सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालको चरम लापरबाही, ज्यूँदै बच्चालाई मृत घोषित गरेपछि…

बाँके । सुत्केरी बेथा लागेपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज विहानै करिब ५ बजे सामान्यरुपमै बच्चा जन्मियो । बच्चा जन्मिएको केही समयमा अस्पतालले बच्चाको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई जानकारी गरायो ।

भेरी अस्पतालको प्रसुती कक्षमा कार्यरत अस्पताल कर्मचारीले बच्चाको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनमा राखेर अन्तिम संस्कारका लागि बच्चा थमाइयो । सन्तान जन्मिएपछि खुशी भएका श्रीमान् मिलन एकाएक मलिन अनुहार बनाउँदै अन्तिम संस्कार गर्ने तयारी गर्न थाले ।

छेडागाड नगरपालिका–९, जाजरकोटकी २० वर्षिय कमला अधिकारीको बच्चालाई भेरी अस्पताल नेपालगन्जले मृत घोषित गर्दै अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाएपछि कमलाका श्रीमान् मिलनले अन्तिम संस्कारका लागि नेपालगन्जस्थित बुलबुलियातर्फ लैजाँदै गर्दा बच्चा बिचबाटोमै चल्मलायो ।

‘प्रसुती कक्षका कर्मचारीले तपाईको बच्चा मरेको भन्दै पोलोथिनमा राखेर बच्चा दिए । दुखी हुँदै हामी पनि बच्चालाई सतगत गर्न बुलबुलियातर्फ लैजादै गर्दा बच्चा चल्मलाएपछि तुरुन्त अस्पताल ल्यायौं,’ घटनाको विवरण सुनाउँदै मिलनले भन्नुभयो, ‘ज्यूँदो बच्चालाई मृत घोषित गर्दै भेरी अस्पतालले गाड्न पठायो । यो अस्पतालको चरम लापरबाही हो कारबाही गरिनुपर्छ ।’

उनले मरेको बच्चालाई गाडिदिने भन्दै अस्पतालका कर्मचारीले आफूसँग रु.दुई हजार रकमसमेत माग गरेको बताए । ‘एकातिर ज्यूँदो बच्चालाई मरेको भनेर गाड्न लगाउँछ त्यसैमा अस्पताल कर्मचारीले हामीसँग बार्गेनिङ गर्दै बच्चा गाड्ने रकम माग्छ । यो कहाँको कानून हो । कर्मचारीले कपडा धोएको रु.पाँच सय र बच्चालाई गाडेको रु.१५ सय गरी रु.दुई हजार मागेपछि हामी आफै गाड्छौं भनेर लैजाँदै गर्दा बच्चा चल्मलायो,’ मिलनले भने ।

बच्चालाई अहिले आइसीयुमा बच्चा भर्ना गरिएको छ । भेरी अस्पतालको रेकर्ड अनुसार कमलाको २३ हप्तामा छोरीको जन्म भएको हो । सकुशल जन्मिएको बच्चाको तौल ६ सय ग्राम रहेको छ । गर्भवती भएदेखि नै अस्पतालकी डा. उर्मिला पराजुली रिसालसँग नियमित चेकजाँच गरिरहेकी कमला चेकजाँचकै लागि बिहीबार नेपालगन्ज आएकी थिइन् ।

नवजात शिशुलाई भेरी अस्पताल प्रसुती कक्षमा कार्यरत कर्मचारीको चरम लापरबाहीका कारण मृत घोषणा गरेपछि पीडितहरुले दोषीलाई कारबाहीको माग गरेका छन् । कमलाका श्रीमान मिलनले भने, ‘यसअघिको हाम्रो बच्चा खेर गयो । सन्तानको नाममा पहिलो बच्चाका रुपमा छोरी पाएका थियौं । तर, अस्पतालका कर्मचारीका कारण ज्यूँदै बच्चालाई गाड्न लगाइयो ।’

यस विषयमा बुझ्न खोज्दा भेरी अस्पतालका मेडिकल सुपिरिटेन्ट रुपानन्द अधिकारीसँग सम्पर्क हुन सकेन । उनको मोवाइल बन्द गरिएको छ । पछिल्ला दिन भेरी अस्पतालमा देखिएको यस्ता विकृती, वेथिती र अस्पतालको गैरजिम्मेवारीका कारण सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । अस्पतालले हचुवाका भरमा गर्ने निर्णयका कारण विरामीले सरल र सुलभ स्वास्थ्य उपचार पाउन नसकेको सेवाग्राहीको गुनासो छ ।

बेलाबेलामा हुने यसखाले घटनाले पश्चिम नेपालकै पुरानो र विश्वासिलो अस्पताल भेरी अस्पतालको छवि धमिलो हुँदै गएको छ भने गल्ती गर्ने कर्मचारीलाई न त अस्पताल प्रशासनले नै कारबाही गरेको छ । न त यस्ता गल्ती दोहोरिन नदिन कुनै आवश्यक कदम चालिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार १०:३८