सूचनाको शक्ति - The Power Of Information

        

शान्ति चामल उद्योगलाई ५० हजार जरिवाना, सोडा उद्योगलाई म्याद

बाँके । नेपालगन्जको एक राइस मिललाई पचास हजार जरिवाना तिराइएको छ । संयुक्त अनुगमन टोलीले आज बुधबार नेपालगन्जको खजुरा रोडमा रहेको शान्ति चामल उद्योगलाई स्थलगत जरिवाना गराएको हो ।

उद्योगले साइनबोर्ड, मूल्य सूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानुन बिपरित व्यवसाय गरेको भन्दै बजार अनुगमन समितिले तत्कालका लागि पचास हजार जरिवाना गराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अनुगमन टोलीले खजुरा रोडमै रहेको गोपाल सोप इण्डष्ट्रीद्वारा सञ्चालित सोडा उद्योगलाई साइनबोर्ड राखेर कारोबार गर्न सात दिनको म्याद दिएको छ । बाँकेका सहायक प्रमुख अधिकारी कृष्णकान्त उपाध्यायको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, उपभोक्ता हित संरक्षण मञ्च, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार १९:४३