सूचनाको शक्ति - The Power Of Information

        

दशैं लक्षित यात्रु सहायताकक्ष सञ्चालन गर्दै ट्राफिक प्रहरी

बाँके । नेपालीहरूको महानचाड बडादशैं, तिहार तथा छठलगायतलाई लक्षित गरेर बाँके ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन विशेष योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीका अनुसार दशैंलाई लक्षित गरेर बाँकेका ६ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ ।

प्रहरी निरीक्षक पबिन्द्र बमका अनुसार नेपाल–भारत सीमा क्षेत्र जमुनाह, नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा स्थायीरुपमै यात्रु सहायता कक्ष रहने छन् । चप्परगौडी, पुष्पलाल चौक र कोहलपुर चौराहामा अस्थायी यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ ।

ट्राफिक प्रहरी, सामुदायिक तथा जनपद प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवसायी, उपभोक्ता समूहका प्रतिनिधिहरु ट्राफिक भोलियन्टरका रुपमा नेपालगन्ज, कोहलपुर लगायतका क्षेत्रमा खटिने प्रहरी निरीक्षक बमले बताए ।

सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरूस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित ट्राफिकले चाडपर्व बिशेष योजना लागू गरेको प्रहरी निरीक्षक बम बताउँछन् ।

‘चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको हो,’ प्रहरी निरीक्षक बमले भने, ‘भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी नियन्त्रण गर्न सहायता कक्ष सञ्चालन गर्न लागेका हौं ।’

बाँकेमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग र रत्न राजमार्गमा मापसे चेकिङमा कडाइ गरिने पनि उनले बताए । उनले भने, ‘हरेक क्षेत्रमा दैनिक चार पटक मापसे चेकिङ हुन्छ ।’ नेपालगन्ज कोहलपुर र खजुरा क्षेत्रबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा पनि मापसेसहित चेकजाँच हुने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

‘मापसे चेकिङको लागि केन्द्रबाट समेत निर्देशन आइसकेको छ,’ उनले भने, ‘शहरमा मात्र सीमित नभएर नाका र गाउँमा समेत मापसे चेकिङ हुन्छ ।’ ट्राफिक सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा दुई जना चालक अनिवार्यरुपमा भए/नभएको समेत चेकजाँच गरिने प्रहरी निरीक्षक बमको भनाई छ ।

‘दुई जना चालक भए/नभएको ट्राफिक प्रहरीको एप्सबाट हेरिनेछ,’ उनले भने । सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट अनिवार्य टाँस गर्न लगाउने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव निरीक्षक ओम पौडेलले बताए । उनका अनुसार विभिन्न नाका तथा बसपार्क क्षेत्रमा थप जनशक्ति परिचालन गरिनेछ ।

मोटरसाइकल चालकले हेल्मेट नगर्ने, ओभरलोड, सवारीअन्य भाग तथा छतमा यात्रु मालसामान राख्ने तीव्र गति तथा अनियन्त्रित सवारी चलाउनेलाई कडाईको साथ कारबाही गरिने सूचना अधिकारी पौडेलले बताए । पौडेलका अनुसार सबै स्थानमा नियमित ड्युटीका लागि दशैं अवधीभर ६५ जना ट्राफिक प्रहरी र केही जनपथ प्रहरी खटिने छन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार १४:४२