सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जलाई महानगर बनाउन डिपिआर तयार गर्ने निर्णय

बाँके । नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन विस्तृत परियोजना प्रस्ताव (डिपिआएर) तयार गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकले महानगरपालिकाका लागि आवधिक योजना निर्माण गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिका नगर कार्यपालिकाले महानगर निर्माण गर्न आवश्यक पर्ने पूर्वाधारसहित श्रोतको खोजी गरी आवधिक योजना आगामी नगरसभामा पेश गरिनेछ । नगर प्रमुख डा.धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले नगरभित्रका सबै घरपालुवा पशुचौपायाको ट्रयाकिङ्ग गर्न घरधुरी सर्वेक्षण गर्ने निर्णय गरेको छ ।

खुला सीमाका कारण भारतबाट भित्रिने छाडा पशु चौपाया नेपालगन्जको ठुलो समस्या भएपछि नगर कार्यपालिकाको बैठकले भारतबाट भित्रिने छाडा पशुचौपाया भित्रिन नदिन जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । यसैगरी अस्पताजन्य फोहोर व्यवस्थापन कार्यक्रम अन्तरगत फोहर उत्पादनको मात्रा एकिन गर्नका लागि जिआइजेडसँग अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार १९:३३