरी उपरीक्षक वलीले बताए । ‘चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको हो,’ प्रहरी उपरीक्षक वलीले भने, ‘भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी नियन्त्रण गर्न सहायता कक्ष सञ्चालन गर्न लागेका हौं ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक पबिन्द्र बमले जिल्लाका विभिन्न नाका तथा बसपार्क क्षेत्रमा थप जनशक्ति परिचालन गरिएको बताए । उनले भने, ‘हामीले चाडपर्वका समयमा थप जनशक्ति परिचालन गरेका छौं । सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट अनिवार्य टाँस गर्न लगाइएको छ ।’ उनले चाडपर्वलाई लक्षित गरेर बाँकेका अन्य पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने बताए ।

नेपाल–भारत सीमा क्षेत्र जमुनाहा, पुष्पलाल चोक, कोहलपुर बसपार्क, चप्परगौडी, कोहलपुर चौराहामा अस्थायी यात्रु सहायता कक्ष सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए । सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरूस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी निरीक्षक बमले बताए ।

ट्राफिक प्रहरी, सामुदायिक तथा जनपद प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवसायी, उपभोक्ता समूहका प्रतिनिधिहरु र ट्राफिक प्रहरीलाई सहायता कक्षमा खटाइने प्रहरी निरीक्षक बमले बताए । उनका अनुसार सबै स्थानमा नियमित ड्युटीका लागि दशैं अवधीभर ६५ जना ट्राफिक प्रहरी र केही जनपथ प्रहरी खटिने छन् । जिल्लाबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा पनि मापसेसहित चेकजाँचसमेत गरिने ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतवार १३:०५