सूचनाको शक्ति - The Power Of Information

        

गौहत्या प्रकरण : मेयर राणासहित तीन जना अनुसन्धानको दायरामा

फाइल तस्वीर

बाँके । गाई चिन्हबाट चुनाव लडेर नेपालगन्ज उपमहानगरपालिकाको मेयर भएका राप्रपाका केन्द्रीय नेता डा.धवलशम्सेर राणा सामुहिक गौहत्यामा तानिएका छन् । गृह मन्त्रालयद्धारा गठित छानबीन समितिले उपमहनागरपालिकाका मेयर डाक्टर राणा, नगर प्रहरीका प्रहरी निरीक्षक सूर्य बोगटीसहितलाई खोजिरहेको छ ।

स्रोतका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेल पनि गौहत्या घटनामा मुछिएका छन् । उनलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रहरीको तयारी भइरहेको छ । गत बिहीबार राती सुर्खेतको कट्कुवास्थित जंगलमा २४ गाई मरेका थिए । दर्जनौं घाइते भएका थिए ।

कतिपय भिरमै यत्रतत्र छरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी पूर्णचन्द्र जोशी बताउँछन् । राणा मेयर रहेको नेपालगन्ज उपमहानगरपालिकाले यहाँको काञ्जि हाउसबाट २९१ गाई आठ वटा ट्रकमा सुर्खेत हुँदै दैलेखको श्रीस्थान जंगलबाट छोडनका लागि पठाएको मेयर राणाले नै स्वीकारेका छन् ।

भिरबाट गाई खसालेको आरोपमा सुर्खेत प्रहरीले ट्रकका चालकहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गाई भिरबाट खसाउन निर्देशन दिने वा आफूखुशी मापदण्ड विपरित गाई ट्रकमा खादेर पठाउँने उपमहानगरपालिकाका मेयर राणा र नगर प्रहरीका इञ्चार्जलाई प्रहरीले अनुसन्धानका लागि प्रक्रिया अघि बढाएको प्रहरी स्रोत बताउँछन् ।

पक्राउ परेका चालकहरुले उपमहानगरपालिकाले गाई पठाएको बयान दिएका छन् । उपमहनागरपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेलाई गाई ढुवानीका लागि अनुमित पत्र माग गरेको पत्र पठाएको बाँके प्रशासनले बताएको छ । नेपालगन्जका छाडा गाईगोरू काञ्जि हाउसमा राखिएको थियो । मेयरको पटक÷पटकको आग्रहपछि प्रशासनले अनुमति दिएको तत्कालिन बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताएका छन् ।

उनले भने, ‘यति ठूलो अपराध होला भन्ने थाहा भएन् मेयरले नै बारम्बार आग्रह गरेपछि प्रशासनले बाध्य भएर अनुमति दिएको हो ।’ नेपालगन्ज उपमहानगरपालिकाले दैलेख पु¥याउने भन्दै ल्याइएका गाई र अन्य चौपायामा त्यो मापदण्ड लागू गरेको देखिँदैन । ‘कानुन कार्यान्वयन गराउने स्थानीय सरकारले नै यस्तो लापर्वाही गर्नुलाई सामान्य रुपमा लिनुहुँदैन’, वीरेन्द्रनगर नगरपालिकाका पशु चिकित्सक नारायण न्यौपानेले भने, ‘राष्ट्रिय जनावार गाईमाथि अन्याय गर्नेहरुलाई कारबाही गर्नुपर्छ ।’

मापदण्डअनुसार एउटा गाईका लागि ट्रकमा शुन्य दशमलव ८४ देखि एक दशमलव २७ वर्गमिटर ठाउँ छुट्याउनुपर्छ । यस हिसाबले नेपालगन्ज उपमहानगरपालिकाले पठाएको एउटा ट्रकमा आठदेखि १० वटा गाई राख्नुपर्ने थियो । ‘तर एउटै ट्रकमा २५ देखि ३५ वटा गाई राखेर ल्याएको पाइयो,’ न्यौपानेले भने, ‘सबैभन्दा पहिलो गल्ती यहींनेर भयो ।’ वीरेन्द्रनगर नगरपालिकाले मरेका गाईको भिसेरा संकलन गरेर परीक्षणका लागि प्रदेश पशुपक्षी प्रयोगशालामा पठाएको उनी बताउँछन् ।

उनले भने, ‘अब केही दिनमा प्रयोगशालाबाट रिर्पोट आउँछ ।’ पशु ढुवानी मापदण्ड–२०६४ अनुसार पशुचौपायालाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र, उपचार सामग्री, हरेक गाडीमा पशु पठाउने र पाउनेको नाम, ठेगाना, पशुको जात तथा संख्याको विवरण, पशु लोड गरिएको गाडीको विवरण र गन्तव्य स्थानमा पुग्ने समय पशु पाउने पक्षलाई अग्रिम जानकारी गराउनुपर्ने लगायतका प्रावधान मापदण्डमा छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलवार ०९:४४