काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही महिनाअघि सुनसरीमा देखिएको डेंगुले अहिले देशभर महामारीको रुप लिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भदौ ११ गतेसम्ममा ४२ जिल्लामा डेंगु फैलिएको छ ।
हालसम्म ४२ जिल्लाका १ हजार ५३७ जनामा डेंगुको संक्रमण देखिएको महाशाखाको तथ्यांक छ । सुनसरीमा साउनदेखि यता मात्रै ३३१ जनामा डेंगुको संक्रमण भएको छ । यस्तै कास्कीमा ३१२ जना, मकवानपुरमा २९६ जना, चितवनमा २२४ जना, झापामा १२४ जना, नवलपरासीमा ३१ जना र काठमाडौंमा २१ जनामा डेंगु भेटिएको महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
प्रयोगशालाकै कर्मचारीलाई डेंगु
देशभर डेंगुको महामारी फैलिएको अवस्थामा अस्पताल क्षेत्र तथा स्वास्थ्य सेवा विभागभित्रै पनि डेंगुको प्रकोप देखिएको छ । डेंगुरोगको परीक्षण हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाभित्रकै २ जना कर्मचारीलाई डेंगु भएको पाइएको छ । प्रयोगशालाकी प्रमूख डा.रुना झाले साउन १६ गतेदेखि आज (भदौ १२ गते) सम्ममा १२३ जनाको डेंगु परीक्षण भएको प्रयोगशालामा दुई जनाको परीक्षण कार्यलयकै कर्मचारी भएको बताइन् ।
उनले भनिन्, ‘हाम्रो प्रयोगशालामा मात्रै १२३ जनामा डेंगु भएको पाइएको थियो, ती मध्ये दुईजना हाम्रै कार्यलयका कर्मचारी हुनुहुन्थ्यो ।’ काठमाडौंमा समेत डेंगु फैलिन शुरु भएको भन्दै समयमा नियन्त्रणको प्रयास नभए दशैसम्ममा काठमाडौंमा डेंगुको महामारी हुनसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विषेशज्ञ डा.अनुप बास्तोलाले बताए ।
‘काठमाडौंमा डेंगु देखिसकेको छ, यसलाई समयमै नियन्त्रण गर्न जरुरी छ, यदि समयमै नियन्त्रणको प्रयास गरिएन भने दशैसम्ममा काठमाडौंमा डेंगुका बिरामी बढ्छन्,’ डा बास्तोलाले भने, ‘डेंगु फैलिनुको कारण वातावरण नै हो, त्यसैले लामखुट्टेको लार्भा नष्ट गर्नुपर्छ । तर प्रत्येकको घरमा पुगेर स्वास्थ्य मन्त्रालयले लामखुटटेको लार्भा नष्ट गर्न सक्दैन, सबैजना समयमै सचेत हुन जरुरी छ ।’
स्वास्थ्य मन्त्रालय भन्छ, ‘नियन्त्रण गर्न सक्दैनौ’
देशभर डेंगुको प्रकोप बढ्दै जाँदा बिहीबार स्वास्थ्य मन्त्रालयले विभिन्न निकायसँग छलफल गरेको छ । छलफलकै क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा.पुष्पा चौधरीले स्वास्थ्य मन्त्रालयले डेगु नियन्त्रण गर्न नसक्ने बताइन् । सरकारको सचिवस्तरीय बैठकमा समेत डेंगुको विषयमा कुरा उठाएको भएपनि बैठकमा त्यसको सुनुवाइ नभएको उनले बताइन् ।
‘स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रण गर्न सकेन भनेर सञ्चार कर्मीलाई सितलता महशुस हुन्छ भने त्यहि लेख्दा हुन्छ, किनकी नियन्त्रणको पाटोमा स्वास्थ्य मन्त्रालयले सक्दैन एक्लै,’ स्वास्थ्य सचिव डा.चौधरीले भनिन्, ‘मैले सचिवस्तरको बैठकमा पनि कुरा उठाएको थिए, सचिव स्तरमा कुरा गर्दापनि खासै सुनुवाइ भएन ।’ स्वास्थ्य सचिव चौधरीले डेंगु नियन्त्रणको काम प्रदेश र स्थानीय तहको भएको उनले बताइन् ।
‘मन्त्रालयको काम डेंगु नियन्त्रण गर्ने होइन, मन्त्रालयको काम मापदण्ड बताउने, निर्धारण गर्ने हो, सम्पूर्ण स्वास्थ्यको कार्यक्रम स्थानीय तहमा गइसकेको अवस्था छ,’ स्वास्थ्य सचिव चौधरीले भनिन्, ‘स्वास्थ्य मन्त्रालय भएकोले हाम्रो जिम्मेवारी अलि बढी देखिन्छ, तर अब पालिकाहरु शिक्षा मन्त्रालयको जिम्मेवारी हो, गृह मन्त्रालय, रक्षा मन्त्रालयले सेना परिचालन गरेर हुन्छ कि सबै निकाय मिलेर नियन्त्रण गर्नुपर्ने अवस्था छ ।’
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेंगु नियन्त्रणमा सबै निकायको भूमिका महत्वपूर्ण भएको बताए । ‘डेंगु नियन्त्रणमा सबैको भूमिका महत्पूर्ण हुन्छ, पालिका, प्रदेश र केन्द्र सबैले अभियानमा लाग्नुपर्छ,’ स्वास्थ्यमन्त्री यादवले भने, ‘डेंगु हाम्रो मुलुकमा फैलिएको छ, डेंगु लगाउने लामखुट्टेको लार्भाहरु नष्ट हुनसकेको छैन, अब सबै मिलेर यसलाई समाप्त पारौं ।’
कसरी सर्छ डेंगु ?
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो । यो एडिस लामखुट्टेले मानिसलाई बिहान, बेलुका तथा दिउँसोको समयमा टोक्ने गरेको चिकित्सकहरु बताउँछन् । यो रोग मानिसबाट मानिसमा सर्दैन तर डेंगुको संक्रमण भएको व्यक्तिलाई टोकेको लामखुट्टेले स्वास्थ व्यक्तिलाई टोक्दा भने यो रोग सर्छ । डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको ठाउँमा फुल पार्ने गर्छ ।
वर्षातपछि पानी जम्ने स्थानहरुमा एडिस इजिप्टाई जातको लामखुट्टेको संख्या बढी हुने हुँदा वर्षातपछि डेंगुको संक्रमण पनि बढेको पाइन्छ । पानी जम्ने टिनका डब्बाहरु, रङ्गका खाली डब्बा, थोत्रा तथा पुराना टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, फुलदानी, गमला, कुलर, पानीका ट्यांकी आदिमा यो जातको लामखुट्टेले फूल पार्ने र नयाँ लामखुट्टेको संख्या बढाउँने काम गर्छ ।
डेंगु भएको कसरी थाहा पाउने ?
– एक्कासी उच्च ज्वरो आउनु,
– लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु,
– असाध्यै टाउको दुख्नु,
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,
– ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,
– शरीरमा बिमिरा आउनु ।
डेंगुबाट यसरी बच्नुहोस्
– डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ,
– पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ,
– पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ,
– कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,
– फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ,
– एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनुपर्छ,
– सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ,
– लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।
– घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
– घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।
सत्यपाटी - ।