बाँके । नेपालको संविधान २०७२ ले सबै जातजाती, धर्म, लिंग, वर्गको अधिकारलाई सुनिश्चित गरे पनि कार्यान्वयन पक्ष फितलो भएको बाँकेको खजुरामा आयोजित एक कार्यक्रममा सहभागीले औल्याएका छन् । संविधान दिवसको सन्दर्भ पारेर खजुरा गाउँपालिकाले आज (शनिवार) आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै सहभागीले संविधान कार्यान्वयनको पक्षमा भएका त्रुटी सच्याउँदै जनतासँग पुग्नुपर्ने बताए ।
खजुरा क्षेत्रका सबै राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, महिला, मधेशी, मुस्लिम, पेशा, वर्ग क्षेत्र सबैको प्रतिनिधित्वमा गरिएको संवादमा अधिकांशको धारणा संविधानले सबैको अधिकार र भावना समेटे पनि कार्यान्वयन पक्ष फितलो भएकोमा एकमत देखिएका थिए । उनीहरुले संविधानले दिएका अधिकारको सही सदुपयोग गर्दै नागरिकले आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।
खजुरा गाउँपालिका कार्यवाहक प्रमुख एकमाया बिकले कानून पूर्णरुपमा नबनेकाले संविधान कार्यान्वयनमा समस्या आएको बताईन् । उनले स्थानीय तहलाई दिएको २२ वटा अधिकार कार्यान्वयनमा पनि कानून बनाएर अगाडि बढ्न समस्या र ढिलाई भएको बताउँदै आएका सुझाबहरु प्रदेश सरकारलाई प्रतिवेदनको रुपमा दिएको बताइन् ।
कार्यक्रममा नेकपा खजुराका अध्यक्ष राजकुमार विक, नेपाली काँगे्रस सभापति शेरबहादुर गुरुङ, राजपाका अब्दुल काँदार, राप्रपाका मोहनबहादुर खड्का, विज्ञ समूह सदस्य भक्तबहादुर केसीलगायतले संविधान कार्यान्वयन पक्षलाई मजबुत पार्न सकारात्मक ढंगले आ आफ्नो कर्तब्य पालना गर्दै जिम्मेवार बन्नुपर्ने बताए । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले संविधानको अध्ययन गरेर मात्र आफ्ना धारणा सार्वजनिक गर्दा राम्रो हुने बताए ।
।