बाँके । नेपालगन्जले दिन प्रतिदिन आफ्नो स्वरुप परिवर्तन गरिरहेको छ । नेपालगन्ज बजार क्षेत्रका भित्रि सडकहरु फराकिला पारिँदै छन् । जीर्ण सडक, पुलपुलेसा, नाला लगायतका संरचनाहरुले स्वरुप परिवर्तन गरेका छन्, सडक चौडा पारिएका छन्, सडकहरु रातभर झिलिमिली छन्, चोकचोकमा उच्च क्षमताका बत्ती (हाइमाष्ट) जडान गरिएको छ । शहर जति विकासको गतिमा अघि बढिरहेको छ, सुरक्षा चुनौति पनि उत्तिकै थपिएको छ ।
ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा निर्माण गरिएका ‘ट्राफिक बुथ’ अलपत्रजस्तै छन् । न त त्यहाँ ट्राफिक प्रहरी राखिएको छ न त ट्राफिक व्यवस्थापनबारे ट्राफिक प्रहरीलाई चिन्ता नै छ । नेपालगन्जका विभिन्न स्थानमा निर्माण गरेका ११ वटा ट्राफिक बुथ प्रयोगविहीन जस्तै छन् । नेपालगन्जको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जेब्राक्रसिङ्गमै साइकलदेखि मोटरसाइकल र गाडी पार्किङ गर्दासमेत ट्राफिक प्रहरीलाई वास्ता छैन ।
यसरी जेब्राक्रसिङ र बीच सडकमै सवारी साधन पार्किङ गर्दा सर्वसाधारणलाई आवतजावतमा समस्या भइरहेको छ । नेपालगन्जको व्यस्त बजार त्रिभुवन चोकमा दैनिकजसो जेब्राक्रसिङमै गाडी रोकिएका हुन्छन् । नजिकै भएका नेपाल प्रहरी र ट्राफिक प्रहरी मुकदर्शक भएर हेर्ने गरेका छन् । जेब्राक्रसिङमा रोकिएका सवारी सासधनलाई सचेत बनाउने र ट्राफिक नियमको पालना गराउनेतर्फ नेपालगन्ज ट्राफिकको ध्यान जान सकेको छैन् ।
नगरको ट्राफिक व्यवस्थापनलाई ध्यान नदिएर ट्राफिक प्रहरी चौलिक्का चौक, राँझा चोक, बसपार्क, खजुरारोड, फुलटेक्रातिरै कमाउ धन्दामा मस्त रहेको स्थानीय बताउँछन् । उपमहानगरपालिकामा सवारीसाधन पार्किङ समस्या जटिल बनेको छ । सपिङ मल, अस्पताल र ब्यापारिक प्रयोजनका लागि बनेका भवनमा समेत पार्किङस्थलको ब्यवस्था नहुँदा किनमेल तथा होटलमा खाना, खाजा, नास्ताका लागि जानेहरु सडक छेउमा सवारी साधन पार्किङ्ग गर्न बाध्य भएका छन् । चालकले सडक छेउमा जथाभावी पार्किङ गर्दा सडक अस्तब्यस्त भई सडक जाम हुने गरेका छन् ।
सडक फराकिलोसँगै पार्किङलाई पनि ब्यवस्थित गर्नुपर्ने सर्वसाधारणको माग छ । नेपालगन्जका अधिकांश सडक फराकिलोसँगै कालोपत्रे भए पनि जथाभावी पार्किङ गर्दा पहिलेको जस्तै साँघुरो लाग्ने गरेको छ । सडक फराकिलो भएर मात्र के गर्ने ? जथाभावी पार्किङ गर्दा सवारी साधन चलाउन मुस्किल पर्छ । दुई लेनको सुर्खेतरोड ६ लेनको बनाइएको छ । तर, फराकिलो सडकको फाइदा उठाउँदै सदरलाइनका ब्यापारी तथा किनमेल गर्ने सर्वसाधारणले सडकलाई पार्किङस्थल बनाएका छन् ।
सुरक्षा चुनौतिलाई ध्यान दिएरै नेपालगन्जका मुख्य चोकहरुमा प्रहरी बिट राखिएका छन् । चोकचोकमा राखिएका रंगरोगनसहित चिटिक्क पारेर राखिएका प्रहरी बिट भने बेकामे बनेका छन् । बिटमा प्रहरी छैनन् । सडक निर्माणका क्रममा प्रहरी बिट ढालेर झाडीमा फालिएको छ । बिटको सदुपयोगमा हालसम्म कसैले चासो देखाएको छ । सडकमा प्रहरीका गाडी दौडिएपछि मात्रै स्थानीयलाई सुरक्षा दिइरहेको महसुस हुन्छ । नेपाल खानेपानी संस्थान नेपालगन्ज कार्यालय नजिकै बेवारिसे अवस्थामा प्रहरी बिट झाडीमा फालिएको छ ।
प्रहरीलाई कतै बिट नभएर दिनरात घाम, पानी, धुलोले हैरान ब्यहोर्नुपरेको छ भने कतै भएका बिटहरुको पनि सही सदुपयोग हुन सकेको छैन । सडक तथा विभिन्न चोकमा डिउटीमा खटिने प्रहरीलाई यसको सदुपयोगले थोरै भए पनि राहत दिने थियो । नेपालगन्जका कारकाँदो, न्यूरोड, त्रिवेणीमोड, भेरी अस्पताल अगाडि, बाँकेगाउँ, घरबारी टोलका प्रहरी बिट रित्तै छन् । नेपालगन्जको सेतु विक चोकमा चिटिक्क परेका प्रहरी बिट छन् तर त्यहाँ दुई महीनायता प्रहरी छैनन् ।
जनशक्ति अभाव भएको भन्दै वडा प्रहरी कार्यालयले मुख्यमुख्य बिटमा मात्रै प्रहरी राख्ने गरेको छ । सुरक्षा चुनौतिज्ञलाई ध्यानमा राखेरै नेपालगन्जका चोकचोकमा प्रहरी बिट रंगरोगनसहित चिटिक्क पारेर राखिएका छन् । तर ती बिटमा प्रहरी छैनन् भने घरबारी टोलमा रहेको प्रहरी बिट झाडीमा फालिएको छ । न्यूरोडमा चिटिक्क परेको प्रहरी बिट छ तर त्यहाँ प्रहरी छैनन् । त्यसो त जिल्लामा दरबन्दी अनुसारका प्रहरी पनि छैनन् । बाँकेमा ९ सय हाराहारीमा प्रहरी दरबन्दी छ ।
प्रहरीले संख्या नै खुलाउन नचाहे पनि जागीर छोड्ने प्रहरीको संख्या ठूलो छ । एक जना प्रहरी अधिकृत भन्छन्, ‘सिपाही १३÷१४ वर्षमा हवल्दार हुन्छ । त्यसको केही वर्षमा उसको पेन्सन हुन्छ र उ बाहिरिन्छ । बीचैमा जागीर छोड्नेहरु पनि धेरै छन् ।’ नेपालगन्ज बजारमा वडा प्रहरी कार्यालयबाट प्रहरी खटिन्छन् । वडा कार्यालयमा ९९ जनाको दरबन्दी रहेको छ । त्यसमा पनि अहिले आधाजति मात्रै छन् । वडा प्रहरी कार्यालयले मुख्य मुख्य बिटमा मात्रै प्रहरी राख्ने गरेको छ ।
धम्बोझी, वीपीचोक, पुष्पलाल चोक, त्रिभुवनचोक, पुरैना, बसपार्कको प्रहरी बिट भने खाली छैनन् । प्रहरीको संख्या अलिकति कमी भए पनि बिट नै खाली गर्ने अवस्था छ । दरबन्दी अभावले सबै बिटमा प्रहरी राख्न नसकिएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक हरिबहादुर बस्नेतको भनाई छ । प्रहरीका अनुसार न्यूनतम् संख्यामा ड्यूटीमा खटाउन कम्तीमा ४० प्रहरी अपुग छन् ।
प्रहरी बिटमा प्रहरी नै नहुने भएपछि दुरुपयोग उस्तै बढेको छ । केही सयमअघि बिटमा प्रहरी नभएको फाइदा उठाउँदै बिटमै मासु पसल सञ्चालन गरेको पाइएको थियो । नेपालगन्ज–८ को रानीतलाउ नजिकको सब्जीमण्डीमा मासु व्यवसायी रिजवान कुरैसीले प्रहरी बिटमै मासु पसल सञ्चालन गरेको भेटिएको थियो । उनले प्रहरी बिटमा खसी काट्नका लागि प्रयोग हुने सामाग्रीसहित मासु पसल नै सञ्चालनमा ल्याएका थिए ।
जेब्राक्रसिङ्गमै यात्रुलाई बाटो काट्न कठिन
नेपालगन्जको सुर्खेतरोडमा बनाइएका जेब्राक्रसिङ्ग पेन्टिङ्ग नहुँदा जीर्ण बन्दै गएका छन् । पैदल यात्रुलाई सडक वारपार गर्न सहजताका लागि बनाइएका जेब्राक्रसिङ्गमै सवारीसाधनको गति तीव्र हुँदा यात्रुलाई बाटो काट्न कठिन हुने गरेको छ । नियमअनुसार जेब्राक्रसमा पैदल यात्रुलाई पहिलो प्राथमिकता दिनुपर्ने हो, तर सवारीचालकले सवारी रोक्नु त परै जाओस् गति पनि कम नगर्ने गुनासो पैदलयात्रु गरेका छन् । यसमा चालकको हेल्चेक्र्याइँ नै मुख्य कारण रहेको ट्राफिक प्रहरी बताउँछ ।
‘सवारीसाधनले जेब्राक्रसको नियम मिच्ने गरेका छन्,’ ट्राफिक प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव निरीक्षक ओम पौडेलले भने, ‘चालकले पैदल यात्रुलाई प्राथमिकता नदिँदा हेल्चेक्र्याइँका साथै जेब्राक्रसिङ्गमै गाडी रोक्ने गरेको पाइएको छ ।’ यसरी जेब्राक्रसिङ्गमा गति कम नगर्ने सवारी चालकलाई भने ट्राफिक प्रहरीले अहिलेसम्म कारवाही भने गरेको छैन । जनशक्ति पर्याप्त नभएकाले सबैतिर हेर्न नसकिएको ट्राफिक प्रहरीको भनाई छ ।
नेपालगन्ज र कोहलपुरका सडकमा ट्राफिक लाइट भने अहिले पनि जडान हुन सकेका छैनन् । यसले हातको इसाराकै भरमा चारैतिरबाट आएका गाडी व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको पौडेल बताउँछन् । काठमाडौं, पोखरा, विराटनगर लगायतका शहरमा पैदल यात्रुले सहजरुपमा जेब्राक्रस प्रयोग गर्न पाउने व्यवस्था रहेको पूर्वाधार विज्ञ डाक्टर सूर्यराज आचार्य बताउँछन् । पैदल यात्रुलाई सडक पार गराउन सडकमै जेब्राक्रस राखिएको भए पनि जेब्राक्रस प्रयोगमा पैदल यात्रुले प्राथमिकता नपाउने गरेको उनको अनुभव छ ।
जेब्राक्रसिङ्ग प्रयोगमा ट्राफिक प्रहरीले कानुन अनुसार कडा कारबाही गर्न नसकेको जानकारहरू बताउँछन् । सवारी साधन र पैदल यात्रुको संख्या उल्लेख्य रहे पनि यसको तुलनामा पूर्वाधारसहित व्यवस्थित जेब्राक्रसिङ्ग र सडक नभएकाले समस्या बढ्दै गएको देखिएको छ । ट्राफिक प्रहरीले सिठी बजाएर मात्रै ट्राफिक व्यवस्थापन गर्न गाह्रो भएकोले लाइट जडान गरी गाडीको चापअनुसार टाइम सेटिङ गरेर ट्राफिक लाइट सञ्चालन गर्नुपर्ने जानकारहरु बताउँछन् ।
सत्यपाटी - ।