सूचनाको शक्ति - The Power Of Information

        

सुत्केरी ब्यथा लागेर अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टरद्वारा महिलाको उद्वार

सत्यराज सिंह । बझाङ । तीन दिनदेखि सुत्केरी ब्यथा लागेकी एक महिलालाई हेलिकप्टरमार्फत जिल्ला अस्पताल सिमखेत ल्याइएको छ । साईपाल गाउँपालिका–१ धलौन घर भएकी २४ बर्षिया रामदेवी बोहरालाई जिल्ला अस्पताल चैनपुर ल्याइएको हो ।

पैदल यात्रा गर्दा चार दिन लाग्ने र गाडीसमेत नजाने बझाङकै विकट स्थानीय तहका रुपमा चिनिने साईपाल गाउँपालिकाकी बोहरालाई स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेपछि मंगलबार साँझ महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टरमार्फत जिल्ला अस्पताल सिमखेत चैनपुरमा ल्याइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

बोहरालाई सुत्केरी ब्यथा लागेर अत्यधिक रक्तस्राव भएको र बच्चाको भने मृत्यु भइसकेको अस्पतालले जनाएको छ । अहिले बोहराको स्वास्थ्यमा सुधार भएको र ब्यथा लाग्ने वित्तिकै स्वास्थ्य संस्थामा ल्याउन समस्या भएका कारण बच्चाको ज्यान गएको जिल्ला अस्पतालका सिमखेतका डा. सन्दिप ओखेडाले बताए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार ०७:४०