कुमार श्रेष्ठ । बाँके । भारतबाट खसी नआएपछि दसैँमा काठमाडौँमा खसीको मासुको अभाव हुन्छ भन्ने चर्चा भइरहेको बेलामा बाँकेको खसी कारोबार गर्ने सहकारीका पदाधिकारीहरु ‘खसी किनिदिनु’ भन्न काठमाडौँ पुगेका छन् । काठमाडौँको कलंकी लगायतको खसी बजारको अवस्था अवलोकन गर्ने र मूल्य मिलेमा खसी पुर्याइदिने ‘सम्झौता’ गर्न महिला उद्यमी जिल्ला सहकारी संघकी अध्यक्ष गंगा शाहको टोली काठमाडौँ पुगेको हो ।
‘हामी खसी बजार हेर्न आएका छौँ । मूल्य मिलेमा खसी पु¥याइदिने सम्झौता गरेर फर्किन्छौं, अध्यक्ष शाहले भनिन् । सरकारले भारतबाट क्वारेन्टाइन गरेका खसीलाई मात्रै भित्रिन दिनु भन्ने निर्देशन गरेपछि भारतबाट खसी भित्रिएका छैनन् । किनकी, व्यापारीले भारतबाट क्वारेन्टाइन गरेर खसी ल्याउन सकेका छैनन् । भारतमा केही ठाउँमा मात्रै क्वारेन्टाइन कार्यालय रहेको र त्यहाँबाट कागज लिनका लागि खसी लिएर जानुपर्ने भएकाले व्यापारीहरु त्यो झन्झटमा लागेका छैनन् ।
विगतका दसैँंमा भारतबाट ठूलो संख्यामा खसी भित्रिएकाले यसपाली नआउँदा मासुको अभाव हुने आकलन गरिएको थियो । तर, बाँकेको खसीले मूल्य नपाएको सहकारीले जनाएको छ । सहकारी लेखापाल नविन साहुले काठमाडौँका व्यापारीले खसी माग नै नगरेको बताए । ‘हामी खसी दिन तयार छौँ । ‘काठमाडौँका व्यापारीले खसीको माग नै गरेका छैनन्,’ लेखापाल साहुले भने, ‘किन व्यापारीले खसीको माग गरेका छैनन् लगायत बजारको अवस्था बुझ्न अध्यक्ष शाह लगायतको टोली काठमाडौँ गएको छ ।’
साहुका अनुसार, असोज (एक हप्ता)मा सहकारीबाट ३५० वटा खसी बिक्री भएको छ । त्यो पनि काठमाडौँको व्यापारीले नभई यहीका व्यापारीले किनेका हुन् । एकातिर काठमाडौँको खसीको अभावको रहेको चर्चा भइरहदा अर्कोतिर बाँकेको खसी बेच्ने सहकारीले मूल्य नपाएर खसी काठमाडौँ पठाउन सकेको छैन । न त काठमाडौँका व्यापारीले नै खसी मगाएका छन् । बाँके, बर्दिया, सुर्खेतमा व्यक्तिले जिल्ला सहकारी र सहकारीले संघलाई खसी बेच्ने गरेका छन् ।
संघले बजारमा पुर्याउने गर्दछ । लेखापाल साहुका अनुसार, जिल्लामा जिउँदो खसी ४५० देखि ५१५ सम्ममा बिक्री भइरहेका छन् । संघले यहीका व्यापारीलाई २५ प्रतिकिलोमा नाफा खाएर खसी बेचिरहेको छ । काठमाडौँबाट माग आउने बित्तिकै ट्रकमा लोड गरेर आफै जाने तयारी गरेको छ । काठमाडौँमा अहिले जिउँदो खसी ५५० देखि ५८० रुपैयामा कारोबार भइरहेको छ । संघका लेखापाल साहुले यति मूल्यमा खसी दिन नसकिने बताए ।
‘कि त सबै खसीलाई ५८० रुपैयामा किन्नु पर्यो, किलो अनुसार वर्गीकरण गर्दा त्यति रकम व्यापारीले दिदैनन्, यति मूल्य नपाए बिक्री गर्न सकिदैन,’ साहुले भने, ‘कहिले खसीको मूल्य बढ्ला र काठमाडौँ पठाउला भनेर बसेका छौं ।’ साहुका अनुसार, मंगलबार नै धादिङका एक व्यापारीले बाँकेबाट २२० वटा खसी लगेका छन् । ती व्यापारीले पनि धादिङमा लगेर राख्ने र काठमाडौंमा खसीको मूल्य बढेपछि लैजाने तयारी गरेका छन् । बाँकेमा कम्तिमा आठ वटा सहकारीले खसी बेच्ने गर्दछ । सहकारीबाट संघले खरिद गरेर जम्मा गरिरहेको छ ।
यो वर्ष कम्तिमा तीन हजार खसी काठमाडौँ लैजाने संघको तयारी रहेको छ । खसीको अभाव रहेको बताइरहँदा बाँकेका खसी किन बिक्री भएको छैनन् ? किन काठमाडौँका व्यापारीले माग गरेका छैनन् ? साहु थप्छन्, सरकारले क्वारेन्टाइनका नाममा सिधा बाटोबाट खसी ल्याउन बन्द गरे पनि चोरी नाकाबाट ठूलो मात्रामा भारतीय खसी भित्रिरहेका छन् । र, त्यो काठमाडौँ पुगिरहेका छन् ।’ बाँकेबाट काठमाडौँसम्म खसी पुर्याउदा ४ देखि ६ किलोसम्म तौल घट्छ । त्यसलाई ध्यानमा राखेर खसीको मूल्य खोजिएको छ । काठमाडौँमा भने अहिले पनि चोरी नाकाबाट भित्रिएका भारतीय खसी नै पुगिरहेका छन् ।
#देश सञ्चार
सत्यपाटी - ।