बाँके । नेपालगन्जको बुलबुलियास्थित शव दाहस्थलबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पातल नेपालगन्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सतगतिका लागि आफन्तको जिम्मा लगाएको थियो ।
भेरी अस्पतालको प्रसूति कक्षमा खटिएका कर्मचारीको चरम लापरबाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई शव दाहस्थल पु¥याएपछि जीवित देखिँदा शुक्रबार पुनः अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । ६०० ग्राम तौल रहेको महिना नपुगेको शिशु (छोरी)को अस्पतालको एनआइसियु कक्षमा उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको हो ।
शिशुको मृत्यु भएपछि परिवार र आफन्तले शनिबार बिहानैदेखि अस्पतालमा आन्दोलनसमेत गरेका छन् । अस्पतालको चरम लापरबाहीका कारण उपचारार्थ शिशुको मृत्यु भएको उनीहरुको बुझाई छ । शुक्रबार बिहान प्रसूति कक्षमा खटिएकी नर्स ले जीवितै रहेको नवजात शिशुको मृत्यु भइसकेको घोषणा गरेका थिए । जाजरकोट, छेडागाड नगरपालिका–९ की २० वर्षीय कमला अधिकारीले शुक्रबार बिहान ५ः०० बजे शिशु जन्माएकी थिइन् ।
सामान्यरुपमा जन्मिएको शिशु केही घण्टापछि शिशुको मृत्यु भइसकेको भन्दै बच्चा जन्मिएको केहि घण्टापछि डिउटी इन्चार्ज बसुन्धरा ज्ञवालीले अभिभावकलाई बुझ्न लगाएकी थिइन् । अस्पतालले ज्यूँदै शिशु मरेको भनेर कमलाका पति मिलन अधिकारीलाई कागजातमा हस्ताक्षर गराएर सतगत गर्न बुझाएको थियो । मृत्यु भइसकेको भनिएको शिशुलाई गाड्न अस्पतालका कर्मचारीले दुई हजार मागेपछि अधिकारीले रकम नदिने भन्दै नेपालगन्ज बुलबुलियास्थित हिन्दु शव दाहस्थल लगेका थिए ।
शवदाह स्थलमा शिशुलाई गाड्न भनी खाल्डो खनेर तयार पारिसकिएको थियो । गाड्ने तयारी भइरहेका बेला शव दाहस्थलकी कर्मचारी कलावती नेपालीले शिशुलाई देखाउन भनिन् । कालो प्लास्टिकको झोलाबाट मिलनले शिशु निकालेर कलावतीलाई देखाए । कलावतीले शिशु जिउँदै रहेको भनेपछि मिलन रुँदै शिशुलाई लिएर फेरि भेरी अस्पताल पुगेका थिए । घटनाका बारेमा विस्तृत बताउदै कमलाका श्रीमान मिलनले भने, ‘घटनापछि अस्पताल प्रशासनले आफ्नो बचाउ गरिरहेको छ ।’
अस्पतालको लापरबाहीका कारण छोरीको मृत्यु भयो । दोषीलाई कानूनी कारबाही गरिनुपर्छ । पछिल्ला दिन भेरी अस्पतालमा देखिएको यस्ता विकृति, वेथिती र अस्पतालको गैरजिम्मेवारीका कारण सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । बेलाबेलामा हुने यसखाले घटनाले पश्चिम नेपालकै पुरानो र विश्वासिलो अस्पताल भेरी अस्पतालको छवि धमिलो हुँदै गएको छ । घटनापछि अस्पताल प्रशासनले आफ्नो बचाउ गरिरहेको छ भने पीडित परिवारले लापरबाही गर्ने कर्मचारीलाई कानूनी कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् ।
सत्यपाटी - ।