सूचनाको शक्ति - The Power Of Information

        

ल्याण्डफिल साइडको उद्घाटन गर्दै मन्त्री राईले भने, ‘फोहर व्यवस्थापनको समस्या टर्‍यो’

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२३ हिरमिनियामा निर्माण भएको अत्याधुनिक ल्याण्डफिल साइडको औपचारिकरूपमा बिहीबार उद्घाटन गरिएको छ । उपमहानगरपालिका क्षेत्रमा उत्पादन हुने फोहर व्यवस्थापनका लागि हिरमिनियामा ल्याण्डफिल साइट निर्माण गरिएको हो ।

एशियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजना अन्तरगत ३८ करोड ९३ लाखको लागतमा निर्माण पुरा भएको उक्त अत्याधुनिक ल्यान्डफिल साइडको बिहीबार शहरी विकासमन्त्री मोहमद इस्तियाक राईले औपचारिकरूपमा उद्घाटन गरेका हुन् । ल्याण्डफिल साइडको उद्घाटन गर्दै शहरी विकास मन्त्री राइले फोहोर ब्यवस्थापनका लागि अब कुनै समस्या नहुने जिकिर गर्दै फोहर व्यवस्थापनको समस्या टरेको बताए ।

नेपालन्जमा निर्माण गरीएको ल्याण्डफिल साइड देशकै नमुना हुने बताउँदै मन्त्री राइले समग्र जिल्लाकै फोहोर ब्यवस्थापनमा प्रभावकारी रहने विश्वास ब्यक्त गरे । विहिबारबाट सञ्चालनमा आएको ल्यान्डफिल साइटमा ३५ टनसम्म फोहोर प्रशोधन गर्न सकिन्छ भने दैनिक ८ टनसम्म फोहोर प्रशोधन गर्न सकिन्छ । ल्यान्डफिल साइटमा फोहोर छुट्याउने, फोहोर पानी र फिल्टर गरिएको पानी फाल्ने ट्याङ्की लगायतका संरचनाहरु निर्माण गरिएको छ ।

ल्यान्डफिल साइटमा नेपालगन्ज नगरका शौचालयबाट लगिएको फोहोर भण्डारण गर्ने ट्यांकीको समेत ब्यवस्था गरिएको छ । उपमहानगरभित्र दैनिकरुपमा उत्पादन हुने फोहोर संकलनका लागि ११ हजार थान ‘डस्टबिन’को ब्यवस्था गरिएको र छिट्टै वितरण गरिने बताइएको छ । फोहोर संकलन गर्न चारवटा गाडीका साथै ल्यान्डफिल साइटकालागि आवश्यक पर्ने १२ वटा ई–रिक्सासमेत तयारी अवस्थामा राखिएको छ ।

नेपालगन्जबाट करिब आठ किलोमिटर दुरीमा पर्ने हिरमिनियामा उपमहा नगरपालिकाकाले साढे १३ बिघा जग्गा खरिद गरेर निर्माण ल्याडफिल साइड निर्माण शुरू गरेको थियो । उक्त ल्यान्डफिल साईडको निर्माण चार बर्षमा पुरा गर्ने सहमति भएपनि यसअघि नेपालगन्ज उपमहानगरपालिका निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनीको लापरवाही र ढिलासुस्तीले तोकिएको समयमा काम हुन सकेको थिएन ।

बातावरण तथा सरसफाई शाखाका अनुसार नेपालगन्जमा दैनिक २५ देखि ३० टन फोहर जम्मा हुने गरेको छ । ल्याण्डफिल्ड साइटमा दैनिक २६ टन फोहर भण्डारण गर्न सकिने देखिएको छ । उक्त योजना २०७३ भदौं २८ गते २० महिनाभित्र निर्माण पुरा गरिसक्ने भनि सम्झौता भएको थियो । तर, ल्याण्डफिल साइडको जग्गाभित्रको क्षेत्रमा केही ब्यक्तिको नाममा जग्गा पाइएपछि बिवाद बढ्दै जाँदा विगतमा करिब एकबर्ष जति काम नै रोकिएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १९:३७