सूचनाको शक्ति - The Power Of Information

        

किन छापिदैनन् २५ र २५० रुपैयाँ दरका नोट ?

बाँके । कुनैबेला ब्यक्तिको हात–हातमा रहने साना दरका नोट यतिवेला मुस्किलले देख्न पाइन्छ । लोप झै भएका यी साना दरका नोट पाउँदा अनौठो समेत लाग्न थालिसकेको छ । सामान खरिद गर्दा होस् वा बचेको रुपैयाँ फिर्ता लिदाँ होस् साना दरका नोट देखियो भने हामी तुरुन्त लिन्छौं । जोगाएर राख्ने गर्छौं । तर, पछिल्ला समय ब्यापार ब्यवसाय र आर्थिक कारोबारमा आएको परिर्वतनले यतिवेला यस्ता साना दरका नोट हराउन थालेका छन् ।

सामानमा भएको मूल्यबृद्धि र आर्थिक कारोबारमा आएको नयाँ परिर्वतनले यस्ता नोट विस्थापित हुदै गएको हो । मूल्यबृद्धिका कारण अहिले एक–दुई रुपैयाँले चक्लेटसम्म नआउने भएपछि विस्तारै ती दरका नोट र सिक्का मूल्यहीन बन्न पुगेका हुन् । विज्ञहरूले यसलाई नेपाली रुपैयाँ अवमूल्यन भन्ने गरेका छन् । प्रत्येक वर्ष वस्तुको मूल्य बढेको बढ्यै छ । त्यस्ता वस्तु खरिद गर्न बढी रकम चाहिन्छ । ठूलो झोलामा पैसा लगेर सानो झोलामा सामान ल्याउने अवस्था आउन थालेको छ ।

दैनिक उपभोग्य वस्तु तरकारी, दाल, चामल, पिठो, नुन, तेल लगायत वस्तुको भाउ अचाक्ली बढेको छ । लत्ताकपडा, भौतिक निर्माणका सामग्रीको मूल्य पनि बढेको बढ्यै छन् । वस्तुको मूल्य बढेसँगै साना दरका नोट पनि विस्थापित हुन थालेका हुन् । राष्ट्र बैंकले १ र २ रुपैयाँका कागजी नोट पनि छाप्न छाडिसकेको छ । अझ पछिल्लो समय ती दरका सिक्का पनि कम छाप्न थालेको छ । त्यस्तै राष्ट्र बैंकले ५ र १० रुपैयाँ दरका नोट पनि कम छाप्न थालिएको बुझिएको छ ।

राष्ट्र बैंकले अहिले ५, १०, २०, ५०, १००, ५०० र १००० रुपैयाँका नोटहरु मात्र छापिरहेको छ । नेपाली बजारमा एकपटक निकै प्रचलनमा आएका २५ र २५० रुपैयाँ दरका नोट राष्ट्र बैंकले छाप्न उहिल्यै छाडिसेको छ । यसमध्ये २५ रुपैयाँको नोट नछापिनुको कारण रोचक छ । नेपाल राष्ट्र बैंकले २५ रुपैयाँ दरका नोट छाप्न छाड्नुको कारण के भने हिसाब मिलानमा समस्या आएपछि केन्द्रीय बैंकले उक्त दरका नोट छाप्न छाडेको तथ्य बाहिर आएको हो ।

केही वर्षअघि राष्ट्र बैंकले २५ रुपैयाँ दरका नोट छापेको थियो । तर, ती नोट एकपटक छापेपछि हिसाब मिलानमा समस्या देखिएपछि एकाएका छाप्न बन्द भएको थियो । पछि २५ रुपैयाँ दरका नोट छाप्ने चेष्टा राष्ट्र बैंकले गरेन् । हिसाब मिलान र वितरणमा समस्या आएपछि २५ रुपैयाँ दरका नोट छाप्न छाडिएको थियो । यस्तो भएपछि अर्को पटकदेखि छाप्नै छाडियो । रकम गन्नमै गडबड हुन थालेपछि राष्ट्र बैंकले उक्त नोट पुनः छाप्ने चेष्टा समेत गरेन ।

हिसाब गर्दा जहिले पनि बिजोड (अड) नम्बर आउने भएकाले २५ रुपैयाँ दरका नोट व्यावहारिक नभएको भन्दै यस्तो गरिएको थियो । विश्वका अन्य देशमा पनि बिजोड नम्बरका नोट चलनचल्तीमा छैन । हजारले भाग जाने नोटहरू बढी व्यावहारिक हुन्छ । अझ उक्त नोट झट्ट हेर्दा ५०० दरका जस्तै देखिँदा दुरुपयोग बढी हुन थालेको थियो । राष्ट्र बैंकले १० रुपैयाँ दरका पोलिमर नोट पनि छापेर चलनचल्तीमा ल्याएको थियो ।

ती नोट पनि अन्य नोटभन्दा छिटो खुइलिएको भन्दै छाप्न छाडेको छ । राष्ट्र बैंकले परीक्षणको रुपमा उक्त नोट बजारमा ल्याए पनि टिकाउ र भरपर्दो नभएका कारण पुनः प्रयोगमा ल्याउन छाड्यो । यसरी हेर्दा ब्यापार व्यवसाय तथा मूल्यबृद्धिका कारण पछिल्ला समय साना दरका नोटहरु लोप हुदै गएका छन् । अझ यसलाई राष्ट्र बैंकले पुनःछापेर चलनचल्तीमा ल्याउने चेष्टासमेत गरेको छैन ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार १३:३४