सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज–लखनऊ मैत्री बस सेवा सञ्चालन हुँदै, भारतीय पर्यटकलाई सहज

बाँके । भारतीय शहर लखनऊसम्म अब नेपालगन्जबाट नेपाल–भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगन्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौता अनुसार भदौ २२ गतेदेखि नेपालगन्ज–लखनऊ नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्न लागेको हो ।

प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार प्रत्येक दिन उत्तरप्रदेश परिवहन निगम र भेरी यातायात प्रालिको एक–एक बस नेपालगन्जबाट लखनऊ र लखनऊबाट नेपालगन्जका लागि सञ्चालन हुनेछन् । भेरी यातायातले भारतको लखनऊ, नयाँदिल्ली र हरिद्वारका लागि मैत्री बस सेवा सञ्चालन गर्न सरकारबाट अनुमति प्राप्त गरेको छ ।

सोही आधारमा पुसदेखि वैधानिकरूपमा नेपालगन्ज–दिल्ली मैत्री बस सेवा सञ्चालन गर्दै आएकोे भेरी यातायातले अब उत्तर प्रदेशको राजधानी लखनऊका लागि नेपालगन्जबाट सीधा बस सेवा सञ्चालन गर्न लागेको हो । बिरामी तथा किनमेल गर्न जानेहरुको सुविधालाई ध्यानमा राखी बस सेवा सञ्चालन गर्न लागेको अध्यक्ष गिरीले बताए ।

नेपाल–भारत मैत्री बस सञ्चालनसँगै नेपालगन्जबाट लखनउसम्म आउजाउ गर्न सहज र सुविधायुक्त हुने विश्वास गरिएको छ । यसअघि नेपालगन्ज–दिल्ली नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएको भेरी यातायात प्रालिले नेपालगन्जको कारकाँदो चौकमा टिकट काउन्टर राखेर नेपालगन्जबाट लखनऊको लागि विहान ८ बजे र लखनउको केशरबागबाट राती सवा ९ बजे बस सञ्चालन हुने जनाएको छ ।

अहिले सीमावर्ती भारतीय बजार रुपैडिहाबाट ट्याक्सी तथा बस चढेर लखनऊ जानुपर्ने बाध्यता छ । लखनऊबाट फर्किँदा रुपैडिहासम्म यातायातका साधन सहजरूपमा नपाउने र रुपैडिहाबाट फेरि अर्को सवारी साधन चढेर नेपालगन्ज आउनुपर्छ । ‘सीधा बस सेवा सञ्चालन भएपछि यो बाध्यता हट्छ,’ होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले भने । बस सेवाले नेपाल घुम्न आउने भारतीय पर्यटकलाई समेत सहज हुनेछ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार ०९:४८