सूचनाको शक्ति - The Power Of Information

        

दिनभरको वर्षाले उडान प्रभावित, नेपालगन्जमा प्रतिघण्टा १८.७ मिलिमिटर बर्षा

बाँके । बिहानदेखि भएको लगातार बर्षातका कारण नेपालगन्जबाट हिमाली र पहाडी जिल्लामा हुने सम्पूर्ण उडान प्रभावित भएका छन् । बिहान डोल्पाबाहेक अन्य कुनै दुर्गम जिल्लामा विमान उडान नभएको नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।

उनले हिमाली र पहाडी भेगमा हुस्सु र कुहिरो लाग्ने र दुर्गभ भेगका विमानस्थल गुणस्तरीय नभएकोले उडान प्रभावित भएको बताए । उनले दुर्गम जिल्लाका उडान प्रभावित भए पनि नेपालगन्ज–काठमाडौं र काठमाडौं–नेपालगन्ज नियमित उडानलाई वर्षाले असर नगरेको बताए ।

नेपालगन्ज क्षेत्रमा बुधवार बिहानैदेखि मुसलधारे वर्षा भए पनि बुद्ध, यति र श्री एयरलायन्सको नियमित उडान प्रभावित नभएको उनले बताए । दिउँसो श्री एयरलायन्सको विमान काठमाडौंबाट नेपालगन्ज विमानस्थलमा आएर फर्किएको उनले बताए ।

मुसलधारे वर्षा भए पनि विमान उडान र अवतरणका लागि आवश्यक पर्ने पर्याप्त भिजिविलिटी भएका कारण उडानमा कुनै असर नपरेको कार्यालय प्रमुख ठाकुरले बताए । नेपालगन्जमा प्रतिघण्टा १८.७ मिलिमिटरका दरले बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, नेपालगन्जका फिल्ड इञ्चार्ज पलबहादुर विकले जानकारी दिए ।

अंग्रेजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बरलाई वर्षा हुने महिनाको रूपमा लिइने गरेको बताउँदै उनले सबैभन्दा बढी जुलाई महिनामा वर्षा भएको जानकारी दिए । फिल्ड इञ्चार्ज पलबहादुर विकका अनुसार यसबर्ष सबैभन्दा धेरै जुलाईमा ६६६.९ मिलिमिटर र जुन महिनामा २६९ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार १७:४०