सूचनाको शक्ति - The Power Of Information

        

काँग्रेस कार्यकर्ताको झगडा, नेकपालाई दोष !

बाँकेको खजुरा गाउँपालिका वडा नं. १ का भुवनसिंह थापा र वडा नं. ७ का असलम भाटबीच फेसबुक पोष्टका बिषयमा विवाद बढिरहेको थियो । उनीहरु दुवै काँग्रेस कार्यकर्ता हुन् । भुवनले बोलेका कुराहरु असलमले सामाजिक सञ्जाल फेसवुकमा पोष्ट गरेपछि उनीहरुबीच विवाद बढेको थियो । विवाद प्रहरीसम्म पुगेको थियो । भुवनले असलमविरुद्ध २५ गते प्रहरीमा उजुरी दिएका थिए ।

नेपाली काँग्रेसले भदौ २६ गते बाँकेको खजुरा गाउँपालिका वडा नं. २ सीतापुरस्थित रेडक्रस भवनमा जागरण अभियान सञ्चालन गरेको थियो । केन्द्रीय प्रतिनिधि विद्या खनाल बोल्दाबोल्दै केही युवाहरु सो कार्यक्रममा प्रवेश गरी असलम भाटलाई खोज्छन् । असलम भाटले ती युवाहरुको भिडियो खिचिरहेका हुन्छन् ।

असलमविरुद्ध राधापुर चौकीमा उजुरी परेपछि भुवन र असलम पक्षबीच २६ गते विहान ९ बजे विवादका विषयमा छलफल तय हुन्छ । तर असलम २६ गते दिउँसो २ बजेसम्म छलफलका लागि नपुगेपछि भुवन पक्षका केटाहरु आक्रोशित देखिन्छन् । छलफलमा आउछु भनेर आफूहरुलाई घण्टौं कुराएपछि हामी उसलाई लिन आएका हुँ भन्दै भुवन पक्षले भनेपछि त्यहाँ हल्ला बढ्दै जान्छ ।

होहल्ला शुरु हुन्छ तपाईहरु को हो ? हाम्रो कार्यक्रममा किन प्रवेश गर्नुभयो ? यसरी घुस्न पाइँदैन । कार्यक्रम सकिन दिनुस कुरा गरौला भन्दै आयोजकले भनेपछि भुवन पक्षले कार्यक्रमसँग कुनै सम्बन्ध नभएको र हामी असलमलाई लिन आएका हौं भन्ने जवाफ दिन्छन् । त्यहाँ एकले अर्कालाई आक्रमण तथा हात हाल्ने काम कतैबाट पनि भएको छैन ।

तर त्यही बीचमा एक्कासी नेपाली काँग्रेस बाँके सभापति किरण कोइरालालाई हातमा हिर्काएको भन्ने आवाज त्यहाँ सुनिन्छ । अनि असलम भाटले अझै चर्को स्वरमा सभापतिमाथि हातपात भयो भनेर जोडले कराउँदै भिडियो बनाउँदै हुन्छन् । वास्तवमा त्यहाँ कोहीले कसैलाई एक झापडसम्म पनि हानेको छैन । र, स्वयम् नेपाली काँग्रेसका कार्यकर्ता असलम भाटले सार्वजनिक गरेको भिडियोमा पनि आक्रमण भएको कही कतै देखिदैन ।

बरु देखिन्छ त किरण कोइरालाले मलाई यसरी हिर्काए भनेर जोडले आफ्नो दाइने हातले देब्रे हातमा हानेको देखिन्छ । त्यहाँ कुनै आक्रमण भएको छैन भन्ने कुराको पुष्टि त्यो भिडियोले नै गरेको छ । सोही घटनालाई ठूलो रुप दिँदै नेपाली काँग्रेस, बाँकेले किरण कोइरालाको हात भाँचियो, दर्जनौ कार्यकर्ता घाइते, सांघातिक आक्रमण भयो, नेकपाका कार्यकर्ता जो सरकारबाटै सञ्चालित छन् ।

यो पार्टीमाथिको आक्रमण हो भनेर पत्रकार सम्मेलन गरेर नेपालगन्जमा सार्वजनिक गर्छ । र, यो घटना देशव्यापी भएको छ । कुनै पनि बहानामा अरुको शान्तिपूर्ण आन्दोलनमा प्रवेश गरेर हो होल्ला गर्न पाइँदैन । मुद्दा त्यतिमात्र काफी थियो राजनीतिकरण गराउनलाई तर, यसमा भएको नभएको झुठा कुरा र भ्रामक कुरा गरेर जनतामा भ्रम छर्नु उचित हो होइन यसको वास्तविकतामा गएर गर्नेहरुले नै सोच्नु पर्छ ।

सांघातिक आक्रमण भएको र, १२/१३ जना घाइते भने पछि त्यसको पुष्टि पनि त गर्नु पर्ने हो को को घाइते भए । चोट लागेको कहाँ छ । फेरी प्रहरी स्वयम घटनास्थलमा छ । कुनै पनि बाहानामा त्यहाँ घुस्न नहुने हो । उनीहरु घुसे गल्ती सोझै छ । यसमा कसैको दुई मत छैन । तर, जसरी नभएको आक्रमणलाई आक्रमण त्यो पनि सांघातिक भनेर अनर्गल प्रचार गरियो र, घटनालाई ठूलोरुप दिइएको छ यसले अगाडिका दिनमा कस्तो वातावरण बन्ला ।

जो कोही पनि वास्तविकता र सत्यमा जानु पर्छ । रह्यो सभापति किरण कोइरालाको हात भाँचिएको कुरा प्रहरीले नेपालगन्जसम्म ल्याएर छोडेको छ । त्यतिञ्जेल ठीक थियो भनिएको छ । यो कुरा स्वयम् काँग्रेस नेता कार्यकर्ताले सबै ठीक छ भनेपछि प्रहरी पनि ढुक्क भएर फर्किएको छ । एकैछिनमा हातमा प्लाष्टर लगाएर पत्रकार सम्मेलनमा प्रस्तुत हुँदा सबैको मनोविज्ञान अर्कै बन्यो । एकैछिन अगाडि नेपाली काँग्रेसका कार्यकर्ताहरु पार्टी कार्यालय जो पुगेका थिए उनीहरुले घटनाको वास्तविकताबारे कुरा गरिरहेका थिए ।

यो वास्तवमा पार्टीगत कुनै कुरा होइन बसेर समाधान गर्नुपर्छ भन्ने भनाई थियो । । तर एकैछिनमा सबै तै चुप, मै चुप भएको अवस्था हो । कुरा यतिमात्र हो कि यसलाई ठूलो रुपमा दिनु थियो भने सभापति कोइराला र अन्य घाइते भनिएकाहरुको प्रहरीको निगरानीमा मेडिकल चेकअप हुनुपथ्र्यो । किन गरिएन, किन भने अलि कति पनि कसैलाई कोतरिएको समेत छैन । तर, काँग्रेस भन्छ सांघातिक आक्रमण भयो ।

भदौ २६ गते साढे चार बजेको समयमा पत्रकार सम्मेलन पार्टी कार्यालयमा हुन्छ । सञ्चार माध्यममा नेकपाका कार्यकर्ताको आक्रमणबाट बाँके सभापति किरण कोइरालाको हात भाँचियो । स्थानीय, राष्ट्रिय मिडिया मात्र होइन सामाजिक सञ्जालमा पनि व्याप्त हुन्छ । त्यसपछि ठूलोरुप अझै हुँदै जान्छ । भोलीपल्ट विहान नेकपा बाँकेका अध्यक्ष आइपी खरेल र अशोक कोइरालाले आफ्नै ढंगबाट सभापति कोइरालालाई भेटेर पार्टीको कुनै नीति नियत होइन गलत भयो भनेर भनेका छन् ।

फेरि विज्ञप्ती प्रकाशित गरेर दुई पार्टीवीचको सहकार्य अझै आवश्यक छ, सहकार्यमै अगाडि जानुपर्छ । सभामा प्रवेश गरेको कुरा गलत हो भनेका छन् । प्रहरीले सभामा प्रवेश गरेको र होहल्ला मच्चाउने तीन जनालाई आवश्यक कारवाहीका लागि पक्राउ गरेको छ । अनुसन्धान गर्दैछ । काँग्रेस केही कुरालाई मान्दैन र भए नभएका मान्छेका नाममा मुद्दा दर्ता गराउन खोज्दैछ । यो मुद्दालाई देशव्यापी गराउने, संसद चल्न नदिनेजस्तो कुरा गरिरहेको छ आन्दोलन गरिरहेको छ केन्द्रसम्म ।

वास्तविकतामा जाने कि नजाने ? भुवनसिंह थापा र असलम भाट काँग्रेसकै कार्यकर्ता हुन् । उनीहरु दुई जनाको लडाईमा मिसिएका र केही नेकपाका कार्यकर्तालाई मुद्दा लगाउने कुरा गरिरहँदा घटनाको वास्तविकतामा जान जरुरी हुन्छ भन्ने लाग्छ । प्रहरीको भूमिकालाई दोष दिएको देखिन्छ । प्रहरीलाई कार्यक्रमबारे औपचारिकरुपमा सुरक्षा माग गरिएको थिएन । तर, जब होहल्ला भयो । ठूलो घटना हुन सक्छ भनेर खजुराबाट त्यहाँ पुगेको प्रहरीले थप फोर्स मागेको छ भने जिल्लामा काँग्रेसका नेताले आफै फोन गरेर सुरक्षा दिन भनेका छन् । तत्काल प्रहरी पुगेको देखिन्छ ।

कुनै पनि घटना घट्नु आफैमा दुखद हो । तर, घट्ना भएपछि यसको वास्तविकता जबसम्म बाहिर आउँदैन । तबसम्म मानिसहरु भ्रममा हुन्छन् र, राम्रो नराम्रो क्रियाकलाप अगाडि बढाउन सक्छन् । तर, वास्तविकता जानेपछि सबै कुरा छर्लङ हुन्छ र पक्षविपक्षभन्दा पनि वास्तविकतामा मान्छे प्रवेश गर्छ र सही ट्रयाक लिन्छ । त्यसकारण यो घटना पनि वास्तविकताभन्दा बाहिर गएकाले निष्पक्ष, निडर भएर सत्यतत्य पत्ता लगाई बाहिर ल्याउन मानवअधिकारकर्मी र पत्रकारले आफ्नो भूमिका र दायित्वलाई बिर्सिनुहुँदैन ।

अन्त्यमा अर्काको सभामा पुगेर जसरी होहल्ला भयो । यसको नैतिक जिम्मेवारी नेकपाले लिएको छ । जुन उद्देश्यले गए पनि गलत थियो भनेर नेतृत्वले भेटेर, औपचारिकरुपमा पत्रकार सम्मेलन गरेर र प्रेस विज्ञप्ती प्रकाशित गरेर भनिसकेको छ । त्यसकारण यसमा अल्झिरहन कदापी कसैका लागि पनि फाइदा छैन । हिजो लोकतन्त्रको स्थापना मात्र नभई संविधान जारी गर्न र हाल कानून निर्माण गरेर लागू गर्ने कुरा मात्र नभई नयाँ जो व्यवस्था यी पार्टी मिलेर ल्याएका हुन त्यसको संस्थागत गर्न सहकार्य जरुरी होला ।

देश बनाउन हिडेका पार्टीहरु वास्तविकता तोडमोड गरेर लड्न थाल्ने हो भने अर्को पक्षको प्रवेश निश्चित छ । यो मुद्दा राजनीतिकरण भइसकेकाले राजनीतिकरुपमै टुङ्याउँदा बेस होला । र, अहिलेसम्म जो जो ले जे गल्ती र कमजोरी गरे त्यो आत्मलाई नै साँक्षी राखेर आगामी दिनमा नदो¥याउन र घटनामा बास्तविक दोषी देखिएकालाई कानूनी दायरमा ल्याउँदै कानूनी शासनको प्रत्याभूतीसहित समग्र बाँकेको विकास र सभ्यतामा अघि रहेको खजुरा र खजुराबासीका लागि आपसी सहकार्य र समझदारीबाटै समस्या समाधान जरुरी छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार ०८:२१