बाँके । बाँकेको खजुरा खेलका लागि सम्भावना भएको ठाउँ हो । आन्तरिक प्रतिस्पर्धा मात्रै होइन राष्ट्रिय स्तरका प्रतियोगिताका लागि समेत तयार भइसकेको सन्देश खजुराले दिइसकेको छ । यसै बर्ष भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका महत्वपूर्ण चार वटा विधाका खेल खजुरामा भए ।
यसले देशभरी खजुरालाई चिनाउने अवसर मात्रै दिएन, खेलाडी, अफिसियल, पत्रकार, खेलप्रेमी ठूलो संख्यामा त्यस क्षेत्रमा पुगे । आठौंको इभेन्टले खजुरालाई देशभरी चिनाएन मात्र खेल पर्यटनको सम्भावना पनि उजागर गर्यो । खेलकुद स्वास्थ्यसँग जोडिएको विषय मात्रै रहेन । अब खेलकुद आर्थिक र पर्यटकीय सम्भावनाको क्षेत्रसमेत बनिसकेको छ ।
खेलका लागि राम्रा पूर्वाधार हुने हो भने राम्रा प्रतियोगिता आयोजना हुन सक्छन् । त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई खजुरामा भित्र्याउन मद्दत पुग्छ । खजुरामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको फुटबलको खेल, बक्सिङ्ग खेल, महिला तथा पुरुष भलिबल, महिला हक्की खेल आयोजना गरिएको थियो ।
डि गाउँमा फुटबल, ज्ञानोदयको खेल मैदानमा बक्सिङ्ग, सितापुरको भलिबल स्टेडियममा महिला तथा पुरुष भलिबल, शुक्र माविको खेल मैदानमा हक्की प्रतियोगिता आयोजना हुँदा यसले खजुरालाई देशमै राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम रहेको सन्देश दिएको थियो । फुटबलको अन्तर्राष्ट्रिय स्तरको रंगशाला नेपालगन्जमा छ ।
एउटा रंगशालाले मात्रै फुटबलको ठूलो प्रतियोगिता आयोजना सम्भव हुँदैन । किनभने प्रतियोगिता आयोजना गर्दा अभ्यासका लागि अन्य मैदानहरु पनि आवश्यक पर्छ । खजुराले त्यो सम्भावना देखाइसकेको छ, आठौं अन्तरगत फुटबलका केही खजुराको डि गाउँ खेलमैदानमा आयोजना भए ।
‘नेपालगन्ज पछिको फुटबल खेल मैदान खजुरामा छ’, खजुरा गाउँपालिका–४ का वडाध्यक्ष तिलकवीर सुनार भन्नुहुन्छ, ‘मैदान स्तरीय बनाउनका लागि गत आर्थिक बर्ष रु.४५ लाख खर्च गरिसकेका छौं ।’ प्याराफिट बनाइएको डि गाउँको खेल मैदान मिनी रंगशालाका रुपमा तयार हुँदैछ । खजुरामा पहिलो राष्ट्रिय प्रतियोगिता २०६७ सालमा आयोजना भयो ।
राष्ट्रिय भलिबल संघले दोस्रो राष्ट्रिय पुरुष बीच भलिबल आयोजना खजुरामा आयोजना भएको हो । खजुरामा बीच भलिबल मात्रै नभएर बीच फुटबल लगायतका प्रतियोगिताको सम्भावना पनि उत्तिकै रहेको खेल पत्रकार टिएस ठकुरी बताउँछन् । खजुरामा गतबर्ष नेपाल एथलेटिक्स संघको खेलकुदले राष्ट्रिय युथ एथलेक्टिस प्रतियोगिता आयोजना गरिसकेको छ ।
राष्ट्रिय प्रतियोगिताले आन्तरिक पर्यटकलाई बढावा दिने खेल विश्लेषक टिएस बताउँछन् । खजुरामा खेल पर्यटनको प्रशस्त सम्भावना औंल्याउँदै ठकुरी भन्छन्, ‘विगतमा भएका साना, ठूलो प्रतियोगिताले त्यसलाई पुष्टि गरिसकेको छ ।’ खजुरामा वडा स्तरीय होस् वा जिल्ला वा राष्ट्रिय खेल । दर्शकहरुको घुइँचो हुने गरेको छ ।
‘खेलकूद संस्कार बोकेको ठाउँ हो खजुरा’, खेल पत्रकार ठकुरी भन्छन्, ‘खेल पूर्वाधार थप्दै जाने र प्रतियोगिता आयोजना गर्ने हो भने खेल पर्यटनको प्रशस्त सम्भावना छ ।’ उहाँ एउटा राष्ट्रिय प्रतियोगितामा आउने आगन्तुकका कारण स्थानीय व्यापार, व्यवसाय समेत बढ्ने पछिल्लो आठौं राष्ट्रिय खेलकुदले देखाइसकेको बताउँछन् ।
‘स्थानीय सरकारले खेल पर्यटनको सम्भावनालाई बुझेर पूर्वाधार र प्रतियोगिता आयोजनाका लागि बजेट विनियोजन गर्नुपर्छ,’ ठकुरी भन्छन् । ग्रामीण परिवेशमा माटोमा खेलेर राष्ट्रिय, खेलाडी जन्माउने ठाउँ खजुरा नै भएको खेल विश्लेषक ठकुरीको भनाइ छ । जिल्ला स्तरीय खेलकुद प्रतियोगिताहरुमा खजुरा अब्बल रहने गरेको उल्लेख गर्दै ठकुरी भन्छन्, ‘खेललाई स्थानीय तहले प्राथमिकतामा राख्नुपर्छ ।’
खेल्नका लागि मैदान चाहिन्छ । खजुराका धेरै विद्यालयसँग आफ्ना ठूला मैदानहरु छन् । ‘मैदानहरुकै कारण खेल्ने वातावरण तयार हुन्छ, अहिले नेपालगन्जको विकल्प खजुरा बन्दैछ,’ ठकुरी भन्छन् । खेल पूर्वाधारहरु निर्माण गर्नका लागि गाउँपालिकाले सम्भावना अध्ययनका लागि उक्त विषयलाई आफ्नो नीति तथा कार्यक्रममा नै समावेश गरिसकेको छ ।
‘आगामी आवमा गाउँपालिका भित्र निर्माण भई रहेको वडा नं.४ स्थित रंगशालालाई पूर्णता प्रदान गर्न र अन्य वडाहरुमा समेत कवर्ड हल, रंगशाला र प्रशिक्षण केन्द्र निर्माण कार्यका लागि सम्भाव्यता अध्ययन गरि कार्य शुरु गरिनेछ,’ खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति भन्छन् ।
खजुरामा स्थानीयस्तरका प्रतियोगिताहरु पनि आयोजना भइरहन्छन् । स्थानीय सरकार आएपछि पालिकास्तरीय मेयर कपको आयोजना यस बर्षदेखि सुरु भइसकेको छ । अध्यक्ष कक्षपति आगामी बर्ष पनि मेयर कपलाई निरन्तरता दिने बताउँछन् । खजुरामा खेललाई विशेष महत्वमा राखेको भन्दै उनले चालु आवका लागि नीति तथा कार्यक्रममा खेललाई महत्व दिएको बताए ।
गाउँपालिका मात्रै नभएर खजुराका वडाले समेत खेलकुद प्रतियोगिताका बजेट छुट्याउने गरेका छन् । निजी विद्यालयहरुको संगठन, इशाकाले प्रत्येक बर्ष इशाका स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबहरुले पनि ठूला प्रतियोगिता आयोजना गर्दै आएका छन् । न्यू डाँफे स्पोर्टस्ले प्रत्येक बर्ष ठूलो धनराशी पुरस्कार रहेको खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । जसमा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलाडीहरु समेत खेल्ने गरेका छन् ।
उनले खजुरा गाउँपालिकाभित्र दर्ता भएका क्लवहरुलाई खेल सामाग्री सहयोग उपलब्ध गराउन पहल गरिने बताए । ‘गाउँपालिकाका वडाहरुमा खेलकुद प्रतियोगिता सञ्चालन गर्न उत्प्रेरित गर्दै राष्ट्रिय, अन्तर्राट्रिय खेलाडीहरुलाई सम्मान गरिनेछ,’ खेलाडीहरुको सम्मानमा समेत जोड दिँदै अध्यक्ष कक्षपति भन्छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा गाउँपालिकाको तर्फबाट खेलाडीलाई सहभागी गराउन अन्तर्राष्ट्रियस्तरका तालिमहरुमा सहयोग गर्ने गाउँपालिकाको नीति रहेको खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले बताइन् । उनले चालु आवमा खेलकुद विकास कार्यक्रम अन्तरगत पालिकाबाट रु.२० लाख बजेट विनियोजन गरिएको बताए ।
‘खेलका लागि राम्रो सम्भावना भएको क्षेत्र हो खजुरा,’ उपाध्यक्ष विक भन्छिन्, ‘खेल क्षेत्रको विकासमार्फत खेल पर्यटनको प्रशस्त सम्भावना छ ।’ आठौं राष्ट्रिय खेलकुद आयोजनाले खजुरामा खेल पूर्वाधार विकासका लागि बजेट उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको उपाध्यक्ष विकले बताइन् ।
आठौं खेलकुदले शुक्र भलिबल स्टेडियम बन्नुका साथै खेलकुद सञ्चालन भएका विद्यालयहरुमा पनि केही पूर्वाधारहरु तयार भए । खेलकुदको हब बनाउने लक्ष्यका साथ अघि बढेको खजुरामा राष्ट्रिय खेलकुद प्रतियोगिताले थप मद्दत पुगेको उपाध्यक्ष विकले बताइन् । खजुरालाई खेलकुदको हब बनाउने सवालमा आठौं कोशेढुंगा सावित भएको खजुराबासीको ठम्याई छ ।
सत्यपाटी - ।