सूचनाको शक्ति - The Power Of Information

        

घटस्थापनादेखि सञ्चालनमा आउँदै नेपालगन्ज बसपार्क

बाँके । घटस्थापनाको दिनदेखि नेपालगन्ज बसपार्क सञ्चालनमा आउने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्शेर राणाको अध्यक्षतामा आइतवार बसेको बस सञ्चालक समिति प्रालि र सरोकारवाला निकायको बैठकले १५ गते वसपार्कको उद्घाटन हुने भएकाले असोज १२ गतेदेखि सम्पूर्ण बसहरु वसपार्कभित्र अनिवार्य प्रवेश गराउने निर्णय गरेको हो ।

यसैगरी बैठकले वसपार्क सञ्चालन भएपछि नगर वस वाहेकका सम्पूर्ण वसहरु वसपार्कबाटै छुट्ने गरि व्यवस्थापन गर्ने निर्णय गरेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघ बाँकेको संयोजनमा तीन दिनभित्र काउण्टरको बाडफाडसहित सवै समिति र प्रालिको एक–एक जना प्रतिनिधित्व हुने गरि खाकासहित प्रतिवेदन पेश गर्न अनुरोध गरेको उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले बताइन् ।

बैठकले बसपार्कको सुरक्षाका लागि सिसी क्यामरा, सुरक्षा काउण्टरलगायत अन्य भौतिक पूर्वाधार तयार गर्ने निर्णय गरेको छ । बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी प्रमुख वीरबहादुर वलीलगायतको उपस्थिति रहेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतवार १९:०१