सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट दशैँ मनाउन घर फर्किँदै नेपाली

बाँके । दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगन्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दशैँ मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ ।

जाजरकोटको बारेकोटबाट रोजगारीका लागि भारतको सिमला पुगेका धनबहादुर वली दशैँ मनाउन घर फर्किएका छ । वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दशैँमा भने सधैँ घर फर्किने गरेको उनले बताए । वलीका अनुसार, भारतको सिमलामा मजदुरी काम गर्ने जाजरकोटको बारेकोटका मात्रै १५ घरपरिवार दशैँ मनाउन घर फर्किएका छन् ।

पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायतका जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् । जमुनाह नाकामा भेटिएका सल्यान बनगार कुपिण्डे नगरपालिकाका गणेश विकले घरपरिवारलाई लत्ताकपडा र दशैँ खर्च लिएर भारतबाट घर फर्किएको बताए । धेरै रुपैयाँ कमाउन नसके पनि जसोतसो खर्च जोहो गरेको उनको भनाइ छ ।

उक्त नाकाबाट दशैँ मनाउन घर फर्किने नेपालीको सङ्ख्या दैनिकरूपमा बढ्दै गएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक माधव रिजालले बताए । उनका अनुसार, अहिले दैनिक दुई/तीन सय नेपाली जमुनाह नाका हुँदै दशैँ मनाउन घर फर्किने गरेका छन् । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि प्रदेश नं ५ र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

दशैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, भारतबाट घर फर्किने नेपालीलाई सीमामा लुटपाट र दुःख दिने कार्य रोक्न भारतीय सुरक्षा अधिकारीहरूको ध्यानाकर्षण गराइएको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार ११:१२