
बाँके । खजुरा गाउँपालिका–४ एफगाउँ मन्दिर टोलकी गौरी सुनार ४६ वर्षकी भइन् । विद्यालय कहिल्यै नगएकी उनले बाल्यकालमा शिक्षा हासिल गर्ने अवसर पनि पाइनन् । बिहेपछि घरव्यवहार छोराछोरीको जिम्मेबारीले झनै उनलाई बाँधेर राख्यो । गाउँमा चलेको साक्षर अभियानले उनलाई पनि आकर्षण गर्यो र उनी पनि आफ्नो नाम लेख्न र लेखेको कुराहरु पढ्न सक्ने भएपछि आफुलाई कसैले अन्धकारमा राख्न नसक्ने भन्दै साक्षर बन्ने सोंचमा पुगिन् । अहिले सुनारको अवस्था फेरिएको छ ।
कृषि पेसा गर्ने उहाँले अन्न बेच्दा होस् या खसीबाख्रा बेच्दा होस् सजिलै हिसाब राख्न सक्छिन् । शिक्षाको महत्व राम्ररी बुझेकी उनले आफ्ना चार छोराछोरीलाई उच्च शिक्षा हाँसिल गराइरहनु भएको छ । यस्तै बुद्ध टोलकी ५३ वर्षिय चुकु महतारा पनि साक्षर अभियानमा सहभागी भएपछि सामान्य लेखपढ गर्न सक्ने भएकी छन् । सामान्य हिसाव गर्न र आफ्नो नाम लेख्न अनि पढ्न सक्ने भएकोमा उनी मख्ख परेकी छन् । वडा नं.४ कै भण्डारीयाकी राजिया शेखलाई पनि सामान्य लेखपढ गर्न आउँदैन्थ्यो ।
भारतबाट बिहे गरेर नेपाल आएकी उनले साक्षर कक्षामा सहभागी भएपनि केहि नेपाली बोल्न र लेख्न सिकेकी छन् । यतिमात्रै होइन, तीन सन्तानकी आमा उनलाई आफ्ना छोराछोरीले पनि पढ्न लेख्न सिकाउने गर्छिन् । जसले गर्दा आफुलाई पढ्न सजिलो भएको उनी बताउँछिन् । खजुरा गाउँपालिकाको भण्डारीया, पार्वतीपुर र ईगाउँमा साक्षर कक्षा सहयोगी भगवती योगीले आफुले हालसम्म ६० जनालाई साक्षर बनाएको बताइन् ।
केहीलाई समुहमा राखेर र केहीलाई घरदैलोमै साक्षर कक्षा सञ्चालन गरेर सहयोग गरेको जानकारी दिइन् । आफ्नो नाम पनि लेख्न नसक्नेहरु अहिले नाम मात्रै होइन अरु कुराहरुमा पनि सुधार भएको उनको अनुभव छ । गाउँपालिकाको विकासका लागि शिक्षा क्षेत्रको विकास हुनु अतिनै आवश्यक रहन्छ । खजुरा गाउँपालिकालाई साक्षर घोषणा गर्न सम्बन्धित वडाको अगुवाइमा विद्यालयका शिक्षक, पदाधिकारी र विद्यार्थीहरुसँगको समन्वयमा गाउँपालिकालाई साक्षर बनाउन योग्य बनाएको छ ।
खजुरा गाउँपालिकामा २९ हजार २८ जना महिला र २८ हजार ४ जना पुरुष गरी कुल ५७ हजार ३२ जनसंख्या रहेको छ । जसमध्ये १५ वर्षदेखि ६० वर्षसम्मको जनसंख्यालाई आधार मान्दा यो उमेर समुहको जनसंख्या ३८ हजार ९०१ जना रहेको छ । जसमध्ये साक्षर जनसंख्या ३७ हजार ८१६ जना रहेको खजुरा गाउँपालिकाको शिक्षा शाखाको तथ्यांक छ । सबै वडाको १५ देखि ६० वर्ष उमेरको साक्षरता ९६.९९ प्रतिशत रहेको छ ।

१५ देखि ६० वर्षसम्मका कुल जनसंख्यामध्ये ३.००१ प्रतिशत निरक्षरलाई पनि एक वर्षभित्रै साक्षर गराउने र सोही अवधिभित्रै अनिवार्य निशुल्क आधारभूत शिक्षा शुनिश्चितता भएको घोषणा गरिने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जनाए । नेपाल सरकारले पनि शिक्षा क्षेत्रलाई विशेष महत्व दिँदै प्राथमिकताका साथ प्रभावकारी बजेट तथा कार्यक्रमहरु ल्याएको छ, जसले गर्दा सामुदायिक विद्यालय र त्यहाका विद्यार्थीहरुको भविश्य उज्यालो बनिरहेको छ ।
‘विगतमा छोरालाई मात्र विद्यालय पठाउनुपर्छ, उसलाई जागिरे बनाएपछि बुढेसकालमा पाल्छ, सुख दिन्छ, तर छोरीलाई पढाएर केही काम नहुने भन्दै छोरीको शिक्षाको कुनै पनि औचित्य नदेखेको हाम्रो समाजले अहिले आएर राम्रोसँग शिक्षाको महत्व बुझेको छ, अब त छोरीलाई मात्र होइन उमेर छिपिँदै गएका आमाहरुलाई पनि साक्षर बन्नका लागि कम्मर कसेर पढ्ने वातावरण बनिसकेको छ,’ गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले भनिन् । विद्यार्थीहरुका अभिभावकहरु शिक्षित भए भने उनीहरुले विद्यालयमा पनि राम्रो शिक्षाका लागि दवाव तथा प्रभाव पार्न सक्छन् ।
जसले गर्दा विद्यालयमा हुने कमी कमजोरीहरु पहल्याउन सकिन्छ र सुधार गर्न पनि सकिन्छ । ‘अभिभावक शिक्षित भए भने विद्यार्थीले घरमा पनि सिकाइमैत्री वातावरण पाउँछन्,’ उपाध्यक्ष विकले भनिन्, ‘घर अनि समाजमा शिक्षित व्यक्ति भए पनि घरेलु हिंसा, महिला हिंसालगायतका अपराधिक गतिविधिहरुमा पनि कमी भएर जाने गर्छ जसले गर्दा खजुरालाई सभ्य गाउँपालिका बनाउन सकिन्छ ।’ खजुरा गाउँपालिकामा मधेसी समुदायको बाहुल्यता रहेको छ । विगतमा शिक्षाको पहुँचबाट टाढा रहेको यो गाउँपालिका अहिले शैक्षिक क्षेत्रका रुपमा चिनिन्छ ।
खजुरामा धेरै शिक्षित व्यक्ति, शिक्षित समाज र अध्ययन गर्दै गरेका बालबालिकाहरु सहजै देख्न सकिन्छ । नेपाल सरकाले पनि सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विद्यालय वा बालबालिकालाई प्रोत्साहनमा विभिन्न अनुदान सहयोगहरु प्राप्त भइरहेकाले शिक्षाले राम्रै गति लिइरहेको छ । सबै बालबालिकाहरुलाई विद्यालय भित्र्याउन गाउँपालिकाले विभिन्न सहयोग गर्दै आएको छ । खजुरामा ३० वटा सामुदायिक, १७ वटा मदरसा र १८ वटा संस्थागत गरि ६५ वटा विद्यालय सञ्चालनमा छन् ।
आधारभूत ४३ वटा र माध्यामिक २२ वटा विद्यालय छन् भने दुई वटा सामुदायीक र नीजि क्याम्पस, दुई वटा प्राविधिक धारका विद्यालय र दुई वटा नमुना विद्यालय सञ्चालनमा छन् । सामुदायीक र नीजि विद्यालयमा पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म १७ हजार ८४९ जना विद्यार्थीहरु अध्ययनरत रहेको शिक्षा शाखाले जनाएको छ । अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउन गाउँपालिकाले भर्ना अभियान लगायतका विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।
जसले गर्दा खजुराका विद्यालयहरु अपाङ्गतामैत्री विद्यालय बन्न सफल पनि भएका छन् । विद्यालयको पहुँचबाट टाढा रहेका अपाङ्गता भएका, गरिब, दलित, जेहेन्दार तथा पिछडिएका क्षेत्रका बालबालिकाहरु अहिले विद्यालयको पहुँचमा पुगेका छन् । कक्षा छोड्ने तथा दोहो¥याउने विद्यार्थीहरुको संख्यामा पनि धेरै सुधार भएको खजुरा गाउँपालिकाका श्रोतव्यक्ति टंक दाहालले बताए । सबै जनसंख्या साक्षर भएमा मात्रै सिङ्गंो गाउँपालिका साक्षर हुने र दिगो विकासमा पनि टेवा पुग्ने भन्दै खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रलाई साक्षर गाउँपालिका घोषणा गरिसकेको छ ।
सत्यपाटी - ।