सूचनाको शक्ति - The Power Of Information

        

गाई काटेको आरोपमा तीन जना पक्राउ, करेन्ट लागेर एकको मृत्यु

बाँके । गाई काटेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा ७ बढुवाको खेतमा बुधबार राती गाई काटेका तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् भने एक जना फरार रहेका छन् ।

राती गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरी टोली त्यसतर्फ गएको थियो । ‘प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु लगिसकिएको थियो,’ इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाले भने । तीन जनाको घरबाट मासु बरामद गरिएको प्रहरी निरीक्षक पोषण थपलियाले जानकारी दिए ।

तीन जनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको बताउँदै घटनास्थलमा गाईको टाउको र खुट्टा फेला परेको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए । निरीक्षक थपलियाले पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने बताए । उनले फौजदारी संहिताको २०७४ को परिच्छेद २७ अनुसार कारबाही हुने बताए ।

सो परिच्छेदमा गाई गोरु मार्न वा कुट्न नहुने व्यवस्था गरेको छ । यदी कसैले गाई गोरु मार्ने गरेमा वा कुनै नियतले चोट पुर्याउने काम गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन बर्षसम्म कैद र अंगभंग पारेमा ६ महिनासम्म कैदको व्यवस्था छ । गाई गोरुलाई चोट पुर्याएमा रु.५० हजारसम्म जरिवाना र हत्या गरेमा कैद सजाय र जरिवाना दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

यसैबीच, ग्यारेजमा राखिएको गाडी मर्मत गर्ने क्रममा करेन्ट लागेर नेपालगन्जमा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर कोहलपुर–१२ का अन्दाजी २८ बर्षिय ललित श्रेष्ठको मृत्यु भएको छ । ना६ख ५३६४ नम्बरको गाडीको चक्का निकालेर मर्मत गर्ने क्रममा नजिकै रहेको विजुलीको नाङ्गो तारमा छोइँदा श्रेष्ठलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार १५:४९