सत्यराज सिंह । बझाङ । छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविस पाथीभेरा गाउँपालिकाले विद्यालयमा सेनेटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ । महिनावारी भएका बेला छात्राको पढाईमा असर नपरोस् भनेर सेनेटरी प्याडसहितको एटिएमको व्यवस्था गरिएसँगै विद्यालयका छात्रालाई सहज हुने भएको छ ।
सेनिटरी प्याडसहितको एटिएम कक्ष सुरु गर्ने बान्नीचौर मावि पहिलो विद्यालय भएको छ । छविस पाथीभेरा गाउँपालिका उपाध्यक्ष राधिका जोशीले महिनावारी भएकै कारण विद्यालय नआउने दिनको अन्त्य भएको बताइन् । छाउपडी प्रथाकै कारण धेरै छात्राले विद्यालय छोड्न थालेपछि गाउँपालिकाले छाउपडी प्रथाविरुद्धको अभियान चलाउँदै आएकोे उनले बताइन् ।
महिनावारी भएको बेला अधिकांश किशोरीहरु विद्यालय आउन अप्ठ्यारो मान्ने गरेको उपाध्यक्ष जोशी बताइन् । विगत सम्झदै उनले भनिन्, ‘महिनावारीका बेला भोग्नु परेको समस्या थाहा छ, एटिएम शौचालयको समाचार पढेपछि गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा यो ब्यवस्था गर्ने सोचका साथ काम सुरु गर्ने योजनाका साथ मेसिन ल्याएका हौं ।’
गाउँपालिका उपाध्यक्ष जोशीले एटिएमसहितको सेनेटरी प्याड मेसिन जिल्लामै पहिलो रहेको बताइन् । जिल्लाका अरु गाउँपालिका र नगरपालिका अभ्यासमा रहे पनि छविस पाथीभेरा गाउँपालिकाले भने सुरु गरिसकेको जोशीले बताइन् । महिनावारी हुने ५० जना छात्रालाई शौचालय एटिएम कार्डसमेत वितरण गरिएको छ ।
सेनिटरी प्याड निकाल्न एटियममा लाग्ने शुल्क गाउँपालिकाले ब्यहोर्ने उपाध्यक्ष जोशीले बताइन् । एटिएम कार्ड वितरण गर्दै उनले भनिन्, ‘महिनावारीले गर्दा छात्रामा आउने समस्याको न्यूनीकरण गर्न गाउँपालिकाले काम गर्दै आएको र आगामी दिनमा पनि गाउँपालिकाले छात्रामैत्री कार्यक्रमलाई निरन्तरता दिन्छौं ।’
विद्यालयले पनि प्याडको लागि लाग्ने न्यूनतम शुल्क राख्ने बान्नीचौर माविका प्रधानाध्यापक लोकेन्द सिंहले बताए । विद्यालयले प्याड खरिद गर्न महंगो हुने भएका कारण प्याड बनाउने तालिमसमेत दिइसकेको र अझै तालिम दिएर आगामी दिनमा गाउँघरमै उत्पादन गर्ने प्रधानाध्यापक सिंहले बताए ।
सत्यराज सिंह - ।