सूचनाको शक्ति - The Power Of Information

        

सिम्पल अनि बोल्ड उपासना

नायिका उपासना सिंह ठकुरी अहिले आफू अभिनित दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को प्रचारमा दौडधुपमा छिन् । उपासनाले पहिलो चलचित्र ‘क्याप्टेन’मा नायक अनमोल केसीसँग नै काम गरिन् । दोश्रो चलचित्रमा उनले नायक दयाहाङ राइसँग पर्दा शेयर गरेकी छिन् ।

यसअर्थमा उपासना भाग्यमानी नायिका हुन् भन्दा फरक पर्दैन । उपासना भन्छिन्, ‘मैले ‘कबड्डी कबड्डी कबड्डी’को सबै कुरा हेरेर नै चलचित्रमा काम गरेकी हुँ । निर्देशक रामबाबु गुरुङसँग काम गर्ने मेरो सपना थियो । अर्कोतिर, एउटा ब्रान्ड चलचित्रमा काम गर्न पाउँदा उत्साहित हुनु स्वभाविक नै हो ।’

नायिका सिंहलाई ‘क्याप्टेन’मा काम गर्दा धेरैले विभिन्न खालको टिकाटिप्पणी गरेका थिए । कसैले उनलाई मोटी भने, कसैले नायिकाको लागि फिट नरहेको भनेर टिप्पणी गरे । आफूलाई सिम्पल बताउने नायिका उपासना भन्छिन्, ‘हामीले चलचित्रको पर्दामा वास्तविक जीवनका मानिसको पात्र चित्रण गर्ने हो । यसैले, कसैलाई पनि उसको शारीरिक वनावट हेरेर मुल्यांकन गर्नु गलत हो ।’

उपासनाले आफूलाई अभिनय राम्रो गरेर दर्शकको मन जित्न मन लागेको सुनाइन् । ‘कबड्डी ३’ अगाडिकै सिरिजको निरन्तरता नभएको उनले बताइन् । उनी भन्छिन्, ‘यो एउटा काजीको स्टोरी हो । हामी पनि चलचित्रका नयाँ छौ । कथावस्तुमा पनि दर्शकले नयाँ कुरा पाउनुहुन्छ ।’ सिरिज अगाडि बढ्दै जाँदा त्यसको गुणस्तर घट्दै गएको उदाहरण नेपाली चलचित्रमा प्रशस्त छन् । तर, उपासना भने ‘कबड्डी कबड्डी कबड्डी’मा गुणस्तर नघटेको स्पष्ट पार्छिन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार ०९:१९