सत्यराज सिंह । बझाङ । नागरिकको जीउधन र शान्ति सुरक्षाका लागि दिनरात खटिने नेपाल प्रहरीले पछिल्लो समय सामाजिक कुरिती र विभेदहरु हटाउन विभिन्न अभियान सञ्चालन गर्न थालेको छ । फुसर्दको समयमा प्रहरीले नागरिक समाज र विभिन्न सामाजिक संघ संस्थाहरुको सहकार्यमा समाज सुधार्न सक्रिय हुन थालेको छ ।
यसले जिल्लाका नागरिकहरुमा प्रहरीप्रतिको धारणा थप सकारात्मक बनेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय बझाङले जिल्लाका विभिन्न गाउँमा महिला हिंसा, बालविवाह, सामाजिक विभेद, घरेलु हिंसा तथा मानव बेचविखनजस्ता कुरितीविरुद्ध अभियान थालेको छ ।
समाजमा रहेका कुप्रथाहरुको सुधारका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको सुर्मा सामुदायक प्रहरी सेवा समितिका अध्यक्ष अर्जुन बुढाले बताए । उनले भने, ‘प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम लागु गरेपछि अपराध नियन्त्रणका साथै प्रहरीलाई नागरिकप्रति उत्तरदायी बनाउन विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।’
जिल्ला प्रहरी कार्यालयको अगुवाइमा जिल्लाका सरोकारवाला सहभागी मानव बेचविखनको १३ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा सदरमुकाम चैनपुरमा विभिन्न कार्यक्रम गरिएको छ । प्रहरीको अगुवाईमा विभिन्न सामाजिक कार्यहरु हुन थालेपछि समाजमा पनि राम्रो सन्देश गएको नागरिक अगुवाहरुले बताएका छन् ।
जयपृथ्वी नगरपालिकाकी उपमेयर जुना जाग्रीले भनिन्, ‘प्रहरीले सञ्चालन गरेका सचेतनामूलक कार्यक्रमहरु प्रभावकारी देखिएका छन् ।’ प्रहरीले यसअघि पनि ‘प्रहरी मेरो साथी’ कार्यक्रम गरेर प्रहरी र नागरिकप्रतिको सम्बन्धलाई झन् गाढा बनाएको थियो । प्रहरी देख्ने वितिकै गाउँघरमा डराउने प्रचलन अझै पनि कायमै छ ।
तल्कोट गाउँपालिकाका अध्यक्ष लालबहादुर बिष्टले भने अहिले प्रहरीले गाउँबस्ती, विद्यालय तथा स्थानीय तहहरुमा समुदाय प्रहरी साझेदारी समुह बनाएर स्थानीयको सहभागितामा सामाजिक कुरिती, विभेद र अपराधका घटनाहरु न्युनीकरण गर्न बैठक, छलफल, गोष्ठी, सडक नाटक लगायतका सचेतनामूलक कार्यक्रम गर्न थालेपछि प्रहरीको प्रशंसा हुन थालेको छ ।
प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले पनि समुदाय प्रहरी साझेदारी कार्यक्रमले समाजमा बालविबाह बहुविबाह सामाजिक कुरिती, विभेद हटाउन नागरिकहरुमा चेतना दिएको बताए । उनले भने, ‘समाजमा विभिन्न धर्म, संस्कृति, चाडपर्वहरु रहेका छन्, यस्तो अवस्थामा हामीले समाज सुधारका लागि सचेतना दिँदै आएका छौैं ।’ अहिले प्रहरीले जिल्लाका सबै स्थानीय तहमा समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।
सत्यराज सिंह - ।