सूचनाको शक्ति - The Power Of Information

        

बैदेशिक रोजगारीको पीडा : हजारौं सुरुचीहरु रोइरहनेछन्, आँशुको मूल्य कसले खोज्छ र ?

आँखाको आँशु रोकिने कुनै छेकछन्दै थिएन । आँखामा हरेक पटक तगारो लगाउन आउने ति आँशुका थोपाहरुलाई पुछ्दै भाव विह्वल भइरहेका बुवा पटक पटक मुर्छा पर्न खोज्दा आफन्तहरुले सम्झाउँथे । आमा, दिदी बहिनी र श्रीमतिको हालत पनि उस्तै थियो । हप्ता दिनदेखि परिवार विक्षिप्त बनिरहेको थियो ।

घरमा खान नपुग्दो केही थिएन । गाउँमा बेरोजगार भएपछि विदेशिएको छोरा बामदेव सापकोटाको गाडी दुर्घटनाको खबर एकाएक सुनेपछि परिवारमा खुसी हराएको थियो । गाउँभरी सन्नाटा छाएको थियो । मृत्युको खबर परिवारका केही सदस्यलाई जानकारी भए पनि सबैलाई जानकारी दिइएको थिएन । श्रीमतिलाई अस्पतालको आइसियूमा राखिएको भनिएको थियो ।

सँगै जीउने र मर्ने कसम खाएको आफ्नो जोडी विदेशमा दुर्घटनाको खबर पाएपछि श्रीमतिका आँखाबाट आँशु निरन्तर चुहिरहेका थिए । बुवाआमा, दिदीबहिनी, आफन्तजनहरु उसैगरी निशब्द थिए । सबैलाई बामदेवलाई सम्झिरहेका थिए । सबैका मनमा पीडाका भेलहरु उम्लिरहेका थिए । धर्ती चट्टानजस्तै फाटेको थियो ।

कारुणीक रोदनभित्र मर्मसपर्शी सत्यताले आन्तरिक पीडा दिएको थियो । एक हप्तादेखि परिवारमा कालो बादल मडारिरहेको थियो । आकाश पनि रोइरहेको थियो । गाउँलेको खुसी हराएको थियो । परिवारमा ठूलो बज्रपात परेको पीडाले छटपटि भइरहेको थियो । कतारबाट नेपालमा शव छिटो ल्याउन पहल भइरहेको थियो । तर, बामदेवको मृत्यु परिवारका केही सदस्यलाई मात्रै थाहा दिइएको थियो ।

किनकी, सबैलाई शव नआउँदै जानकारी दिँदा सम्हाल्न गाह्रो हुने स्थिति थियो । त्यही भएर श्रीमतिलाई पनि बिरामी भएको भनिएको थियो । तैपनि श्रीमतिको मन न हो, बिरामी श्रीमानलाई केही तलमाथि हुने हो की भन्ने पीडा आँखामा देखिने आँशुका भेलहरुले देखाइरहेका थिए । श्रीमतिलाई मृत्युबारे भनिदिँदा थप कष्ट हुने भन्दै सबै कुरा सुनाइएको थिएन । बुढ्यौली चढेका बुवाआमा उसैगरी भक्कानिएका थिए ।

लालनपालन गरेर हुर्काएको छोरा खाउलाउको उमेरमा श्रीमती, आमाबुवा, दिदीबहिनी, काकाकाकी, दाजुभाई, आफन्त, छरछिमेक छोडेर संसारबाट विदा भएपछि वृद्धावस्थाका आमा बुवाको मनको भावले भनिरहेको थियो, ‘दैव पनि कति निष्ठुरी बनिस्, फक्रिएको फुलले कति सजिलै चुडाएर लगिस् ।’ २२ गते आइतबार विहानै शव घर आइपुग्ने भएपछि शनिबारदेखि बामदेवको घरमा आफन्तजनहरुको ओइरो लागेको थियो ।

श्रीमतिलाई पनि अन्तिम अवस्थामा मात्रै जानकारी गराइएको थियो । घरमा रुवाबास चलेको थियो । कोही मुर्छा परिरहेका थिए, उनकी श्रीमति बेहोस भएपछि अस्पताल पु¥याइएको थियो । काठमाडौंबाट शव बोकेर हिँडेको गाडी कहाँ पुग्यो भन्ने सोधीखोजी भइरहन्थ्यो । घरपरिवार, श्रीमति र आफ्ना सन्तानको भविष्य कोर्न पाँच महीनाअघि कतार पुगेका बामदेव बन्द बाकसमा कफनभित्र बेरिएर फर्किँदै थिए ।

आइतबार विहान ५ बजे बाकसभित्र फर्किएका बामदेवलाई श्रद्धान्जली दिन मानिसको भीड लागेको थियो । उनको मृत अनुहार पुछ्दै श्रीमतिले श्रीमान्को मृत शरीरमा अँगालो मारेर रोइरहेकी थिइन् । बुवाआमा, दिदी बहिनी, आफन्तहरु उसैगरी रोइरहेका थिए । सम्झाउनेहरुका आँखामा आँशु उस्तै बगिरहेका थिए । शव घरमा आइपुगेपछि राप्ती नदीमा अन्त्येष्टिको तयारी गरिँदै थियो । विहानैदेखि बादल एकनासले रोइरहेको थियो । आकाश खुल्न सकेको थिएन ।

बामदेवको मृत्युमा आकाश पनि रोइरहेको थियो, उनको पार्थिव शरीरलाई फुलमाला, अविर र टिका लगाएर अन्त्येष्टिका लागि घरबाट निकालिँदै थियो, सारा गाउँ स्तब्ध बन्यो । घरदेखि बव बाहनसम्म लैजाँदा बाटोका रुखविरुवासमेत ओइलाएर झोक्राएका थिए । खजुराको एक नम्बर बजारमा मौन र निशब्द थियो, शव बाहनसँगै मलामी बोकेका गाडी तथा मोटरसाइकलहरु नेपालगन्जतर्फ अघि बढिरहेको थियो ।

शवयात्रालाई नियाल्नेहरु पनि अमिलो मन बनाइरहेका थिए । नेपालगन्ज, फुलटेक्रा, पुरैनी, कम्दी हुँदै शव यात्रा राप्ती पुल तरेर नदी पारी पुग्यो । नदी पनि उस्तै रोइरहेको थियो । नदी एक तमासाले धमिलिएको थियो । नदी किनारमा चल्ने चिसो हावा पनि एकाएक रोकिएको थियो । लाग्थ्यो, नदीले सास पनि फर्ने छोडेको छ । पीडामा डुबेझैं पानीमा फिजका फोकाहरु बनेर बगिरहेका थिए । नदी किनार आसपासको आकाश पनि छिनभरमै कालोनीलो भयो ।

३१ बर्षे जवान चितामा जल्दै गरिरहेको दृष्य मलामीहरुले भावुक भएर नियालिरहेका थिए । कोही भन्दै थिए, ‘बेरोजगारीले सापकोटा परिवारलाई नराम्ररी पीडा दियो । चितामा शव जलिरहँदा राप्ती नदीको किनार उस्तै गम्भीर देखिएको थियो । आफन्त र मलामीहरुका आखाँबाट अश्रुधारा उसैगरी बगिरहेका थिए । भदौं १३ गते विहानै श्रीमतिसँग कुराकानी गरेका बामदेवले त्यही साँझ संसारबाट विदा भए ।’

बामदेवको उत्तराधिकारी चार बर्षको भयो । उसलाई आफ्ना बुवाको मृत्युबारे कुनै जानकारी छैन । न त उसको मनमा शोक देखिन्छ, न त खुशी नै देखिन्छ । उमेरले ३१ पुगेका बामदेवलाई विदेशमा कमाएर स्वदेशमा महल बनाउने सपना थियो । तर उनले आफ्नो सपनाको जगसम्म बसाउन पाएनन् । घरमा नपुग्दो केही नभए पनि बेरोजगार भएर गाउँघरमा बरालिनुभन्दा बिदेशमा गएर धेरै कमाउने आशमा बाकसभित्र फर्किनुप¥यो ।

त्यसो त उनी यसअघि पनि धेरै पटक विदेश गइसकेका थिए । दिनहुँजसो घरमा फोन गरिरहने बामदेवको कतार बसाई नराम्रो थिएन । हाँसीखुशी श्रीमान् श्रीमतिबीच भविष्यका कुरा हुन्थे । अझ श्रीमतिको पेटमा पाँच महीनाको नवजात अर्को उत्तराधिकारी हुर्किरहेको छ । पेटमा हुर्किरहेको शिशुले यस धर्तीमा जन्म लिए पनि बुवाको माया भने पाउने छैन । पेटमा हुर्किँदै गरेको नवजात शिशुलाई सम्झिएर आँखाभरी आँशु नबनाउने ससायदै कोही छैन ।

चार बर्षे छोरा र पेटमा हुर्किँदै गरेको नवजात शिशुको भविष्यलाई सुन्दर बनाउनका लागि अब श्रीमति एक्लैले संघर्षका पहाडहरुलाई छिचोल्नुपर्नेछ । एक अवोध बालक र पेटमा हुर्कँदै गरेको नवजातको जिम्मा श्रीमान्ले पनि श्रीमति सुरुचीकै जिम्मा सुम्पिदिए । उनीहरुको त्यो जाँगर र हौसलाले उत्साहित बनाएको ती सपनाहरुलाई कतारको दुर्घटनाले कालो दिन सावित गरिदियो । दुर्घटनमा परेर बामदेवका प्राण पखेरु विदेशी भूमीमा उडे ।

सापकोटा परिवारमा भगवानलाई दोष दिनुबाहेक अरु कुनै विकल्प पनि छैन । सबैभन्दा बढी श्रीमती शोकमा छिन् । उनका लागि जहाँ टेक्यो त्यही भास्सिएको छ, संसार अँध्यारो भएको छ । पैसा कमाउन परदेशिएका श्रीमान काठको बाकसमा बन्द भएर आए । पटक पटक बगिरहने आँशु र रुँदा रुँदै थाकिसकेको त्यो आँखाले उनको पीडाको परिचय दिइरहेको थियो । श्रीमान सम्झेर धेरै विहान र साँझ वित्छन् तर छोराछोरीका लागि भए पनि अव उनी सामु संघर्षको विकल्प नै रहेन ।

दाहसंस्कार गरिसक्दा समेत बामदेवको मृत्यु पत्यारलाग्दो बनेको छैन । अझै पनि कतारमै काम गरिरहेको होलान् जस्तो लागिरहेको छ । परिवारका सदस्यहरुलाई अझै पनि मृत्यु सपनाजस्तो लाग्छ, तर विश्वास नगरी करै छैन । वर्तमान नेपाली समाजमा यो त केवल एक प्रतिनिधि उदाहरण मात्र हो । नेपालबाट दैनिक सरदर १२ देखि १५ सय नेपाली कामदार उज्वल भविष्यको सपना बोकेर खाडी तथा मलेसिया लगायतका देश उडिरहेछन् ।

अर्कातिर त्यसरी नै गएकामध्ये दैनिक करिव ३ देखि ५ जना बाकसमा बन्द भएर फर्किरहेका छन् । देख्नेका लागि केवल यो एउटा संख्या मात्र हो । तर भोग्नेका लागि सवैथोक हो । कमाउने उमेरको मान्छे बाकसमा बन्द भएर फर्केपछि परिवारका धेरै सपनाहरु त्यहि बाकससँगै जल्छन् । तथ्याँकले भन्छ, गत आर्थिक बर्षमा नेपालीले विदेशबाट ६ खर्ब १७ अर्ब रकम कमाएर पठाए । देश त्यहि पैसाले चल्यो ।

तर त्यहि पैसा कमाउन हजारौं माइल टाढा पुगेको एउटा नेपाली काठको बाकसमा बन्द भएर फर्किएको के राज्य संयन्त्रले देख्छ त ? त्यो परिवारलाई आइपरेको आपत देख्छ त ? नेपाल सरकारले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन अव गम्भीर चिन्तन गर्नुपर्छ । अन्यथा देश नौजवानहरु पठाएर लाश बुझ्दै त्यसको बदलामा प्राप्त हुने रेमिट्यान्सको हिसावकिताव गरिरहनेछ । कतै दुरदराजमा हजारौं सुरुचीहरु रोइरहनेछन् । त्यो आँशुको मूल्य कसले खोज्छ र ?

स्वर्गीय बामदेवप्रति हार्दिक श्रद्धा सुमन ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार ११:१४