सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा डेंगुबाट एकको मृत्यु, ५७ जना संक्रमित

बाँके । सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने भनिरहेको बेला बाँकेमा उपचारका लागि आएका डेंगुका विरामीले झुलसहितको बेडमात्र निशुल्क पाएको गुनासो गरेका छन् । भेरी अस्पतालको मेडिकल वार्डको बेड नं ८२ मा उपचारको लागि भर्ना भएका दैलेखका विरामीका आफन्त सिता भुगाइले बेडबाहेक सबै किनेर निर्वाह गर्नुपरेको गुनासो गरिन् ।

उनले भनिन्, ‘सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने कुरा सुनेकी छु, यहाँ त बेडबाहेक सबैको पैसा तिर्नुपरेको छ ।’ उनी आफ्नी छोरी सुर्खेतमा बसेर अध्ययन गर्दै गर्दा डेंगुको संक्रमण भएर उपचारको लागि आएको बताइन् । सोही वार्डको बेड नं. ८१ मा रहेका विरामीका आफन्तले झुलसहितको बेडबाहेक अरु कुनै सुविधा अस्पतालबाट नपाएको बताइन् ।

उनले विरामीको लागि आवश्यक पर्ने सामान्य सिटामोल पनि आफैले किन्नु परेको गुनासो गरिन् । दाङ्गबाट उपचारको लागि नेपालगन्ज आएकी उनले भनिन्, ‘निशुल्क भनेर हल्ला गर्ने कार्यान्वयन नगर्दा सबै विरामीले किन्नुपर्ने ?’ यतिबेला बाँकेका विभिन्न अस्पतालमा २७ जना डेंगुका विरामीले उपचार गराइरहेका छन् । देशभर डेंगुको प्रभाव रहेको बेलामा बाँकेमा पनि डेंगुको संक्रमण बढ्दो अवस्थामा देखिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत साउनदेखि हालसम्म ५७ जना डेंगु संक्रमितले बाँकेमा रहेका तीन ठूला अस्पतालमा उपचार गराएका छन् । स्वास्थ्य कार्यालय बाँके किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार भेरी अस्पताल नेपालगन्जमा ११ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ११ जना र कलेजकै नेपालगन्जमा रहेको अस्पताल (नर्सिङ्ग होम) मा ५ जनाले उपचार गराइरहेका छन् ।

सरकारले डेंगुका बिरामीको निशुल्क उपचार गर्ने भने पनि स्वास्थ्य विभागबाट स्पष्ट कुनै आदेश नआएको कारण विरामीले अस्पतालमा निशुल्क झुलयुक्त बेडबाहेक अरु केही पाउन नसकेको गुनासो गरेका छन् । ‘माथिको स्पष्ट आदेश आएको छैन, हामीले पनि कसरी सेवा दिने अलमलमै छौं,’ फोकल पर्सन गौतमले भनिन्, ‘झुल र बेड उपलब्ध गराएका छौं, अरु स्पष्ट आदेश पर्खेर बसेका छौं ।’ बाँकेमा उपचारको लागि आएका डेंगुका विरामीमध्ये एक जनाको मृत्यु भएको छ ।

फोकल पर्सन गौतमका अनुसार मृत्यु भएका विरामी बर्दियाको रहेको र उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज उपचारको लागि भर्ना थिए । बाँकेमा उपचारका लागि आएका डेंगुका बिरामीमध्ये सबैभन्दा बढी बाँकेकै रहेका छन् । बाँकेका २०, बर्दियाका ९, कैलालीका ७, सुर्खेतका ५, कालिकोट २, सल्यान २, रुकुम १, दाङ्ग १ र दैलेखका १ जना गरी ५७ जना रहेका छन् ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रूपानन्द अधिकारीका अनुसार अस्पतालमा उपचारको लागि आएका विरामीमा संक्रमण बाँकेमा नभएर बाहिर जिल्लामा भएको पाइएको बताए । उनले बाहिरी जिल्लाबाट बिरामी भई जाँच गराउन नेपालगन्ज आएका व्यक्ति बिरामी भई अस्पताल आउँदा डेंगु फेला परेको दावी गर्दै भने, ‘अहिलेसम्म बाँकेमा जोखिम देखिएको छैन । यद्यपी, सुरक्षाका उपाय भने अपनाउनु आवश्यक छ ।’

भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले अस्पतालमा फेला परेका डेंगुका बिरामीमा कडा संक्रमण नभएको जानकारी दिँदै उपचारका लागि आएका अधिकांश विरामीहरु बुटवल, नारायणघाट, पोखरा जहाँ डेंगु फैलिएको छ त्यो ठाउँ भ्रमण गरेर आएकाहरु रहेको जानकारी दिए । उनले भने, ‘बाँकेमा बाहिरी जिल्लाबाट उपचारमा आउनेमा डेंगु देखिए पनि यहींका बिरामीमा त्यस्तो कम पाइएको छ । भाइरल बिरामीको संख्या भने यहाँ बढेको छ ।’

डेंगुको डरका कारण भाइरल संक्रमण हुनेहरू पनि उपचारका लागि अस्पताल पुग्ने गरेको उनले बताए । उनले भने, ‘ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, रुघाखोकी लाग्ने, ब्लडप्रेसर कम हुने डेंगुका लक्षण हुन् ।’ डा.पाण्डेले बाँकेमा डेंगु जोखिम नदेखिए पनि सतर्कता अपनाउन सुझाव दिए । डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग भएको कारण त्यस्ता प्रकारको लामखुट्टे बस्ने स्थानको सरसफाईमा विशेष ध्यान दिने चिकित्सकको सल्लाह छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलवार २०:०७