बाँके । सुर्खेतको कटकुवामा २४ वटा गाईगोरु मृत अवस्थामा भेटिएको घटनामा गृह मन्त्रालयले चासो देखाएको छ ।
मन्त्रालयले घटनाको अनुसन्धानमा थप सहयोग र्पुयाउन, गाईहरुको ओसारपसार, अस्वभाविक मृत्यु तथा घाईते भएको सम्बन्धमा सत्यतथ्य बुझी कुन व्यक्ति, पदाधिकारी एवं निकायको के–कस्तो संलग्नता रहेको छ भन्दै दोषीलाई कानुन बमोजिम कारबाहीको सिफारिस गर्ने कार्यादेशसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानबिन समिति गठन गरेको छ । चार सदस्यीय छानबिन समितिको संयोजक गृह मन्त्रालयका उपसचिव सागरमणी पाठकलाई बनाइएको छ ।
सुरक्षा निकायका प्रतिनिधि पनि समावेश गरिएको छ । मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीद्वारा शनिबार जारी एक विज्ञप्तिमा भनिएको छ, ‘गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति नदिइने कुरामासमेत गृह मन्त्रालय प्रतिवद्ध रहेको व्यहोरासमेत जानकारीको लागि अनुरोध छ ।’ यसअघि घटनास्थलमा गाईगोरु छाडेर फर्कँदै गरेका पाँच वटा ट्रक र ट्रक चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यलय सुर्खेतमा राखिएको थियो ।
ट्रक चालकहरुले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ स्थित काञ्जिहाउसबाट ती गाईगोरु लगेर छोडेको प्रारम्भिक बयान दिएका थिए । गाईगोरु मृत अवस्थामा भेटिएको घटनालाई लिएर सामाजिक सञ्जाल र राजनितिक वृतमा अनेकौँ अड्कलबाजी सुरु भएको छ । शुक्रबार बिहान उक्त स्थानमा २४ वटा गाईगोरु मृत अवस्थामा फेला पर्नुका साथै केही गाईहरु घाईते अवस्थामा फेला परेपछि त्यो अवस्था र्सिजना गर्ने संस्था र व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग समेत उठेको छ ।
प्रजनन् क्षमता घटिसकेका गाईहरु र जीर्ण शरीर भएका खेतिपाती गर्न नसक्ने गोरुहरुलाई बिहिबार नेपालगन्ज उपमहानगरपालिकाले ट्रकमा हालेर दैलेखको शिरस्थान पठाएको भनिएका २९१ गाईगोरु मध्ये ठूलो संख्यामा गाईगोरु मृत भेटिनु र घाईते हुनुलाई हिन्दुहरुको आस्थामाथि आघात पुगेको टिप्पणी गरिएको छ । सुर्खेतको कट्कुवा जंगलमा अलपत्र छोडिएका १४४ वटा गाईवस्तुलाई नेपालगञ्ज नै फिर्ता गरिएको छ ।
चार वटा ट्रकमा राखेर ६८ वटा गाई नेपालगन्ज ल्याइसकिएको छ भने अरु ल्याउने काम भइरहेको छ । सर्वसाधारण र बुद्धिजिवीहरुले सामाजिक सञ्जालमा व्यापक टिप्पणी गरेका छन् भने खासगरी प्रतिपक्षीदलहरुले गम्भिर प्रश्न उठाएका छन् । नेपाली कांग्रसले राष्ट्रिय जनावर गाईको हत्या गर्नु जघन्य अपराध भएको ठहर गर्दै सत्यतथ्यको छानवीनको माग गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।
यस्तै गाईलाई नै चुनावचिन्ह बनाएको राप्रपाले उक्त घटना शंकास्पद र निन्दनीय भएको ठहर गर्दै दोषीलाई कडा कार्वाही गर्न माग गरेको छ । यस्तै नेपालगन्ज उपमहानगरपालिकाले पनि गौहत्या प्रकरणमा छानबिन समिति गठन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापामगरको अध्यक्षतामा शनिबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त घटनाका सम्वन्धमा स्थलगत अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न नेपालगन्ज उच्च अदालत वार एशोसिएसनका प्रतिनिधि रहने गरी छानबिन समिति गठन गरेको हो ।
समितिमा अधिवक्ताद्वय विश्वजित तिवारी र बसन्त गौतम, पत्रकार पूर्णलाल चुके, पशु स्वास्थ्य चिकित्सक, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य र उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल सदस्य सचिव रहेका छन् । समितिले निष्पक्ष छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ । प्रतिवेदनको आधारमा दोषीलाई हदैसम्मको कारबाही गरिने कावा मेयर मगरले दावी गरिन् ।
सर्वदलीय, सर्वपक्षीय बैठकसमेतको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा पवित्र उद्देश्यका साथ छाडा पशुचौपाया दैलेख पठाउन लगिएकोमा सुर्खेतस्थित कटकुवाको जंगलमा छोडिनुलाई गम्भीरताका साथ लिँदै उपमहानगरपालिकाले क्षमायाचना समेत गरेको छ ।
उपमहानगरपालिकाका वडा नम्बर २१ पुरैनीमा छाडा पशुचौपाय व्यवस्थापनका लागि अस्थायी रुपमा निर्माण गरिएको कान्जीहाउसमा रहेकामध्ये २९१ गाई, बाछाबाछीलाई नेपालगञ्जदेखि दैलेख स्थानान्तरण गर्ने पवित्र उद्देश्यका साथ लगिएकोमा केही गाईवस्तुहरु सुर्खेतको कटकुवा भन्ने स्थानमा मृत भेटिएको खबरले उपमहानगरपालिका कार्यपालिका अत्यन्त दुखित भएको बैठकपछि कावा मेयर मगरले बताइन् ।
गाईवस्तु पुर्याएर फर्केलगत्तै केही पशु चौपायको मृत्यु भएको जानकारी पाएपछि सुर्खेतस्थित प्रहरी, प्रशासन र स्थानीय तहसँगको समन्वयमा मरेका गाईको उचित व्यवस्थापन, घाइतेको उपचार लगायतका कार्य भइरहेको भन्दै उनले सुर्खेत जंगलमा छोडिएका मध्ये शनिवार साँझसम्म १६६ गाईवस्तु नेपालगन्जस्थित कान्जीहाउसमा फिर्ता ल्याइएको जानकारी दिइन् ।
उपमहानगरपालिकाले नेपालगन्ज आफैमा धार्मिक तथा सामाजिक रुपमा अति संवेदनशील शहर भएको भन्दै सम्पूर्ण नगरवासीमा संयमताका लागि अपिल गरेको छ । साथै उपमहानगरपालिकाले शान्ति, सद्भाव, सहयोग, सहकार्य र सहिष्णुतालाई अझ बढी प्रगाढ बनाई राख्न आम नगरवासीमा अनुरोध समेत गरेको छ ।
सत्यपाटी - ।